आँधीखोला गाउँपालिकाद्वारा २२ कृषक सम्मानित


आँधीखाेला,२६ जेठ ।
व्यावसायिक कृषक प्रोत्साहन कार्यक्रम अन्तर्गत स्याङ्गजाकाे आँधीखोला गाउँपालिकाले उत्कृष्ट २२ कृषक तथा कृषक समुहलाई सम्मान गरेकाे छ ।

कृषि शाखाको आयोजनामा आईतवार एक कार्यक्रमकाबिच आँधीखोला गाउँपालिकाका विभिन्न वडाबाट छानिएका उत्कृष्ट कृषक तथा कृषक समूहलाई गाउँपालिका अध्यक्ष सुधिरकुमार पाैडेलले नगदसहित प्रमाणपत्रद्वारा सम्मान गरेका हुन् ।

सम्मान कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पौडेलले कृषिमा आकर्षण बढाउन र वास्तविक कृषकलाई सम्मान गर्न व्यावसायिक कृषक प्रोत्साहन कार्यक्रमको व्यवस्था गरिएको बताए ।

यस कार्यक्रम अन्तर्गत गाउँपालिकाका उपाध्यक्ष शर्मिलादेवी पौडेलको संयोजकत्वमा विभिन्न टोलहरूमा गई अनुगमन तथा मूल्याङ्कन गरी मापदण्ड अनुसार २२ जना कृषक छनोट गरिएको थियो ।

जसमा गाउँपालिकाका विभिन्न वडाबाट मौरीपालनमा ३ जना, कुखुरापालनमा २ जना, हाँसपालनमा १ जना र तरकारी फलफूल तथा मसालाबालीमा १६ जना गरी २२ जना उत्कृष्ट छनाैटमा परेका थिए ।

कृषि पेशालाई सम्मान गरि कृषि क्षेत्रमा उत्पादन र आकर्षण बढाउनका लागि आँधीखोला गाउँपालिकाले व्यावसायिक कृषक प्रोत्साहन कार्यक्रम गर्ने गरेको छ।


प्रतिक्रिया दिनुहोस्