मानहुँकोटमा भीड रोक्न दर्ता प्रणाली, दैनिक ३ सयलाई मात्र इन्ट्री

  • ख-
  • ख+

सामाजिक सञ्जालकै कारण चर्चामा आएको तनहुँको पर्यटकीयस्थल मानहुँकोटमा अब दैनिक ३ सय जनाभन्दा बढी जान नपाइने भएको छ ।

कोरोनाको कहरले गुम्सेर बसेरका आन्तरिक पर्यटकको ओइरो नै लाग्न थालेपछि सम्भावित जोखिम रोक्न व्यास नगरपालिकाले आइतबार यस्तो निर्णय गरेको हो । आइतबार मानहुँकोटमै बसेको नगर कार्यपालिकाको बैठकले यो निर्णय गरेको मेयर वैकुण्ठ न्यौपानेले बताए ।

कोरोना भाइरसको संक्रमणको महामारी फैलिएका बेला अनियन्त्रित भीड बढेपछि त्यसको व्यवस्थापनका लागि दर्ता गरेर मात्र पठाउने गरी निर्णय गरिएको मेयर न्यौपानेले जानकारी दिए । मानहुँकोट अवलोकनका लागि दर्ता शुल्क भने लाग्ने छैन ।

टिकटक, फेसबुक र अन्य सामाजिक सञ्जालमा मानहुँकोटको मनोरम दृश्यको प्रचार भएपछि शनिबार मात्रै देशका विभिन्न ठाउँमा मानहुँकोटमा हजारौ पर्यटक पुगेका थिए । अघि पनि पर्यटकको आवतजावत हुने गरेकोमा शनिबार भने अहिलेसम्मकै धेरै मानिस ओइरिएको स्थानीय बताउँछन् ।

व्यास नगरपालिका ५ मा पर्ने मानहुँकोटमा तत्कालका लागि जग्गा किनबेचमा पनि नगरपालिकाले रोक लगाएको छ । नगर प्रवक्ता समेत रहेको व्यास ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठका अनुसार मानहुँकोटमा अबको २ महिना जग्गा किनबेचमा रोक लागाउने निर्णय भएको छ ।

आन्तरिक पर्यटक बढेसँगै जग्गा किनबेच हुन थालेपछि सम्भावित चलखेल रोक्न हालका लागि यस्तो निर्णय गरिएको उनले जनाए । १ महिना भित्र मानहुँकोटको गुरुयोजना तयार गर्ने, खानेपानीका लागि योजना बनाउने, सार्वजनिक जग्गा पहिचान गरी संरक्षण गर्ने लगायत निर्णय कार्यपालिका बैठकले गरेको छ ।

सरसफाइको प्रवन्ध गर्ने र सार्वजनिक शौचालयका लागि तत्कालै २५ लाख रुपैयाँ निकास गर्ने निर्णय समेत बैठकले गरेको छ । सरसफाइका लागि नगरपालिकाले एकजना कर्मचारी पनि खटाउने भएको छ ।
नगर क्षेत्रमा बाढीपहिरोले क्षति पु¥याएको ठाउँमा मर्मतसम्भारका लागि १ हजार थान ग्याबियन जाली र ह्युम पाइप खरिद गर्ने निर्णय समेत गरेको छ ।

मानहुँकोट पुग्न कच्ची सडक खुलिसकेको छ । अहिले सडक स्तरोन्नतिको काम भइरहेको छ । सडक पक्की बनाउन ठेक्का सम्झौता भएर काम अघि बढिसकेको व्यास ५ का वडाअध्यक्ष मोहनकुमार श्रेष्ठ बताउँछन् । ‘यहाँ अहिले खाजाघरहरु खुलिरहेका छन् । रोड पक्की हुँदै छ,’ वडाअध्यक्ष श्रेष्ठले भने, ‘गतवर्ष हामीले छेउपट्टिको भागमा भीर भएकोले रेलिङ हाल्यौं ।’

उनले गण्डकी सरकार र नगरपालिका मिलेर विभिन्न पर्यटकीय संरचना बनाउने, पर्यटकीय गतिविधिका कार्यक्रमहरू पनि गर्ने तयारीमा रहेको बताए ।

तनहुँ सदरमुकाम दमौलीबाट दक्षिण पश्चिममा पर्ने मानहुँकोट प्राकृतिक दृष्यावलोकन गर्न रुचाउनेहरुका लागि राम्रो गन्तव्य हो । साविक जामुने गाविस १ मा पर्ने मानहुँकोट हाल व्यास नगरपालिका ५ मा पर्छ । सदरमुकाम दमौलीबाट मोटरसाइकलमा करिब २० मिनेट, बसमा करिब आधाघन्टा र पैदल एक देखि सवा एक घण्टामा मानहुँकोट पुग्न सकिन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्