सडक महोत्सव भाेलिदेखि,महोत्सवमा आउने पर्यटकलाई कोरोनाकाे जाेन्सन खोप

  • ख-
  • ख+

पोखरा । रेष्टुरेण्ट तथा बार एसोसियसन (रेवान) ले आयोजना गर्नेे २३ औं संस्करणको पोखरा सडक महोत्सवको सम्पुर्ण तयारी सम्पन्न भएको छ ।

१५ देखि १७ गतेसम्म सञ्चालन हुने  महोत्सवको सम्पूर्ण तयारी सम्पन्न भएको जानकारी रेवानले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं’ भन्ने नाराका साथ हुने महोत्सव पोखराको सहीदचोकदेखी खहरे-डिहिकोपाटनसम्मको करीब ३ किलोमिटर क्षेत्रमा सञ्चालन गरिने रेवान अध्यक्ष लक्ष्मण बरालले  जानकारी दिए । सो समय सडकलाई नो भेकल जोन बनाइन्छ ।

सडक महोत्सवमा आउने पर्यटकलाई कोरोना खोप

पोखरा सडक महोत्सव अवलोकन गर्न आउने पर्यटकलाई रेवानले कोभिड विरुद्धको जोनसन एण्ड जोनसेन खोप उपलब्ध गराउने भएको छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईका अनुसार महोत्सवमा आउने पर्यटकलाई प्रदेश सरकारको सहयोगमा खोप उपलब्ध हुने भएको हो । उनका अनुसार बिहान ११ बजेदेखि ४ बजेसम्म स्ट्रीट नं. ५ मा खोप उपलब्ध गराइनेछ ।

सडक महोत्सवका लागि गृहमन्त्री बालकृष्ण खाण पोखरा आउँदै
सडक महोत्सवका लागि गृहमन्त्री बालकृष्ण खाण भोली पोखरा आउँदै छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईका अनुसार सडक महोत्सव उद्घाटन गर्नका लागि गृहमन्त्री पोखरा आउन लागेका हुन् । भोलि दिउँसो १ बजे कोमागाने पार्क लेकसाइडमा सडक महोत्सवको उद्घाटन कार्यक्रम रहेको छ ।

विभिन्न समुदायको संस्कृति झल्किने बाजागाजा तथा झाँकीसहित हल्लनचोकबाट मध्यान्ह १२ बजे र्‍याली शुभारम्भ गरिने रेवानले जनाएको छ ।

अंग्रेजी नयाँ वर्षको अघिल्लो साँझ १६ गते र्‍यापर समिर घिसिङ ‘भिटेन’ र विपुल क्षेत्रीको प्रस्तुति रहने आयोजकले जनाएको छ । यस्तै महोत्सवमा  मैथिली संस्कृति,काठमाडौंको नेवारी संस्कृति,गुरुङ संस्कृति, थारु जातिको संस्कृति प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

महोत्सवमा झाँकी प्रदर्शन तथा सांस्कृतिक प्रतियोगिता आयोजना हुँदै छन् ।  महोत्सवको अर्को आकर्षणको रुपमा सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकारहरु हुने गर्छन् ।

विभिन्न मनोरञ्जनात्मक खेलकुदका कार्यक्रमहरु, हस्तकला प्रदर्शनी हुने आयोजकले जानकारी दिएको छ ।
यस्तै यो वर्षको महोत्सवमा रेवानले कानुन विपरीत आतिशबाजि नगर्ने जनाएको छ । महोत्सव संयोजक नरेश भट्टराईले नयाँ वर्ष २०२२ को स्वागतार्थमा आतिशबाजी कार्य बन्द गरिएको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्