गण्डकी हिरोज सेमीफाइनलमा, प्रतिकूल मौसमले खेल रोकियो

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरामा जारी दोस्रो केपी ओली कप टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको समूह ‘बी’ बाट गण्डकी हिरोज रनरेटको आधारमा सेमीफाइनलमा प्रवेश गरेको छ। मदन भण्डारी स्पोट्र्स एकेडेमीले आयोजना गरेको यो प्रतियोगिता पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सञ्चालन भइरहेको छ।

प्रतियोगिताको छैटौं दिन समूह ‘बी’ तर्फका अन्तिम खेलहरू तय भए पनि बुधबार रातिको अविरल वर्षा र बिहीबारको प्रतिकूल मौसमका कारण खेल हुन सकेन। जसले गर्दा रनरेटको आधारमा गण्डकी हिरोजले हिमालयन क्रिकेट एकेडेमीलाई पछि पार्दै समूहको शीर्ष स्थान कब्जा गर्न सफल भयो। गण्डकीले २ खेलमा २ जितसहित ५ अंक हासिल गरेको थियो भने हिमालयनको पनि समान अंक रहे पनि रनरेटमा पछि पर्‍यो। गण्डकीको नेट रनरेट १.४३४६ रहँदा हिमालयनको ०.८१५८ मात्र रह्यो।

यस समूहमा ग्रेट हिमालयन क्रिकेट एकेडेमीले २ खेलबाट १ अंकसहित माइनस २.११२८ रनरेट प्राप्त गर्दा तेस्रो स्थानमा रह्यो भने चितवन क्रिकेट क्लब १ अंकसहित माइनस ३.४७२५ रनरेटका साथ पुछारमा रह्यो। बिहीबार हुने भनिएको चितवन र ग्रेट हिमालयनबीचको पहिलो खेल तथा गण्डकी र हिमालयनबीचको दोस्रो खेल मौसमका कारण रोकिएपछि रनरेटले सेमीफाइनलको टुंगो लगायो।

यसअघि समूह ‘ए’ बाट सिइसी काठमाडौंले ३ मध्ये ३ खेल जितेर ६ अंकसहित शीर्ष स्थान हासिल गर्दै सेमीफाइनलमा स्थान पक्का गरेको थियो। कुल १६ टिम सहभागी यो प्रतियोगितामा ४ समूह छन् र हरेक समूहको शीर्ष टिमले सेमीफाइनलमा स्थान बनाउनेछ। अब समूह ‘सी’ र ‘डी’ का खेलहरू बाँकी छन्।

चैत २३ गतेबाट सुरु भएको प्रतियोगिता वैशाख ५ गतेसम्म चल्नेछ। विजेता टिमले १० लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख नगद पुरस्कार पाउनेछ। ‘प्लेयर अफ द सिरिज’ लाई ३० हजार, उत्कृष्ट बलर र ब्याटरलाई जनही १० हजार र ‘प्लेयर अफ द म्याच’ लाई ५ हजार नगद पुरस्कार प्रदान गरिनेछ।

भोलि समूह ‘सी’ तर्फ कर्णाली एकेडेमी र मधेश प्रदेश क्रिकेट क्लबबीच पहिलो खेल तथा हिमाल फ्रेन्ड्स क्रिकेट क्लब र लुम्बिनी खुकुरीबीच दोस्रो खेल हुने तालिका रहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्