पोखरा स्पोर्टस् अवार्डलाई पुन परिवारको साथ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा संचालन हुने सातौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड–२०७९ लाई सफल पार्न पोखरा–१० रामबजार निवासी स्व. सेनानी हेमबहादुर पुनको स्मृतिमा उनको परिवारले सघाउने भएको छ ।

शुक्रबार अवार्ड अन्र्तगत ‘उत्कृष्ट खेल पत्रकारिता पुरस्कार’ शिर्षकमा प्रायोजना गर्ने गरि स्व.सेनानी पुन परिवार र मञ्चविच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सो अवसरमा स्व. पुन परिवारको तर्फबाट नाति नविन पुन र मञ्चका अध्यक्ष दीननाथ बरालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उत्कृष्ट खेल पत्रकारिताको पुरस्कार राशी नगद ३५ हजार रुपैयाँ रहेको छ । सो कार्यक्रममा पुन परिवारका लोक पुन, उमेश पुन , मञ्चका सचिव शशी कुमार पौडेलको उपस्थिती रहेको थियो । मञ्चले आयोजना गर्ने उक्त अवार्डमा आफ्नो परिवारजनबाट निरन्तर रुपमा सहयोग गर्न पाएकोमा नेपाल सेभेन ए साइड फुटवल महासंघका केन्द्रिय अध्यक्ष समेत रहेका नविन पुनले खुःशी व्यक्त गरे ।

मञ्चका कार्यसमिति सदस्य समेत रहेका उमेश पुन स्व.सेनानी हेमबहादुरका नाति हुन् । पुन परिवारले स्पोर्टस् अवार्डमा हरेक वर्ष लगातार उक्त विधामा सहयोग गर्दै आएको छ ।

गण्डकी प्रदेशकै गौरव पोखरा स्पोर्टस् अवार्डमा विभिन्न ७ विधामा अवार्ड प्रदान गरिनेछ । आगामी वैशाख २३ मा पोखरा सभागृहमा गण्डकी प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी मञ्चले ती विधामा अवार्ड प्रदान गर्नेछ ।

जसमा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट खेल पत्रकारिता अवार्डमा नगदसहित अवार्ड वितरण गर्नेछ ।

मञ्चले अवार्ड कार्यक्रमको तयारीलाई तिव्रता दिएको छ । अवार्डलाई सफल बनाउन गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, सहारा क्लव पोखरा लगायतले सघाउने छन् ।

यसका साथै अवार्डलाई सफल बनाउन विभिन्न संघसंस्थाका साथै व्यापारिक प्रतिष्ठानहरुबाट पनि सघाउने प्रतिवद्धता आइरहेको मञ्चका सचिव पौडेलको जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्