व्यवसायीको प्रतिस्पर्धा सेवामा निर्भर-होटल पि-राज एण्ड रेष्टुरेन्टका सञ्चालक सुवेदी

२०७४ साउन २४ , मंगलवार

वैदेशिक रोजगार युवाहरुको पहिलो रोजाई हो । गाउँका चोक वा गल्लीमा पनि एसईईपछि अव त विदेश जाने होलानी? यो भनाई नसुन्ने सायदै कोहि नहोलान्, तर यो भन्नु आम नेपालीको रहर होईन बाध्यता हो । देशमा रोजगारको अवसर नभएपछि विदेशको मुख ताक्नुपर्ने वैदेशिक रोजगारीमा जानेहरुको विवशता हो । तर अहिलेका युवा पुस्ताको सोच भने अलि भिन्न भएको पाईन्छ, वैदेशिक रोजगारबाट फर्किएपछिका साथीको अनुभव अनि उनीहरुले गर्ने मेहनत देखेर या त स्वअध्ययन र जानकारीले पनि । विदेशमा जति मेहनत यहि गर्ने हो भने त “आफ्नै देशमा सुन फलाउन सकिन्छ”, भन्ने मानसिकता बढ्न थालेको छ । यस्तै मध्येका एक युवा हुन् राजन सुवेदी । हुन त उनी उच्च शिक्षा हासिल गर्ने बेलादेखि नै सकृय राजनीतिमा होमिए । अहिले पनि उनी नेकपा एमाले कास्की क्षेत्र न १ को सकृय सदस्य हुन् र राजनीतिमा पनि खटेर लागिरहन्छन् । तर उनी राजनीतिमा लागे पनि अहिले पोखरा लेखनाथ-२४ मा होटल पि-राज एण्ड रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । उनै युवा व्यवसायी राजन सुवेदीसँग सिटीपोखरा डट कम(citypokhara.com)ले गरेको कुराकानीको अंश:

युवा हुनुहुन्छ, होटल व्यवसायमा लाग्ने सोच कसरी पलायो ?
हरेक दिन देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा हेर्दा बल्ल जुङगाको रेखि बस्दै गरेका 1,500/2,000 जना युवा विदेशिने गरेका छन् । यस्तो अवस्थामा नेपालमै केही गरुँ र अरु युवाहरूको लागि पनि केही रोजगारको वातावरण सिर्जना गर्न सकुँ  भन्ने अठोटका साथ होटल व्यवसाय सञ्चालन गर्ने आँट गरे ।

पर्यटकिय नगर पोखरा क्षेत्रमा होटल त धेरै छन्, अरु होटलहरु भन्दा फरक के छ ?
अरु होटलमा भन्दा फरक हामीकहाँ फेवातालको शिरमा बसेको अनुभुति हुन्छ । मनोरम पोखराको लेकसाईडको दृश्य देखिनुका साथै खानामा छुट्टै स्वादिष्ट परिकारहरु, लोकल माछा, लोकल कुखुरा, हाँस तथा खसीका परिकार स्वादिष्ट र सस्तो मुल्यमा पाउन सकिन्छ भने होटलका रुमहरुमा एट्याच ट्वालेट बाथरुम, रुममा टिभी, फ्रि वाईफाई, वर्थडे पार्टी तथा सेमिनार हल तथा यातायातको पनि व्यवस्था गरिएको छ ।

प्रतिष्पर्धात्मक वजार छ, भविष्य कस्तो देख्नुहुन्छ ?
पहिलो कुरा, म प्रतिस्पर्धासँग डराउँदिन । सबैभन्दा धेरै यहि पेशामा प्रतिस्पर्धा छ, मलाई यो कुरा राम्रोसँग जानकारी छ । तर पनि मैले यहि व्यवसाय गर्न चाहे किनभने हामी ग्राहकलाई स्वादिलो र सुपथ मुल्यमा सेवा दिनेछौं । हाम्रो सेवाले अरु व्यवसायसँग सहज प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने मेरो विश्वास छ । प्रतिष्पर्धात्मक बजारमा व्यवसाय गर्नुको मज्जा नै बेग्लै हुन्छ ।

कसैको देखासिकीमा व्यवसाय शुरु गर्नुभयो या नयाँ सोचले ?
मैले विल्कुल नयाँ सोचका साथ यो व्यवसाय सुरु गरेको हुँ । विदेश जाने युवाहरुको अप्ठ्यारो परिस्थिती मैले राम्रोसँग नियालेको छु । आफ्नै देशमा काम गरेर हामी नेपाललाई समृद्ध बनाउन लाग्नुपर्छ भन्ने सोचले होटल व्यवसायमा लागे । नत्र म पनि आम युवा जस्तै २६ वर्षे ठिटो गोजीमा पासपोर्ट बोकेर मेनपावर धाएर विदेशिन सक्थे तर मलाई यो सोच आएन ।

लागत कति लाग्यो ?
लगभग सबै खर्च गर्दा १ करोड ८० लाख रुपैयाँ लगानी भएको छ ।

कति जनालाई रोजगार दिनुभएको छ ?
अहिले म आफु पनि सञ्चालक जस्तो नभयर कामदारको भुमिकामा छु । मसँगैै अन्य ५ युवालाई रोजगारी दिएको छु, आशा छ अझै अरु युवालाई रोजगारी दिन सक्ने गरि मेरो व्यवसाय फस्टाउनेछ ।

कत्तिको सहज देख्नुहुन्छ, निरन्तरता दिन ?
सहज त छैन तर असहजलाई सहज बनाउने प्रयत्नमा रहनेछु । कामदारको अभावसंगै केही अप्ठ्यारो छ यसलाई विस्तारै सहज बनाउँदै अगाडि बढ्नेछु ।

राजनीतिमा पनि सकृय छु भन्नुहुन्छ, राजनीति र व्यवसाय सँगसँगै कसरी लैजानुहन्छ ?
म राजनीतिलाई पेशा बनाउँदिन राजनीति समाज सेवा हो ।समाजका लागि केही गरेर देखाउनको लागि मनोवल उच्च मनोबल पारेकोे छु र बचेको समय व्यवसायलाई दिनेछु । मलाई राजनीति र व्यवसायमा हरपल साथ दिने श्रीमती दिलमाया तिमिल्सिनाप्रति आभारी छु ।

वैदेशिक रोजगारीमा जाने युवाहरुलाई तपाई के सुझाव दिनहुन्छ ?
नेपालमा जे गर्दा पनि पैसा छ, विदेशमा गर्ने मेहनत नेपालमा नै गरौं । देशमा छिट्टै समृद्ध बनाउन सकिन्छ जे गर्छौं नेपालमै गरौं भन्न चाहान्छु ।

भावी योजना के छ ?
यो होटललाई सफलतापुर्वक सञ्चालन गर्दै अबका केही वर्षमा सुविधा सम्पन्न एउटा रिसोर्ट सञ्चालन गरेर २ सय भन्दा बढि युवालाई रोजगार दिने र सफल व्यवसायीका रुपमा आफुलाई परिचित गराउने उद्देश्य छ ।

प्रतिक्रिया दिनुहोस