
पोखरा । फेदीखोला गाउँपालिका वडा नं. ३ भाटखोला, पुलकोमुखमा नयाँ वर्ष २०८२ को अवसरमा वडास्तरीय पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ। २०८१ सालमा स्थापना गरिएको शिवशक्ति क्लबको आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुबेदीले गरे।
उद्घाटन समारोहमा बोल्दै अध्यक्ष सुबेदीले गाउँगाउँमा खेलकुद विकास गर्नु गाउँपालिकाको प्रमुख उद्देश्य रहेको बताए। साथै, उनले युवाहरुलाई खेलकुदको माध्यमबाट गाउँपालिकाको पहिचान स्थापित गर्न आग्रह गरे। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष देउकुमारी गुरुङले खेलकुदमा जस्तै व्यवहारिक जीवनमा पनि अनुशासनको महत्व बराबर रहेको उल्लेख गरिन्।
कार्यक्रममा वडा नं. ३ का अध्यक्ष कृष्ण बहादुर रानाभाट, वडा नं. ४ का अध्यक्ष ख्यामनारायण पौडेल र वडा नं. १ का अध्यक्ष अमृत क्षेत्रीले पनि शुभकामना मन्तव्य राखेका थिए।
प्रतियोगितामा ७ क्लब तथा समूहका ९ टिमले सहभागिता जनाएका छन्। आयोजक शिवशक्ति क्लबका ३ टिम, नेवि संघ फेदीखोलाका २ टिम, आरुखर्क, मट्टीखान, पातिहाल्ना र खड्केटारीका एक/एक टिम गरी प्रतियोगिता सम्पन्न भइरहेको छ। प्रतियोगिताको प्रथम पुरस्कारका रुपमा एकवटा खसी, ट्रफी र मेडल तथा दोस्रो पुरस्कार स्वरुप दुईवटा कुखुराका भाले, ट्रफी र मेडल प्रदान गरिने कोषाध्यक्ष कुमार रानाभाटले जानकारी दिए।
भाटखोला–३ स्थित माझखेत क्षेत्रको खेतको गरामा निर्माण गरिएको भलिवल कोर्टमा प्रतियोगिता सञ्चालन भइरहेको छ। खेल हेर्न सयौं दर्शकहरूको उपस्थिति देखिएको छ भने भलिवल खेलप्रेमीहरुको विशेष साथ र समर्थन रहेको छ।
प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य अतिथिहरु र उनीहरुका आफन्तलाई सम्मान पत्र, खादा र अविरले सम्मान गरिएको थियो। साथै फेदीखोला प्रहरी चौकी, भाटखोला स्वास्थ्य चौकी, शिवालय आमा समूहलाई कदरपत्र प्रदान गरिएको तथा साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने कलाकारहरुलाई प्रशंसा पत्र प्रदान गरिएको शिवशक्ति क्लबका अध्यक्ष ताराबहादुर रानाभाटले जानकारी दिए।
कार्यक्रम क्लबका अध्यक्ष ताराबहादुर रानाभाटको अध्यक्षतामा सम्पन्न भएको थियो। स्वागत मन्तव्य तथा प्रतियोगिता विवरण क्लबका सल्लाहकार एवं फेदीखोला–३ का वडा सदस्य कुलबहादुर रानाभाटले प्रस्तुत गरेका थिए भने कार्यक्रम सञ्चालन जनप्रिय माविका शिक्षक पदम बहादुर रानाभाटले गरेका थिए।