मनाङलाई हराउँदै संकटा सेमिफाइनलमा

  • ख-
  • ख+

पाेखरा । पोखरामा जारी १९ औ आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै संकटा सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशाला फुटबल मैदानमा जारी खेलमा संकटाले मनाङलाइ १-० ले स्तब्ध पार्‍यो । संकटाको जितमा फोफानाले गोल गरे । खेलको पहिलो हाफ्मा संकटाले गोल गर्दै अग्रता लियो । खेलको ४४ औ मिनेटमा फोफानाले उत्कृष्ट गोल गर्दै अग्रता दिलाए । उनले सुवाष गुरुङको क्रसमा सेकेन्डबार च्याप्दै गरेको प्रहारले जाली चुम्यो ।

खेलको पहिलो हाफमा मनाङले संकटालाई दबाबमा राखेपनी गोल गर्न भने सकेन । खेल शुरु भएको दोस्रो मिनेटमा नै अन्जन विष्टको पासमा एकराज बुढाथोकीले गोलगर्ने सुवर्ण अवसर खेर फाले । उनको प्रहार संकटाका सुबाष गुरुङले रोकिदिए ।

२३ औं मिनेटमा खुल्ला बल पाएपनी संकटाका फोफानाको प्रहार आकाशियो । २७ औं मिनेटमा मनाङका गोलरक्षक विशाल सुनारको लामो पासमा अञ्जन केही हतारिन पुगे । उनले बल रोक्दै प्रहार गर्नुपर्ने स्थितिमा सोझै फितलो प्रहार गर्न पुगे ।

४२ औं मिनेटमा मनाङले पाएको अवसरमा संकटाका गोलरक्षक राजा बाबू थापा बाधक बने । निशान लिम्बुले वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन् ।

प्रतियोगिता अन्तर्गत मंगलबार अन्तिम क्वाटरफाइनलमा रुस्लान थ्री स्टार र नेपाल पुलिस क्लब भिड्नेछन् । यसअघि एपिएफ र अफ्रिकन रुट्स एसोसिएसनले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्