स्याङ्जामा जीप दुर्घटना: एक महिलाको मृत्यु, चालक फरार

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–५ मजकोटमा भएको जीप दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख शालिग्राम शर्माका अनुसार वालिङ–७ हिलेपानीकी ४८ वर्षीया दिलसरा आलेको घटनास्थलमै मृत्यु भएको छ।

वालिङबाट चापाकोटतर्फ जाँदै गरेको ग १ ज ७५११ नम्बरको जीप आज बिहान साढे ७ बजे करिब १५० मिटर तल खसेको थियो। दुर्घटनाको कारण अझै खुल्न सकेको छैन।

प्रहरीका अनुसार मृतक दिलसरा आले शनिबार आफन्तलाई भेट्न वालिङ झरेकी थिइन्। उनको दुई छोरा र बुहारी छन्। घटनापछि दिलसराको सनाखत उनका कान्छा छोराले गरेका थिए।

यस दुर्घटनापछि जीप चालक चापाकोट नगरपालिका–३ इनासकोटका २७ वर्षीय सुरज थापा फरार रहेको प्रहरीले जनाएको छ। उनको खोजीकार्य जारी छ। जीपमा कति यात्रु थिए भन्ने विषयमा भने अझै जानकारी आउन बाँकी छ। प्रहरीले दुर्घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्