पञ्चासेको एक चिनारी

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेशमा रहेको पञ्चासे क्षेत्रलाई पञ्चधाम, पञ्चासे धाम वा पञ्चकोट भनेर पनि चिनिन्छ । अग्ला पाँचवटा डाँडाहरुको संगम हो पञ्चासे। डाँडाका ति टाकुरामा शिद्धबाबा, धर्मशाला, महादेव, भ्यू टावर, चौबिसे राज्यकालीन गढी र बुद्धका मूर्ति छन्।

तीन जिल्लाको सीमा क्षेत्रमा रहेको यो मनमोहक प्राकृतिक क्षेत्रबाट आठ हजार मिटरभन्दा अग्ला धवलागिरि, अन्नपूर्ण र मनासुलु हिमचुचुराको सीधा अवलोकन गर्न सकिन्छ । माछापुच्छ«े ठीक बीचमा देखिन्छ । एकै स्थानबाट सूर्योदय र सूर्यास्तको अवलोकन गर्न सकिन्छ।

समुद्र सतहदेखि २५ सय मिटरभन्दा अग्लो स्थानमा रहेको पञ्चासे मध्य पहाडी क्षेत्रको महाभारत शृंखलामा पर्दछ । नेपालको सबैभन्दा बढी पानी क्षेत्र पनि हो ।

पञ्चासे पहाड वरिपरि पाँचवटा नदीका मुहान छन्। जसमध्ये प्रमुख हुन्, हपर्न र अँधेरी खोला (फेवा तालका मुहान नदी)। त्यस्तै स्याङ्जा र पर्वत भएर बग्ने आँधीखोला, जरेखोला र रतीखोलाको उद्गमस्थल पनि पञ्चासे क्षेत्र नै हो।

चार सयमध्ये एक सय १२ थरीका सुनाखरी यहीँ छन्। यसैले पञ्चासे क्षेत्रलाई सुनाखरीको राजधानी भनिन्छ। रक्तचन्दन, फँलाट, गुराँस र खसु्रका रुख पनि छन्।

भगवान् शिवजीको वासस्थानका रूपमा पनि लिने गरिन्छ। भगवान् शिवजीलाई पञ्चास्य वा पञ्चमुख पनि भनिन्छ, जसको वासस्थान भएकाले यो ठाउँको नाम पञ्चासे रहन गएको हो।

यस क्षेत्रमा वैदिक परम्परा अनुसार पूजाआजा गरिने पाञ्चायन देवताको पूजास्थल पनि रहेका छन्। त्यसैले यिनै पाञ्चायन देवताको पूजास्थलका रूपमा यस क्षेत्रको नाम पञ्चासे रहन गएको भन्ने भनाइ छ।

यस क्षेत्रको वैदिक महत्व र विशिष्टतालाई विभिन्न पौराणिक कथा र मिथकसँग जोडेर पनि मानिसले धारणा बनाएका छन्। महाभारत कथा अनुसार द्वापर युगमा हस्तिनापुर राज्य छाडेर १२ वर्षको वनबासको सजाय भुक्तान गर्ने अवधिमा पाँच पाण्डवले समेत आफ्नो वनबासको केही कालखण्ड यहाँ ध्यान तथा साधनामा बिताएका थिए भन्ने जनश्रुति रहन गएको छ।

त्यही भनाइका आधारमै यस क्षेत्रको नाम ‘पाँच’ वा ‘पञ्च’ शब्दसँग जोडिएर पञ्चासे रहन गएको मत पनि पाइन्छ।

बालाचतुर्दर्शीको दिनमा यहाँ सबैभन्दा ठूलो मेला लाग्ने गर्दछ। यो दिनमा यहाँ रहेको पञ्चासे तालमा स्नान गर्न र सद्बीज छर्न टाढा टाढाबाट भक्तजन आउँछन्।

यहाँ नजिकै बैदान ताल छ । झण्डै १० मिटर गहिरो यो ताल चारैतिरबाट जङ्गलले घेरिएको छ । जङ्गलको बीचमा भए पनि यो तालमा पात पतीङ्गर देख्न पाइँदैन । पात तालमा परे पनि तत्कालै चराले फाल्ने गरेकाले तालमा नरहने स्थानीय बताउँछन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्