सरकार मजदुरलाई घरसम्म जाने वातावरण बनाइदेऊ

  • ख-
  • ख+

विनोद परियार, रुपन्देही/किरणमान बज्राचार्य, कपिलवस्तु
बर्दिया राजापुरका ४० वर्षिय सिताराम चौधरीका पछिल्ला १३ दिन छटपटाहटमै बितीरहेका छन्। दैनिक ज्याला मजदुरी गरेर परिवारको गुजारा चलाउदै आएका उनी निर्माण मजदुर हुन्। बिहानदेखि साँझसम्म घर बनाउने काममा व्यस्त रहदा उनलाई देशमा लकडाउन भएको पत्तै भएन। जसका कारण उनी बुटवलमै रोकिए। काम बन्द भयो। घर जान खोज्दा गाडी पाएनन्। एक साता जसोतसो गुजारा गरेपनि अहिले उनी निकै समस्यामा छन्। ‘यहाँ बस्न खर्च छैन, घर जान गाडी पाइदैन। काम पनि छैन, खर्च पनि छैन’ चौधरीले दुखेसो पोखे। परिवारले बोलाइरहेपनि विडम्बना अब घरसम्म कसरी जाने चिन्तामा छन् उनी। ’काम गरेको १७ वर्ष भयो, यस्तो पीडा कहिल्यै भोगेको थिईन, अब पनि घर पुग्न नपाए भोकै बस्ने त होला’ निराश हुँदै चौधरीले भने।

अहिले रुपन्देहीका गल्ली गल्लीमा निर्माण मजदुर सितारामकै हालतमा भौतिरीरहेका छन्। लकडाउनले गर्दा काम बन्द छ। काम नगरेसम्म ज्याला नपाउने मजदुर हरु अहिले पीडामा छन्। दाङ देउखुरीका लौटन थारुले अब पनि घर जान नपाए भौकै बस्नुपर्ने गुनासो पोखे। ‘हामी त सोझो मान्छे, विहानदेखि साँझसम्म काम मात्रै गर्छौ’ उनले भने–‘यसरी पूरै बन्द हुन्छ भन्ने पनि थाहा पाएनौं, अब न घर जान पाइने भयो, न त यहाँ बस्न सकिन्छ।’ उनले सरकारले कम्तीमा पनि काम गरेर खाने आफू जस्ता मजदुरलाई घरसम्म जाने वातावरण बनाइदिए ठूलो राहत हुने बताए।

रुपन्देहीमा अहिले करिब २ हजारको संख्यामा निर्माण क्षेत्रका मजदुर हरु लकडाउनले अलपत्रमा परेका छन्। बुटवल, भैरहवा, लुम्बिनी र देवदह लगायतका क्षेत्रमा मज्दुरहरु एकसातादेखि छटेपटाउँदै बसेका छन्। पहुँचवालाहरुले गाडीको पास बनाएर घर गएपनि मजदुर हरुलाई भने अलपत्र पारीएको उनीहरुको गुनासो छ।

कोरोना नियन्त्रणका लागि लकडाउनको पालना गर्नुपर्ने भएपनि बिभिन्न ठाँउमा अलपत्र परेका असंगठित क्षेत्रका मजदुरहरुको व्यवस्थापनमाा पनि ध्यान दिनु पर्ने नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) का केन्द्रीय अध्यक्ष जेवि गुरुङले बताए। ‘हामीसँग सम्पर्कमा रहेकाहरुले रुँदै फोन गरेका छन्, सरकारलाई गुहार गरेका छौं, तर सम्बोधन हुन सकेन’ उनले भने। गत सोमबार काउनले ४ सय ८ जना पूर्वका मजदुरलाई पूर्व पठाएको भएपनि त्यसपछि प्रशासनले थप कडाइ गरेकाले अन्य मजदुरहरु बिचल्लीमा परेको उनले बताए।

बुटवल क्षेत्रमा मात्रै ५ सय बढी मज्दुरहरु अलपत्रमा परेको मज्दुर नेता सूर्य देवदासले बताए। केही समय सम्बन्धित ठेकेदारले खर्च पानी व्यहोरेको भएपनि निर्माण व्यवसायीले समेत खर्च दिन नसक्ने जनाएकाले समस्या झन बढने उनले बताए। विशेषगरी निर्माण क्षेत्रमा मजदुरी गर्नेले दैनिक ८ सयदेखि १२ सय रुपैयाँसम्म ज्याला पाउने गर्छन्। त्यही ज्यालाबाट आफ्नो र परिवारको गुजारा चलाउने गर्छन्।

दैशभर नै मजदुरहरु लकडानका कारण मारमा परेको जिफन्ट प्रदेश ५ का अध्यक्ष कमल गौतमले बताए। सरकारलाई पटक पटक असंगठित मजदुरहरुलाई खाना र बस्नकै लागि समस्या हुने भएकाले राहत ल्याउन माग गरेपनि त्यो प्रभावकारी नहुँदा चुनौती थपिएको उनले बताए। हामीले संघीय, प्रदेश र स्थानीय सरकारलाई लकडाउनले रोकिएका मजदुरलाई खानाको प्रबन्ध मिलाउन आग्रह गरेपनि कसैले सुनेका छैनन्’ गौतमले भने। उनका अनुसार देशैभर लकडाउनका कारण असंगठित क्षेत्रका ७० हजार मजदुरहरु प्रभावित भएका छन्।

रुपन्देहीमा मात्रै करिब ७ हजारको हाराहारीमा असंगठित क्षेत्रका मज्दुर रहेको जिफन्टले बताएको छ। तर, यसमा बाहिरका मात्रै ३ हजारको हाराहारीमा रहेको अनुमान छ।  दाङ, बाँके, बर्दिया, कैलाली, सुर्खेत, प्युठान लगायतका जिल्लाका मजदुरहरु रुपन्देहीमा अलपत्रमा छन्।

कपिलवस्तुमा पनि लकडाउनका कारण समयमै घर फर्कन नपाएका मजदुरहरुको बिचल्ली भएको छ। रिक्सा चालक, निर्माण मजदुर, ईट्टाभट्टा, गिटटी कुटेर परिवार पाल्दै आएका बिपन्नलाई यो बेला छाक टार्न मुस्लिक परेको छ। सदरमुकाम तौहिलवामा रहेको हाडबेयर पसलमा सिममेन्ट छड बाकेर परिवारको गुजारा चलाउदै आएका कपिलवस्तु नगरपालिका–१ धोबी टोलका बिष्णु चौहानको परिवारलाई अहिले छाक टार्न निकै मुस्किल परेको छ।

दैनिक मजदुरी गरेर दैनिक पाँच सात सय कमाएर ५ जनाको परिवारको गुजारा चलाउदै आएका उनको परिवार अहिले संकटमा छ। ‘काम रोकिएको १३ दिन भयो। भएको सबै पैसा सकियो। घरमा रासन पानी पनि सकियो अब बालबच्चालाई के खुवाउने हो’ चौहानले भने। कोरोनाले रोजीरोटी खोसीएका आफूहरु जस्ता बिपन्न मजदुरलाई अझैसम्म कसैले सहयोग नगरेको गुनासो उनले गरे। सहयोग नपाए आफ्ना परिवार भोकभोक मर्ने उनले दुःखेसो पाखे।

कपिलवस्तु नगरपालिका ३ मा बस्ने बावु लोनियाको परिवारको हातल पनि बिष्णुको भन्दा कम छैन। तौहिलाव बजारमा रिक्सा चलाएर ७ जनाको परिवार पाल्दै आएका लोनिया पनि रोजीरोटी गुमेपछि निकै चिन्तित् छन्। रिक्सामै खिया लाग्ने भयो भन्ने चिन्ता छ। न आम्दानी छ न कतैबाट राहत पाएका छौ’ उनले भने। स्थानीय तह र केही संघसस्थाले राहत दिने भन्ने सुनेपनि अहिले सम्म नपाएको उनको दुखेसो छ।

स्थानीय तहरुले राहत बाँड्ने भनेपनि १२ दिन बितिसक्दा पनि अझै सुरु नगरेको मानवअधिकरकर्मी रबि ठाकुरले बताए। संकटमा परेका बिपन्न परिवारलाई तत्कालै उचित राहत दिनुपर्ने उनले बताए। ८/१० किलो चामल र दुई किलो दालले मात्रै राहत नहुने भन्दै उनले अत्यावश्यक अन्य सामग्री समेत उपलब्ध गराउन पनि आग्रह गरेका छन्। बुद्धभूमि नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठले आफ्नो नगरमा रहेका १० वटै वडाका बिपन्न र मजदुर परिवारको लगत संकलन भइसकेको बताए। एकर्दुइ दिनभित्रै सबै विपन्नकहाँ पुगेर राहत बाँडिने पनि उनले बताए। मेयर श्रैष्ठले लकडाउन लम्बिए बिपन्न परिवारलाई चिन्ता नलिन आग्रह गर्दै नगरपालिकाले उचित राहत दिने बताए।

कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले बिपन्न परिवारलाई लगत संकलन गरी राहत वितरण गरीरहेको बताए। सबैकोमा एकै दिन पुग्न सम्भव नभएपनि सबै बिपन्नलाई राहत प्रदान गर्ने उनले बताए। प्रअिज दीर्घनारयण पौडेलले यस विषयमा आफू गम्भीर रहेको भन्दै स्थानीय निकाय माफर्त राहत बाँडिने बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्