प्रदेश १ मा कोरोना परीक्षणको दर बढ्यो

  • ख-
  • ख+

विराटनगर- धरानस्थित  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोगशाला  स्थापना भएपछि प्रदेश १ मा कोरोना परीक्षण दर थोरै बढेको छ। यद्यपि क्वारेन्टाइनमा रहेकाहरुको संख्याका आधारमा अहिले पनि पर्याप्त जाँच भने भएको छैन।
प्रदेश १ मा मंगलबारसम्ममा ४६ जनाको स्वाब परीक्षणका लागि संकलन भएको मुख्यमन्त्री कार्यालयमा स्थापना भएको हेल्थ डेस्कले जानकारी दिएको छ। डेस्कका सूचना अधिकारी क्षितिज भट्टराईका अनुसार ४६ मध्ये ३० जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ भने बाँकी १६ जनाको रिपोर्ट आउन बाँकी छ। ‘यीमध्ये केही धरानमा, केही काठमाडौंमा परीक्षण गरिएको हो’, उनले भने। धरानमा आइतबारदेखि परीक्षण सुरु भएको हो।
प्रदेशका १४ जिल्लामा हालसम्म २१९ जना सरकारी क्वारेन्टाइनमा छन् भने ३१८ जना होम क्वारेन्टाइनमा छन्। त्यस्तै मेची, कोशी र धरानलगायतका अस्पतालमा ७ जना आइसोलेशनमा राखिएका छन्।
मुख्यमन्त्री कार्यालयका अनुसार मंगलबार प्रदेशका स्थानीय तहहरुलाई कोरोना उपचारका लागि आवश्यक पर्ने सामग्रीहरु प्रदान गरिएको छ। स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले पीपीई, मास्क, थर्मोमिटर, ग्लोब्स लगायतका सामाग्री स्थानीय तहहरुलाई हस्तान्तरण गरेको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्