कैलालीका कोरोना संक्रमित युवा चैत ११ गते एक हजार जनाको भीडमा थिए !

  • ख-
  • ख+

काठमाडौं । कैलालीका २१ वर्षीय कोरोना संक्रमित युवक सरकारले लकडाउन घोषणा गरेपछि भारतबाट स्वदेश फर्किएको खुलासा भएको छ । 

सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन चैत १० गतेबाट देशव्यापी लकडाउन गरेपछि ती युवक गौरीफन्टा नाका भएर घर फर्किएको खुलासा भएको हो । 

चैत ११ गते नेपाल प्रवेश गर्नुपर्ने माग गर्दै गौरीफन्टा नाकामा नाराबाजीमा उत्रिएको भीडमा उनी सहभागी रहेको कैलाली प्रहरीले पुष्टि गरेको छ ।  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक सुदीप गिरीले संक्रमित पुष्टि भएका युवक चैत ११ गते गौरीफन्टा नाकामा भएको नाराबाजीमा सहभागी रहेको पाइएको पुष्टि गरे । 

“भारतको मुम्बईको एक होटलमा काम गर्ने रहेछन् । सरकारले लकडाउन गरेको भोलिपल्ट गौरीफन्टा नाकामा नेपाल प्रवेश गर्न पाउनुपर्ने भन्दै नाराबाजीमा उत्रिएको हजारभनदा बढीको हुलमा उनी पनि थिए,” गिरीले भने । 

उक्त दिन भारतबाट फर्किएका एक हजारभन्दा बढी नेपालीले सुरक्षाकर्मीमाथि ढुंगामुढासमेत गरेका थिए । ढुंगामुढा भएपछि प्रहरी बल प्रयोग गर्नुपरेको थियो ।  सोही दिन कैलालीको पूर्वी सहर लम्की पुगेका ती युवकलाई अर्को दिन बिहान लम्कीचुहा नगरपालिका ९ मा रहेको सरस्वती माध्यमिक विद्यालय, प्रतापपुरमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको थियो ।

  तस्बिरः सामाजिक सञ्जाल 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्