नेपालका संक्रमितमा किन देखिएन जटिल समस्या ?

  • ख-
  • ख+

काठमाडौं – नेपालमा गत माघ ९ गते पहिलो व्यक्तिमा कोरोना पोजिटिभ देखियो। उनी सामान्य लक्षणमै निको भए। पहिलो संक्रमित देखिएको दुई महिनापछि मात्र दोस्रो संक्रमित भेटिइन्। यी दुवै विदेशबाट आएका थिए। यी दुवै जना कुनै स्वास्थ्य समस्याबिनै निको भएका थिए। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा संक्रमित ६९ जनामध्ये १६ जना कुनै जटिल समस्याबिनै डिस्चार्ज भएका छन्। नयाँ संक्रमितहरूको स्वास्थ्य पनि सामान्य रहेको छ। 

विश्वभर कोरोना संक्रमितको स्थिति हेर्दा भाइरसले वृद्ववृद्वा, उच्च रक्तचाप, दम, मिर्गौला, मधुमेह, क्यान्सर र मुटुरोगीहरूमा जटिलता बढ्ने र मृत्यु हुने गरेको देखिन्छ। तर नेपालमा भने वृद्ववृद्वा तथा दीर्घरोगीहरूमा समेतमा कुनै समस्या नआएको चिकित्सक बताउँछन्। विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड–१९ संक्रमितमा ज्वरो आउने, सुक्खा खोकी लाग्ने, नाकबाट पातलो पानी बग्ने, श्वास फेर्न गाह्रो हुने र थकाइ लाग्ने जस्ता लक्षण हुन्छन्। 

वाग्लुङकी कोभिड संक्रमित ६५ वर्षीय महिलामा पहिल्यै दम र उच्च रक्तचाप थियो। तर उनमा कोरोनाले देखाउने कुनै लक्षण थिएनन्। न श्वास फेर्न कठिन थियो, न ज्वरो नै आएको थियो। ‘कोरोनासित सम्बन्धित कुनै लक्षण नै थिएन,’ धौलागिरी अस्पतालका सूचना अधिकारी डाक्टर तीर्थ गौतमले भने। 

या त कोभिड–१९ पचाउने प्रतिरक्षा क्षमता नेपालीको शरीरमा छ या भाइरसको जिनमै परिवर्तन भएको हुन सक्छ।
 

त्यसैगरी, बेलायतबाट फर्केर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरेकी पेप्सिकोलाकी ८१ वर्षीया वृद्वामा पनि कुनै पनि जटिलता थिएन। उनीमात्र होइन निको भइसकेका उनकै ५५ वर्षीय छोरामा पनि समस्या थिएन। पाटन अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले भने, ‘उहाँहरू दुवैमा अस्पताल आउनु र आइसकेपछि पनि कुनै समस्या थिएन।’ 

आठ जना कोभिड–१९ उपचार गरिरहेको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा कोरोना संक्रमित कुनै पनि बिरामीमा जटिल समस्या नदेखिएको अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले बताए।

हालसम्म १४ देखि ५० वर्षभित्रका १२ जनाको उपचार भएको छ, जसमा चार जना निको भएर गइसकेका छन् भने बाँकी आठ जना उपचारमै छन्। यी सबैमा कोरोनासित सम्बन्धित कुनै लक्षण नभएको अस्पतालका सुुपरिटेडेन्ट डाक्टर उपाध्याय बताउँछन्। ‘उनीहरूमध्ये केही दीर्घरोगी पनि हुन् तर उनीहरूमा कोरोनाले ल्याउने कुनै जटिलता छैन,’ उनले भने। हाल उपचारमा रहेका केही क्षयरोग, उच्च रक्तचाप, मुटुरोगजस्ता दीर्घरोगी पनि छन्। उनीहरूलाई आफ्नो नियमित औषधिबाहेक थप उपचार दिनु नपरेको उनले बताए। 

३१ जना कोभिड–१९ को बिरामी उपचार गरिरहेको कोसी प्रादेशिक अस्पतालमा १८ देखि ६३ वर्षभित्रका संक्रमितहरू छन्। उनीहरूमध्ये तीन जनामा मधुमेह, एक जनामा उच्च रक्तचापको समस्या छ। यी दीर्घरोगीमध्ये कुनैमा पनि कोरोनासित सम्बन्धित लक्षण र जटिलता नभएको अस्पतालकी मेडिकल सुपरिटेडेन्ट डाक्टर संगिता मिश्रले बताइन्।

‘सबै जनाको स्वास्थ्य अवस्थामा सामान्य छ र खास लक्षण पनि छैन, नेपालभरकै संक्रमितहरू सामान्य छन्,’ उनले नागरिकसित भनिन्। यो दृश्य देखेकी डाक्टर मिश्रलाई नेपालमा देखिएको कोरोना भाइरसको जिनमा परिवर्तन आएको हुन सक्ने लागेको छ। 

नारायणी उपक्षेत्रीय अस्पतालका प्रमुख डाक्टर उपाध्यायले संक्रमितको अवस्थाले आश्चर्यमा परेको बताए। प्रदेश २ मा देखिएका संक्रमित सबै भारतबाट आएका थिए। नेपाल तथा दक्षिण एसियामै कोभिड–१९ को फरक परिणाम आएपछि विश्व स्वास्थ्य संगठनले कोभिडको लक्षणसमेत थपिरहेको बताए। डाक्टर उपाध्याय या त कोभिड–१९ पचाउने प्रतिरक्षा क्षमता नेपालीको शरीरमै भइसकेको छ या भाइरसको जिनमै परिवर्तन भएको हुन सक्छ। ‘यसको यकिन गर्न अनुसन्धान हुन आवश्यक छ,’ उनले भने। 

कोरोना संक्रमितमध्ये कुनैमा पनि लक्षण नै नदेखिएपछि कोभिड–१९ नयाँ प्रजातिको भाइरस भएकोले यस विषयमा अनुसन्धान हुनुपर्ने विज्ञहरू बताउँछन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाइरोलोजिस्ट डाक्टर श्रवणकुमार मिश्रका अनुसार बिसिजी (क्षयरोग) विरुद्धको खोपले शरीरमा प्रतिरक्षा शक्ति संचित भएको हुन्छ र उक्त प्रतिरक्षा शक्तिको कारणले संक्रमितमा समस्या नआएको हुन सक्छ। रगतमा सक्रिय ‘टी–लिम्फोसाइट’ सेलको माध्यमबाट कुनै पनि किसिमको भाइरस संक्रमित कोशिकालाई मार्न सक्ने हुनाले बिसिजी खोप लिएको व्यक्तिमा यो रोगको गम्भीर असर नभएको हुन सक्छ।

संक्रमणमा टी–सेल र बी–सेल सक्रिय नभएको अवस्थामा एन्टिबडी निर्माण भएको हुँदैन। त्यस्तो व्यक्तिमा पुनः संक्रमण हुने सम्भावना हुन सक्छ। यस्ता व्यक्तिमा संक्रमित भएर पनि एन्टिबडी (भाइरविरुद्धको प्रोटिन) नबेनेको कारण आरडिटीमा (¥यापिड डाइग्नोसिस टेस्ट) नेगेटिभ देखिएको हुन सक्छ। श्वास–प्रश्वास प्रणालीमा हुने (बाहिरी झिल्ली) म्युकोषा पार गरेपछि भित्री छालाको बाहिरी भागमा न्युट्रोफिल, डेन्डाइट्रिक सेल र म्याक्रोफेज तीन किसिम सेलहरू हुन्छन। यी तीनवटा सेलहरूले भाइरस नष्ट गर्न सक्छ। यसलाई पनि पार ग¥यो भने रगतमा भएको ‘टी’ सेल र ‘बी’ सेल सक्रिय हुन्छन् र भाइरस संक्रमित सेललाई मार्छन्। 

डाक्टर मिश्रका अनुसार नेपालमा लिइने विभिन्न खोपहरूले पनि यो भाइरसविरुद्धको प्रतिरक्षा शक्ति बलियो बनेको हुन सक्छ। तेस्रो कुरा अहिले नेपालमा देखिएको कोरोना भाइरसको जेनेटिक ओआरएफ–वान, बीएन दुवैको जेनेटिक बनावट हेरिनुपर्छ। चौथो सन् २०११ देखि २०१४ सम्म सर्लाहीमा अमेरिकाको वासिंगटन विश्वविद्यालयले ६ महिनाका बच्चाहरूमा अनुसन्धान गरेको थियो, जसमा ह््युमन कोरोना भाइरसको चार किसिमको प्रजाति ओसि–४३, एचकेयु १, २२९ ई, एनएल–६३ पाइएको थियो।

यी चारवटा प्रजातिका भाइरस मौसमी हुन्। यो ह्युमन कोरोना भाइरस देखिएको हुनाले नेपालीहरूमा यो भाइरसविरुद्धको इम्युनिटी भइसकेको हुन सक्छ। सिओभी–२ भाइरस नेपालमा पाँचौं प्रजातिको कोरोना भाइरस सन् २०२० मा भेटिएको हो। यो नयाँ भाइरस भएको हुनाले अनुसन्धानबिना वास्तविक तथ्य भन्न नसकिने डाक्टर मिश्र बताउँछन्। यसका लागि तीन साताअघि डाक्टर मिश्रकै नेतृत्वमा पाँच जनाको अनुसन्धान टोलीले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा यससँग सम्बन्धित अनुसन्धान प्रस्ताव दर्ता गरेको छ। प्रस्ताव पारित भएमा अनुसन्धान अघि बढाइने डाक्टर मिश्रले बताए। यसमा स्वास्थ्य मन्त्रालयले अनुसन्धान स्वीकृति दिएको खण्डमा स्वास्थ्य मन्त्रालयको अगुवाइमा अनुसन्धान सुरु गरिने मिश्रले बताए। 

राष्ट्रिय इपिडियामोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर वासुदेव पाण्डेले यो नयाँ भाइरस भएको र नेपालमा धेरैमा नफैलिसकेको हुनाले यसको प्रभाव कस्तो पर्छ भनेर अहिल्यै भन्न ठोकुवा गर्न नसकिने बताए। ‘नयाँ भाइरस हो, यसको असर कति पर्छ, अहिल्यै भन्न सकिँदैन, सकेसम्म सबै जना सजग भएर बस्नु नै उचित हुन्छ,’ उनले भने। 

शुक्रराज सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डाक्टर शेरबहादुर पुनले नेपालमा कोरोनाको पूरै प्रभाव हेर्न थप समय पर्खिनुपर्ने बताए। तर हालसम्म संक्रमितमा देखिएको लक्षणविहीन स्थिति अनुसन्धानकै विषय रहेको उनको भनाइ छ। उनको विचारमा नेपालमा पहिला नै ह््युमन कोरोना भाइरस रहेको र त्यसविरुद्ध मानिसहरूमा प्रतिरक्षा क्षमता विकास भएको हुन सक्छ।

दोस्रो हालै अमेरिकी वैज्ञानिकहरूले गरेको प्रारिम्भक अनुसन्धानमा सूर्यको विकिरण र सापेक्षिक आद्रताले समेत कोरोना भाइरस मर्ने तथ्य अघि सारेको छ। नेपालमा भाइरसलाई पुग्ने सूर्यको विकिरण आउने गरी गर्मी मौसम सुरु भएको उनको तर्क छ। गर्मी मौसम सुरु हुनुले पनि कोरोना भाइरसको संक्रमण तीव्र रूपमा हुन नसकेको हुन्छ। 

तेस्रो कारणमा नेपालीहरूमा परम्परागत चलन हात धुने बानीले पनि भाइरस संक्रमणलाई कमी गरेको हुन सक्ने पुनले बताए। तर खास भाइरसको प्रभाव हेर्न भने वर्ष दिनको परिणाम पर्खिनुपर्ने उनको तर्क छ। 

राष्ट्रिय इपिडियामोलोजी विभागका पूर्वनिर्देशक डाक्टर बाबुराम मरासिनी पनि बिसिजी खोपकै प्रभाव हुने सक्ने बताए। विकसित राष्ट्रहरूमा सयवर्ष अघि नै क्षयरोग नियन्त्रणमा भएपछि यसविरुद्ध खोप दिन रोकेका थिए। नेपालमा यो खोप सन् १९६० देखि आजसम्म निरन्तर छ। यो कारणले पनि नहुन सक्छ। खोप ढिला सुरु भएको इरानमा कोरोनाको असर गम्भीर देखिएको र मृत्यु पनि धेरै भएको डाक्टर मरासिनीको तर्क छ।

बिसिजी खोप लगाइने देशहरू नेपाल, भारत, जापानमा कोरोनाको संक्रमण र जटिलतासमेत कम देखिएको उनको तर्क छ। दोस्रो कुरा हात मिलाउने र गला मिलाउने चलन नेपालमा नभएकोले पनि भाइरस संक्रमण दरमा कमी भएको हुन सक्ने उनको तर्क छ। 

तेस्रो कारणमा जुन–जुन देशमा ठूला–ठूला भवन र लिफ्टहरू, अन्डर–ग्राउन्ड रेलवेका प्रयोग हुने देश तथा मुख्य सहरहरूमा यसको फैलावट बढिरहेको उनले बताए। ‘भारतको दिल्ली, मुम्बईमा कोरोना संक्रमण बढी हुनुको कारण पनि यस्ता साधनको प्रयोग हुनुको कारण हुन सक्छ,’ मरासिनीले तर्क राखे। अल्पविकसित देशमा मानिसहरू पशुपंक्षीसित बढीनजिक हुने र उनीहरूमा हुने कोरोना भाइरस पहिल्यै प्रतिरक्षाको भएको हुन सक्ने उनको अर्को तर्क छ। तर यस विषयमा अनुसन्धानबिना यकिन गर्न नसकिने मरासिनीले बताए। 

जापानस्थित होकाइदो विश्वविद्यालयका प्रयोगशाला विज्ञान विभागमा कार्यरत डाक्टर रोजित श्रेष्ठका अनुसार विश्वमै कोभिड–१९ को मृत्युदर कम रहेको र वृद्धवृद्धाहरू बढी भएको मुलुकमा मात्र यसको असर बढी परेको छ। ‘इटली र अमेरिकामा वृद्वाहरूको संख्या बढी छ, त्यसकारण त्यहाँ बढी मृत्युदर पनि देखियो,’ उनले भने, ‘जापानमा पनि ७०÷८० प्रतिशतमा कुनै गम्भीर लक्षण देखिएन।’

वातावरणीय तथा जेनेटिक प्रभाव र बिसिजी खोपको भूमिकाको कारण पनि यो भाइरसको असर नेपालमा कम परेको हुन सक्ने डाक्टर श्रेष्ठको अनुमान छ। वंशाणुगत संवेदनशिलता अनुसार भाइरसको फरक प्रभाव परेको दखिन्छ। ‘यो भाइरसको बढी असर युरोपियन जिनमा बढी देखिन्छ,’ उनले भने, ‘तर वास्तविक कुरा पत्ता लगाउन शरीरको एन्टिबडीको अनुसन्धान हुनुपर्छ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्