पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता हुने

सिटी पोखरा डेक्स
  • ख-
  • ख
  • ख+

‎पोखरा । युनाइटेड किङ्स क्लब, पोखराको आयोजनामा ‘प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८३’ हुने भएको छ।

‎आगामी मंसिर १ गतेदेखि ६ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा सञ्चालन हुने प्रतियोगिताबारे आयोजकले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी तयारी तथा आर्थिक विवरण सार्वजनिक गरेको हो।

क्लबका अध्यक्ष अशोक गुरुङले भलिबल खेलको विकास, विस्तार तथा खेलाडीको क्षमता अभिवृद्धिका लागि प्रतियोगिता आयोजना गर्न लागिएको बताए। प्रतियोगिताले स्थानीय तथा युवा खेलाडीलाई राष्ट्रियस्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने उनले बताए।

क्लबका सचिव अशोक थापाले पोखरालाई राष्ट्रियस्तरको खेलकुद गतिविधिको केन्द्रका रूपमा स्थापित गर्दै खेलकुदमार्फत पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने उद्देश्य रहेको बताए।

प्रतियोगितामा देशका उत्कृष्ट आमन्त्रित पुरुष भलिबल टोलीहरूको सहभागिता रहने प्रतियोगिता संयोजक थमन गुरुङले जानकारी दिए । यस वर्ष पुरुषतर्फ मात्र प्रतियोगिता आयोजना गरिने भए पनि आगामी वर्षदेखि महिला खेलाडीलाई समेत समेट्ने तयारी रहेको उनकाे भनाई छ ।

‎विजेतालाई ४ लाख पुरस्कार
प्रतियोगिताको विजेता टोलीले नगद ४ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ। उपविजेताले २ लाख ५० हजार, तृतीय हुने टोलीले १ लाख र सान्त्वना स्थान हासिल गर्ने टोलीले ५० हजार रुपैयाँ पाउनेछन्।

यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्राे, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा पुरस्कारतर्फ मात्रै ८ लाख ८० हजार रुपैयाँ खर्च हुने आयोजकको जनाएकाे‎ छ ।

७१ लाख आम्दानी, ६० लाख ९५ हजार खर्च अनुमान
‎ प्रतियोगिता सम्पन्न गर्न कुल ७१ लाख रुपैयाँ आम्दानी र ६० लाख ९५ हजार रुपैयाँ खर्च हुने आयाेजककाे छ।

मुख्य प्रायोजक, सरकारी निकाय, टिकट बिक्री, विशेष सहयोग तथा मिडिया साझेदारीमार्फत आम्दानी जुटाइनेछ। खेलाडीको आवास तथा यातायात, खेल सामग्री, मञ्च, प्याराफिटलगायत व्यवस्थापनमा खर्च हुने जनाइएको छ।

कार्यक्रममा कास्की जिल्ला भलिबल संघका अध्यक्ष बुद्ध सिंहलाई सम्मान गरिएको थियो। उनको कार्यकाल सफलताको कामना गर्दै सम्मान गरिएको क्लबका सचिव थापाले बताए।

कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले प्रतियोगिताको सफलताको शुभकामना दिँदै यस्ता प्रतियोगिताले स्थानीय खेलाडीलाई प्रोत्साहन गर्नुका साथै नेपाली भलिबलको विकासमा सहयोग पुग्ने बताए। उनले राष्ट्रिय खेलका रूपमा रहेको भलिबलको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

युनाइटेड किङ्स क्लबले खेलकुदसँगै सामाजिक क्षेत्रमा समेत विभिन्न गतिविधि गर्दै आएको जनाउँदै आगामी दिनमा नेपाली भलिबलको विकास र खेलाडीको प्रोत्साहनमा निरन्तर योगदान गर्ने प्रतिबद्धता जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्