
पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा ३३ औं संस्करणको ‘राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव २०८१’ यही माघ १० गतेदेखि १७ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र, नयाँबजारमा भव्य रूपमा सम्पन्न हुने भएको छ।यस मेलामा १२ औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोवाइल एक्सपो २०२५ समेत समावेश गरिएका छन्।
मेलाको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष एवं मेलाका संयोजक गोकर्ण कार्कीले मेलाको ऐतिहासिक पृष्ठभूमि र वर्तमान तयारीबारे जानकारी गराउँदै मेलालाई पृथक, नवप्रवर्तनमूलक र अर्थतन्त्र प्रवर्द्धन गर्ने केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको बताए।
पोखरा उद्योग वाणिज्य संघले पहिलो पटक २०४२ सालमा व्यवस्थित रूपमा औद्योगिक व्यापार मेला आयोजना गरेको थियो। त्यसयता विभिन्न संस्करणहरू हुँदै संघले औद्योगिक प्रवर्द्धन, स्थानीय उत्पादनको प्रचार–प्रसार तथा आर्थिक गतिविधिलाई टेवा पुर्याउने उद्देश्यले मेलालाई निरन्तरता दिँदै आएको छ।
२०४९ सालमा ‘औद्योगिक मेला २०४९’ को आयोजना जर्मन सहयोगी संस्था जेडटीएच र सिंगापुरको टेक्निकल सपोर्ट प्रोग्रामको सहकार्यमा गरिएको थियो। त्यसपछि संघले विभिन्न नाममा मेलाहरू गर्दै आएको छ। कोभिड–१९ महामारीका कारण दुई संस्करण रोकिए पनि परिस्थिति सहज भएसँगै मेलालाई पुनः निरन्तरता दिइएको छ।
संघका अनुसार पछिल्लो समय मेला तथा महोत्सवको नाममा विकृति देखिएको र औद्योगिक उत्पादनको प्रवर्द्धनभन्दा मनोरञ्जनलाई प्राथमिकता दिइएको चुनौतीप्रति सचेत रहँदै यसपटकको मेलालाई औद्योगिक प्रवर्द्धन, नवप्रवर्तन, महिला उद्यमशीलता तथा सूचना प्रविधिको क्षेत्रमा केन्द्रित गरिने छ।
मेलामा ठूला, मझौला तथा साना उद्योगका उत्पादनहरू प्रदर्शनीका लागि राखिनेछ भने रोजगारी सिर्जना, नयाँ सम्भावनाको खोजी तथा अन्य प्रदेशका असल अभ्यासहरूलाई समेटिने छ। यस वर्ष मेलाको नारा ‘लगानीको सम्बर्द्धनः उद्योग व्यवसायको प्रवर्द्धन’ रहेको छ। मेलामा सातै प्रदेशका औद्योगिक उत्पादनहरू, सांस्कृतिक सम्पदा तथा मौलिक रैथाने परिकारहरू समावेश गरिने आयोजकले जनाएको छ।
१२ औं क्यान इन्फोटेक २०२५ अन्तर्गत सूचना प्रविधिका नवीनतम आविष्कारहरू, सफ्टवेयर निर्माण तथा बजार विकासका सम्भावनाहरूको प्रदर्शनी गरिनेछ। साथै, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र उन्नत सीसीटीभी प्रविधिका बारेमा जानकारी दिइनेछ। चौथो मोवाइल एक्सपो २०२५ अन्तर्गत मोवाइल खरिदमा ५० प्रतिशतसम्म छुट, एक्सचेञ्ज अफर, किस्तामा खरिद सुविधा तथा दैनिक डोर प्राइज वितरणको व्यवस्था मिलाइएको छ।
स्वस्थ मनोरञ्जनका लागि सातवटै प्रदेशका सांस्कृतिक कार्यक्रम, स्थानीय परिकारका स्टलहरू तथा महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने गरी महिला उद्यमी उत्पादनहरूको प्रदर्शनी र बिक्रीको व्यवस्था गरिएको छ। मेलाभरि सीप विकाससम्बन्धी कार्यशालाहरू सञ्चालन गरिने छन्। साथै, अर्थतन्त्र, पर्यटन प्रवर्द्धन र नवप्रवर्तनसम्बन्धी छलफल तथा ‘टक शो’ पनि मेलाको प्रमुख आकर्षण रहनेछ।
मेलालाई भव्य बनाउन पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीको संयोजकत्वमा ५०१ सदस्यीय मूल आयोजक समिति, कार्यसम्पादन समिति तथा २७ वटा उपसमितिहरू गठन गरिएको छ।
मेलामा नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका तथा नेपाल पर्यटन बोर्ड प्रवर्द्धकका रूपमा रहेका छन्। मुख्य प्रायोजकको रूपमा बाल्ट्रा होम एप्लायन्स रहेको छ भने समृद्धि स्टिल्स, लक्ष्मी इन्टरकन्टिनेन्टल (हुण्डाइ), सुजल डेरीका सफल दूध सहप्रायोजक रहेका छन्।
मेला अवलोकनका लागि प्रवेश शुल्क प्रतिव्यक्ति रु. ५० तोकिएको छ भने संघका साधारण सदस्य, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, पोशाकधारी सुरक्षाकर्मी तथा विद्यार्थीहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। संघले मेला नाफामूलक नभएर प्रवर्द्धनमूलक रहेको स्पष्ट पार्दै पत्रकारहरूलाई निरन्तर सहयोगका लागि धन्यवाद दिएको छ।