पोखरामा राप्रपाको आवाज ,विमानस्थल भ्रष्टाचारको भण्डाफोर गर्दै विरोध सभा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेशले पोखरामा वृहत् विरोध सभा गर्ने भएको छ। केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा हुने उक्त सभामा भ्रष्टाचार, कुशासन, संघीयता, धर्मनिरपेक्षता लगायतका विषयमा कडा रूपमा आवाज उठाइने भएको छ।

बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा राप्रपा गण्डकीका अध्यक्ष पञ्चराम गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको भ्रष्टाचारको भण्डाफोर गर्ने तयारी रहेको बताए। उनका अनुसार हालै प्रधानमन्त्रीदेखि स्थानीय तहसम्म ४२ बुँदे ज्ञापनपत्र बुझाए पनि सरकारले बेवास्ता गरेकाले संघर्षका कार्यक्रम अघि बढाइएको हो।

“जबसम्म सडकमा टायर बालिँदैन, ढुंगा-मुढा हुँदैन, तबसम्म सरकारले कान नसुन्ने स्थिति देखियो।” गुरुङले भने, “तर, राप्रपा हिंसात्मक राजनीति गर्दैन।”

राप्रपाले संवैधानिक राजसंस्था पुनःस्थापनादेखि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक सांसद, संघीयता खारेज, सनातन हिन्दू अधिराज्य पुनःस्थापनालगायतका विषयलाई आफ्नो प्रमुख एजेन्डा बनाएको छ। सांसदहरूलाई मन्त्री बन्न नदिई विज्ञहरूबाट सरकार सञ्चालन गर्नुपर्ने र भ्रष्टाचार, विभेद अन्त्य गर्नुपर्ने राप्रपाको धारणा छ।

विरोध सभा पोखराको चिप्लेढुंगामा हुनेछ। पृथ्वीचोकबाट ¥याली निकालेर सभा स्थल पुगिनेछ। सभामा गण्डकी प्रदेशभित्र भएका विभिन्न भ्रष्टाचार प्रकरणमाथि कडा रूपमा खबरदारी गरिनेछ।

राप्रपा केन्द्रीय सदस्य अर्जुन खनालले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्। उनले भने, “अवस्था बदल्न हामी व्यवस्थालाई बदल्नुपर्छ। आन्दोलनको स्वरूप समयले निर्धारण गर्नेछ।”

राप्रपाका नेताहरूले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको नाममा विदेशी हस्तक्षेप लादिएको दाबी गर्दै तिनै कारणले देश संकटमा परेको आरोप लगाएका छन्। पार्टीका अनुसार राज्यको अर्थतन्त्रले धान्न नसक्ने खर्च, अनुत्पादक क्षेत्रमा लगानी, अव्यवस्थित कर प्रणाली जस्ता कारणले देश गम्भीर आर्थिक संकटमा फसिरहेको छ।

यसैबीच, गण्डकी प्रदेश सभा सांसद बिन्दु अधिकारी पौडेलले “हामीले दिगो सरकारका लागि समर्थन गर्‍यौं, तर रोजीरोजी मन्त्रालय दिँदा पनि हामी मन्त्री बन्न चाहेनौं। पदभन्दा देश ठूलो छ।” भन्दै पार्टीको अडान दोहोर्याइन्।

पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामै रहेको बेला राप्रपाको यो सभा हुन लागेकाले यसलाई थप अर्थपूर्ण रूपमा हेरिएको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्