१६ वर्षपछि पृथ्वीनारायण क्याम्पस स्ववियु निर्वाचनमा २,८९७ मत खस्यो, मतदान दर ३१.२५ प्रतिशत मात्र

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा १६ वर्षपछि सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा कुल २,८९७ मत खसेको छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गत सबैभन्दा ठूलो आङ्गिक क्याम्पसमा ९,२७० मतदातामध्ये ३१.२५ प्रतिशतले मात्र मतदान गरे।

आईतवार बिहान ८ बजेबाट सुरु भएको मतदान अपराह्न ४ बजे सम्पन्न भएको थियो। अब मतगणना कहिले सुरु गर्ने भन्ने विषयमा सर्वदलीय तथा सर्वपक्षीय बैठकपछि टुंगो लाग्ने निर्वाचन समितिले जनाएको छ।

यसअघि, चैत ५ गतेका लागि तोकिएको निर्वाचन मतपत्रमा त्रुटि देखिएपछि स्थगित भएको थियो। लामो समयपछि भएको यो निर्वाचन विद्यार्थी राजनीति र क्याम्पस प्रशासनका लागि महत्वपूर्ण मानिएको छ।

स्ववियु सभापति पदका लागि आठ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। एमाले निकट अनेरास्ववियुबाट विष्णु पोखरेल, कांग्रेस समर्थित नेपाल विद्यार्थी संघबाट सुशील न्यौपाने, माओवादी केन्द्र समर्थित अनेरास्ववियु (क्रान्तिकारी) बाट नवीन अधिकारी, अनेरास्ववियु, अखिल समाजवादी र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट सन्तोष पौडेल, प्राज्ञिक विद्यार्थी परिषदबाट दिप्सन गुरुङ, अखिल छैठौंबाट मिलन सुनार तथा स्वतन्त्र रूपमा कमल सुवेदी र विप्लवी न्यौपाने प्रतिस्पर्धामा छन्। साथै, समानुपातिक प्रतिनिधित्व प्रणालीअन्तर्गत नयाँ शक्ति विद्यार्थी युनियन र अखिल क्रान्तिकारी (वैद्य)का उम्मेदवारहरू पनि प्रतिस्पर्धामा छन्।

निर्वाचन सम्पन्न भएपछि विद्यार्थी समुदायमा मिश्रित प्रतिक्रिया देखिएको छ। लामो समयपछि स्ववियु चुनाव भएकाले केही विद्यार्थीहरू उत्साहित देखिए भने कतिपयले अपेक्षाभन्दा कम मतदान भएकोमा असन्तुष्टि व्यक्त गरे।

अब मतगणनापछि मात्रै नयाँ नेतृत्वको टुंगो लाग्नेछ।यस निर्वाचनले पृथ्वीनारायण क्याम्पसको विद्यार्थी राजनीति कतातिर मोडिनेछ भन्ने विषय चासोको केन्द्र बनेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्