गण्डकी प्रदेशका दुई विधेयक प्रमाणिकरण

२०७६ आषाढ ३१ , मंगलवार

पोखरा । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ‘विनियोजन विधेयक–२०७६ र प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक–२०७६’ लाई प्रमाणिकरण गरेका छन् । गण्डकी प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख कुँवरले मंगलबार प्रमाणिकरण गरेका हुन् ।

गण्डकी प्रदेश सभाको असार २० गते बसेको बैठकले पारित गरेको विधेयकलाई प्रदेश सभा सचिवलायले असार २६ गते प्रमाणिकरणका लागि गण्डकी प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो ।

दुवै विधेयकलाई नेपालको संविधान धारा २०१ को उपधारा १ बमोजिम सभामुख नेत्रनाथ अधिकारीले असार २० गते नै प्रमाणित गरेका थिए । नेपालको संविधान धारा १९९ को उपधारा १ मा प्रदेश सभाले पारित गरेका विधेयक प्रमाणिकरणका लागि प्रदेश प्रमुख समक्ष पेश गर्नुपर्ने प्रावधान छ ।

प्रदेश प्रमुख कुँवरले प्रदेश सभाका सभामुखबाट प्रमाणित दुवै विधेयका पाँच/पाँच प्रति विधेयकमा हस्ताक्षर गरि प्रमाणिकरण गरेका हुन् । नेपालको संविधान धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले विधेयक प्रमाणिकरण गरेका हुन् । सोही धाराको उपधारा ५ बमोजिम प्रदेश प्रमुखबाट प्रमाणिकरण भएपछि विधेयक ऐन बन्छ ।

गण्डकी प्रदेश प्रमुखको कार्यालयका कानून अधिकृत अनम सुवेदीले प्रदेश प्रमुख कुँवरले प्रमाणित गरेका विधेयकमध्ये एक प्रति प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ भने प्रदेश सभाको सचिवालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, र संघीय कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा एक/एक प्रति पठाइएकोे बताए ।

प्रतिक्रिया दिनुहोस