‘आख्यानको शक्ति दशौँ गुणा बढी’


लमजुङको भोटेवडारमा २०५२ साल असोजमा जन्मिएकी दुर्गा कार्कीका कथाहरुको संगालो ‘कुमारी प्रश्नहरु’ हालै प्रकाशन भएको छ। लमुजुङमै एसएलसीसम्म अध्ययन गरेर २०६७ सालमा उच्च अध्ययनका लागि काठमाडौँ आएकी उनी कानुनकी स्नातक हुन्। करिब पाँच वर्ष टेलिभिजनका लागि कार्यक्रम प्रस्तोतासमेत रहेकी उनी विभिन्न मिडियामा महिला तथा स्वास्थ्य, राज्यको नीतिनिर्माणमा उठेका सवालप्रति टिप्पणी गर्नेदेखि पुस्तक तथा फिल्म समीक्षासम्म गर्न भ्याएकी छन्। शुक्रवारकर्मी प्रजु पन्तले कार्कीको नयाँ पुस्तक, लेखनयात्रा, विषयवस्तुको चयन आदिमा केन्द्रित रहेर गरिएको कुराकानीः

सिधै लेखनमै जाऊँ क्यार ! लेखनको सुरुवात कसरी भयो ?
शब्दहरु सित सानैदेखि मैले निकटता महसुस गरेँ। पत्रपत्रिका तथा किताबहरु पढ्न भनेर बुबाले घरमै ल्याइदिनुहुन्थ्यो। आफूलाई लागेका कुरा बुबाआमाको नाममा चिठी लेखेर उहाँहरुको झोलामा राखिदिन्थेँ। कविता र गजल त ४/५ कक्षा पढ्दा नै लेख्थेँ। कथा लेखनको सुरुवात पनि सानैमा भएको हो।

कहिले लेखनको तीव्रता महसुस भयो ?
हाम्रो घरमा तीन वटा कुखुरा थिए। दुइटा पोथी र एउटा भाले। रातो र कालो पोथीमा रातो पोथी अलि दुब्ली थिई। भालेले खानेकुरा खान बोलाउँदा त्यो रातोलाई बढी नै प्राथमिकता दिएजस्तो लाग्यो अनि त्यसलाई मैले प्रेमको रुपमा चित्रण गरेर कथा लेखेँ। हजुरआमालाई सुनाएँ। उहाँ मुसुमुसु हाँस्नुभयो। स्कुलमा पनि यो कथा सुनाएँ। सबैले मन पराए।

काठमाडौँ आएपछि हिमाल एसोसिएसन र डेनिस एम्बेसीले आयोजना गरेको प्रतियोगितामा तेस्रो हुन सफल भयो, मैले लेखेको कथा। कथा लेखनको वर्कसप पनि भएको थियो। त्यहाँ केदार शर्मा सरलाई भेटेँ। उहाँले धेरै गाइड गर्नुभयो। अनि मलाई  लेख्न धेरै सजिलो भयो ।

समसामयिक विषयवस्तु, फिल्म समीक्षा,किताब चर्चा, युवा मुद्दामा केन्द्रित आलेख लेख्नु भएको तपाईंले कथा पनि लेख्नु भएछ। लेखनमा यत्तिका विविधता कसरी आयो ?
नन् फिक्सन र अखबारी विचार लेख्न सक्छु भन्ने मलाई लाग्दैनथ्यो। एउटा कथाको प्रतिउत्तर पठाएपछि सेतोपाटीले नियमित लेख्न अफर ग-यो। मलाई लेख्न सक्छु भन्ने नै लागेको थिएन। कसरी लेख्दिन भन्नु ?

यही कुरा मैले मेरा गुरु केदार शर्मालाई सोधेँ। उहाँले उल्टै तिमी सक्छ्यौ, लेख भन्नुभयो। त्यसपछि ‘छक्कापञ्जा’को रिभ्यु लेखेँ। सबैले राम्रो भनिरहेको बेला ‘छक्कापञ्जा’मा महिलालाई कमेडीको विषय बनाएकोमा आपत्ति जनाएर रिभ्यु लेखेँ। यसको यति धेरै चर्चा भयो कि म त अचम्ममा परेँ। जुन विषयले छोयो, त्यो विषयमा लेखेँ। लेखन एक प्रकारको अभ्यास रहेछ। पहिले त कुनै पनि विषयमा आफ्नै विचार के हो भन्ने कुरामा स्पष्ट हुनुप-यो, त्यसपछि आफ्ना विचारलाई सशक्त ढङ्गले उभ्याउनका लागि त्यसमा प्रमाण, तथ्याङ्क तथा उदाहरणको खोजी गर्नुप-यो। त्यसलाई मिहिनेत ज्यादा चाहिन्छ।

फिक्सनमा भने विषयवस्तुलाई कसरी प्रस्तुत गर्ने, प्रस्तुतिका लागि कस्तोखाले पात्र चयन गर्ने भन्ने कुरामा ध्यान दिनुपर्ने रहेछ। लेखनमा विविधता आउने भनेको चाख र अभ्यासबाट हो। त्यसैले विविधता ल्यायोजस्तो लाग्छ मलाई।

भनेपछि फिक्सन लेख्दा बढी दिमाग खियाउनुपर्ने कि नन्फिक्सन ?
 मलाई फिक्सन गाह्रो लाग्छ। फिक्सन लेख्ने त हो भन्दैमा जे पायो त्यही राख्न भएन। नन् फिक्सन र विचार लेख्दा जसरी अनुसन्धान गरिन्छ, त्यसरी नै फिक्सन लेख्दा पनि गर्नैपर्छ। कस्तो भने नि, सबै लेखकको आफ्नै एजेन्डा हुन्छ। गैरआख्यानमा यो एजेन्डा सिधै राखिन्छ भने आख्यानमा घुमाउरो तरिकाले।

‘कुमारी प्रश्नहरु’मा १३ वटा कथा संङग्रहित छन्। कसरी विषयवस्तुको चयन गर्नुभयो ?
कथा संग्रह नै प्रकाशित गर्छु भनेर लेखेको हैन। यो कथा संग्रहमा २०६८ सालदेखि २०७६ सालसम्म लेखिएका कथाहरु छन्। विषयवस्तु पनि त्यही बेलातिरका हुन्। प्रत्येक कथाका आ–आफ्नै कथा छन्, जुन कथाभित्र भेटिदैनन््। ती मसित मात्रै छन्। हरेक कथामा तपाईंले हाम्रै वरिपरिका पात्रहरु पाउनुहुन्छ।

भनेपछि सबै वास्तविक पात्र हुन् ?
वास्तविक होइनन् तर वास्तविक पात्रहरुबाट धेरै प्रभावित हुन् भन्न सकिएला।

अधिकांश पात्र वास्तविक नै भएपछि नन् फिक्सन किन नबनाउनुभएको त ?
साहित्य समाजको प्रतिविम्व हो। साहित्यको जुन शक्ति छ, त्यसले समाजलाई छिट्टै छुन्छ। कतिपय सामाजिक मुद्दा गैरआख्यानबाट भन्दा आख्यानबाटै सशक्त रुपमा स्थापित गराउन सकिन्छ। र, गैरआख्यानभन्दा आख्यान धेरै मानिससम्म पुग्छ। लामो समयसम्म रहिरहन्छ। आउँदो पुस्ताहरुले पनि यतिबेला हामीले लेखेको आख्यान पढेर यतिबेलाको हाम्रो समाज, समाजका विभिन्न पक्षहरुको अध्ययन गर्न सक्छन्। हामी आज पनि बिपी, पारिजात, समलगायतका लेखकका कृतिबाट उतिबेलाको समाज बुझ्छौँ नि !

कतिले त तपाईंले लेखेको पुस्तक भन्नेबित्तिकै नारीवादी पुस्तक होला भन्ने ठान्छन् नि ?
म कथा लेख्न बस्दा कुनै वाद भिर्दिनँ, त्यो स्वतः लेखनमा बहन्छ। नारीवादी भन्नेबितिक्कै घरभडुँवा, संस्कृति मास्ने, उच्छृङ्खल, विकृतिका संवाहकको रुपमा बुझेको पाइन्छ। यस कथामा मिश्रित कथाहरु छन्। पुरुष पात्रलाई भिलेन बनाउनुपर्छ भन्ने होइन, न त हरेक महिला पात्रलाई विद्रोही नै बनाउनुपर्छ भन्ने हो। हामीकहाँ एक त नारीवादप्रतिको बुझाइ नै गलत छ, दोस्रो त्यसलाई साहित्यमा कसरी हेर्ने भन्नेसम्बन्धी बहस हामीकहाँ मात्र होइन, संसारभरि नै जारी छ। यो संवेदनशील विषय हो, यसमा थप बहस आवश्यक छ।

तपाईंका जस्ता विचार पढ्न पाइन्थ्यो, त्यो छवि ठ्याक्कै कथामा आएन कि ?
मैले साहित्यकारको रूपमा सामाजिक यथार्थलाई जस्ताको त्यस्तै पस्केको हो। त्यो सामान्यतः महिलाको आँखाबाट पस्केजस्तो लाग्छ। अब त्यो कति नारीवाद भयो वा भएन, त्यो त पाठकहरूले विश्लेषण गर्ने कुरा हो। 

चाउमिन, फेमेली फोटो, कुमारी प्रश्न, कालो चश्मा लगायतका कथााहरुमा बुबासँग  महिला पात्रको छुट्टै अट्याचमेन्ट छ। नियतवश नै त्यस्तै गरिएको हो कि ?
कतिपय ठाउँमा तपाईंले भनेजस्तै गरेको हो। मैले अघि नै भनेँ नि सबै कथाको उपकथा छन्। उदाहरणका लागि, चाउमिन कथा लेख्दा नागरिकता विधेयकमा महिलाको समान हकको कुरा बहसमा थियो। छोरी जन्माएर बाबु बेपत्ता भएका केटीको भावनात्मक पाटो उधिन्नु थियो, ताकि त्यस विषयले मानिसलाई भित्रैसम्म छोओस्। यस कथामा चाउमिन एउटा खाना मात्र होइन, त्यसले एउटी किशोरीको बाबुप्रतिको माया, घृणा, गुनासा र भोकको एकैचोटी प्रतिनिधित्व गर्छ। बुुबासँग जुन प्रकारको एट्याचमेन्ट छ, त्यो मलाई साँच्चीकै सुन्दर लाग्छ। कतिपय कथामा राख्नैको लागि पनि राखेको हो। मलाई साहित्यमा सबैखाले सम्बन्धको परिधि नाप्न मनपर्छ। 

कथाहरुमा महिला पात्रहरुले यौनलाई बोझका रुपमा हेरेको देखिन्छ। किन हो ?
त्यो होला कि महिलाको सेक्सुआलिटीलाई महत्व दिएको हो ?

हैन, पढ्दा के अनुभूत हुन्छ भने, महिलाले यौनलाई प्राथामिकता नदिएको हो कि ?
कुन कथा ?

‘कुमारी प्रश्न’ र ‘पोइल’मा पनि त्यो देखिन्छ नि ?
(हाँस्दै) म कथाकारको रूपमा मेरो काम भनेको सामाजिक यथार्थलाई पाठकसामू पस्कने हो। धेरै कथाहरूमा महिलाको यौनिकता छ। हाम्रोमा महिलाको यौनिकताका सन्दर्भमा खासै बहस भएजस्तो लाग्दैन। मलाई यी कथाहरू त्यसमा बहस गर्ने माध्यम बनून् भन्ने लागेको छ। 

‘सँघार’ कथाकी अनुराधाको प्रेमीको व्यवहार मायालुभन्दा बढी नियन्त्रणात्मक छ। खासमा हिजोआजको प्रेममा फेसबुकको पासवर्ड दिनु, कहाँ जाने नजाने कुरामा प्रेमीहरुकै नियन्त्रणमा हुने कुरा लेख्नुभएको छ। सत्य पनि यही हो ?
यसको पनि बेग्लै कथा छ। तीन वर्षअघि यो कथा लेख्दा केदार सरले क्लाइमेक्स मिलेन, अहिले यसै राख, पछि मिलाउँला भन्नुभयो। त्यसपछि म फिल्डवर्कमा गएँ। नाइट क्लबमा गएर त्यहाँको वातावरण बुझेँ। अनि अर्काे कुरा, प्रेमीहरु केयर हैन कन्ट्रोल नै  गरिरहेको देखेँ। मेरै साथीहरुले पनि ब्वाइफ्रेन्डबारे सुनाउँछन्। उनीहरु पनि मायाको नाममा आफूलाई समर्पण गरिरहेका छन्। माया भन्ने कुरा व्यवहार र गुणमा हुने कुरा हो। गुण भने कत्ति पनि नहुने तापनि माया गर्छ भनेर हुन्न। माया हुन मन पराउनुप¥यो र माया हुन प¥यो। आफ्ना आकांक्षा तिलाञ्जली दिएर समपर्ण गर्नु प्रेम हैन। यहाँ प्रेमको नाममा केटीहरुमाथि नियन्त्रण गर्ने काम भइरहेको छ। त्यही पस्केकी हुँ।

स्थानीय लवजको प्रयोग गर्नु बाध्यता कि तपाईंको रहर हो ?
एकदमै रहर। लबज पूरै त होइन नि ! (हाँस्दै) यहाँका धेरै शब्दहरू मैले पहिलोपटक मेरी हजुरआमाको मुखबाट सुनेकी हुँ र अन्त्य नभए पनि मेरो किताबमा कम्तीमा पनि ती बाँचून् भनेर जस्ताको त्यस्तै राखेकी हुँ।

कथाहरु प्रायः युवतीहरुको छ। किताब पनि युवती लक्षित हो ?
प्रायः कथामा युवा उमेर समूहका पात्रहरू छन्। उनीहरूका जीवनका विविध पाटोका कथा छन्। त्यसैले युवा समूहलाई यी कथाहरूमा अलि बढी चाख लाग्ला तर ३०/३५ वर्षे अधवैँशेदेखि ६० वर्षेका कथा पनि छन्। मलाई लाग्छ, आफ्ना युवा भइसकेका वा हुँदै गरेका छोराछोरीलाई बुझ्न चाहने अभिभावकका लागि पनि यो किताब उत्तिकै चाखलाग्दो हुन सक्छ।


प्रतिक्रिया दिनुहोस्