“गर्भावस्थामा दही, चिउरा र बेबी सावर” अष्टबक्र, धृतराष्ट्र र पाण्डुका कुरा

२०७६ साउन १ , बुधवार

बबिता बस्नेत ।

महाऋषि अष्टबक्र आफ्नै पिताले दिएको श्रापका कारण आठ प्रकारका अपाङ्गतासहित जन्मिएका थिए । उनको कथा आमा गर्भवती हुँदा के गर्न हुन्छ, के गर्न हुँदैन या के गऱ्यो भने के हुन्छ ? भन्ने कुरासंँग सम्बन्धित छ । अष्टबक्र आमाको गर्भमा रहेका बेला आमा ऋषिआश्रममा बेद सुन्न जाने गरेकाले पेटमै हुँदा उनलाई बेद कण्ठ भएको भन्ने शास्त्रहरूमा उल्लेख छ । उनी गर्भमै रहेको बेला एक दिन उनका बाबुले आमासँग बेदको बारेमा चर्चा गर्दै जाँदा तथ्य गलत परेकोले उनले पेटभित्रैबाट बाबुलाई ‘तपाईंले भनेको मिलेन’ भनी जवाफ दिएछन् । हुनेवाला सन्तानले जन्मनुअघि नै आफूलाई सच्याएको कुरालाई अनादर गरेको ठानी बाबुले ‘अपाङ्ग भएर जन्मिए’ भनी श्राप दिए । आफ्नै पिताको श्रापले शरीरमा आठ थरी अपाङ्गतासहित जन्मिएकाले उनको नाम नै अष्टबक्र रहन गयो । रामायण र महाभारत दुवैमा अष्टबक्रको कुरा उल्लेख छ । अष्टबक्र गीता महाऋषि अष्टबक्रद्वारा लिखित शास्त्र हो, जसलाई अष्टबक्र संहिता पनि भनिन्छ । अष्टबक्र संहिता ध्यान, योग, जीवन, मुक्ति र ज्ञानको दस्तावेज हो । अष्टबक्रको जीवनलाई बच्चा गर्भमा हुँदा आमाले सुनेका कुराले कति फरक पार्दोरहेछ भन्ने उदाहरणका रूपमा लिन सकिन्छ ।

सुनेका कुराले त त्यति फरक पार्छ भने भोगेका कुराले केसम्म होला ? कस्तो मुडमा राखेको सम्बन्धले हुनेवाला बच्चामाथि के असर पर्छ भन्ने कुराको साक्षी महाभारतका महत्वपूर्ण पात्रहरू धृतराष्ट्र र पाण्डु हुन् । आमा अम्बिकाका पुत्र धृतराष्ट्र र अम्बालिकाका पुत्र पाण्डु अवधारणात्मक रूपमा राजा विचित्रविर्यका सन्तान भए पनि प्राविधिक रूपमा व्यास पुत्र थिए । राजा सान्तनुका छोराहरू चित्राङ्गद र विचित्रविर्यमध्ये चित्राङ्गको विवाहअघि नै मृत्यु भएको थियो भने विचित्रविर्यको विवाहपछि मृत्यु भएको थियो । विचत्रिविर्यका दुई पत्नी थिए– अम्बिका र अम्बालिका । बुहारीहरू गर्भवती नभई छोराको मृत्यु भएपछि राज्य कसरी धान्ने भन्नेबारेमा आमा सत्यवतीलाई चिन्ता पऱ्यो । उनले ऋषि व्यास (राजा सान्तनुसँग विवाह पूर्वसत्यवती र परासर ऋषिका छोरा) लाई आफ्नो दरबारमा बोलाइन् । राजकाज धान्नका लागि सन्तान आवश्यक रहेको भन्दै बुहारीहरूसँग सम्बन्ध राखेर सन्तान जन्माइदिन अनुरोध गरेपछि व्यासले आफ्नो स्वरूप अहिले ऋषिको रहेकाले केही समय दिन अनुरोध गरे । तर, लामो समय लिँदा बुहारीहरूमाथि समाजले शङ्का गर्ने ठानी उनले समय नभएको बताइन् ।

अम्बिका जान्छिन् तर जीवनसाथीको रूपमा राजकुमारको परिकल्पना गर्दै हुर्किएकी उनका लागि ऋषिसँगको सम्बन्ध सहज हुँदैन । व्यासलाई देखेपछि उनी आत्तिइन् र डरले आँखा चिम्लिइन् । परिणामतः दृष्टिविहीन बच्चाको जन्म भयो, धृतराष्ट्र ।

अन्ततः व्यास राजी भए, सत्यवतीले जेठी बुहारी अम्बालिकालाई सम्बन्धका लागि लामो काउन्सिलिङ गरिन् । महाभारतमा यो भाग निकै पीडादायी र रोचक छ । सत्यवती बुहारीलाई भन्छिन्– बुहारी, सन्तान जन्माएर कुल परम्परा धान्ने र राजकाज अघि बढाउने काम मेरो छोराको हो, तर आफ्नो कर्तव्य पूरा नगर्दै उसको देहान्त भयो । आफ्नो पतिले गर्न नसकेको काम पत्नीले गर्नुपर्छ । राज्यप्रतिको धर्म निर्वाह गर, ऋषि व्यास तिमीलाई पर्खिरहेका छन् । अम्बिका जान्छिन् तर जीवनसाथीको रूपमा राजकुमारको परिकल्पना गर्दै हुर्किएकी उनका लागि ऋषिसँगको सम्बन्ध सहज हुँदैन । व्यासलाई देखेपछि उनी आत्तिइन् र डरले आँखा चिम्लिइन् । परिणामतः दृष्टिविहीन बच्चाको जन्म भयो, धृतराष्ट्र । ऋषिले आमा सत्यवतीलाई अम्बिकाले अत्यधिक डराई दुवै आँखा चिम्म गरेकाले दृष्टिविहीन बच्चा जन्मिने बताएपछि उनले अर्की बुहारी अम्बालिकालाई पनि जेठी बुहारीलाई जस्तै गरी काउन्सिलिङ गरिन् । अम्बिका र अम्बालिका दिदीबहिनी थिए । अम्बालिका पनि डराइन्, ऋषिलाई देखेपछि उनको पूरै शरीर डरले पहेँलो, सेतो भयो । परिणामतः पाण्डु जन्मिए, जन्मँदै रोगी । शरीरमा सेतो टाटा हुने दुबीलाई अहिले पनि पाण्डु रोग भन्ने चलन छ । दिदीबहिनी दुवै डराएपछि दिदी अम्बिकाले आफ्नी दासीलाई ऋषिसामु पठाइन् । सपना फरक भएका कारणले हुन सक्छ, दासी उक्त सम्बन्धमा रोमाञ्चित भइन् । परिणामः विदुर जन्मिए, धुरन्धर विद्वान्, उनको विदुर नीति प्रख्यात छ ।

अहिले मेडिकल डाक्टरहरू भन्छन्– महिलाहरूले गर्भवती हुँदा चिन्ता लिनुहुँदैन, मन खिन्न गर्नुहुँदैन, खुसी रहनुपर्छ, सकारात्मक सोच्नुपर्छ । यो कुरा महाभारतकालअघि अष्टबक्रको पालामै स्थापित भइसकेको थियो । सम्बन्ध राख्दाको परिस्थिति र मुडअनुसारको बच्चा जन्मिन्छ भन्ने उदाहरण धृतराष्ट्र, पाण्डु र विदुर हुन् भने गर्भमै सुनेका कुराले बच्चाको सोच र बौद्धिकतामा कति फरक पार्छ भन्ने कुराको उदाहरण अष्टबक्र हुन् । अहिले गर्भवती भएका महिलाले ठूलो भएको आफ्नो पेटमा तल र माथि दुवैतिर हात राखेर खिचाएका फोटोहरू सामाजिक सञ्जालमा देख्न पाइन्छ । कतिले महिलाले यस्ता फोटा सार्वजनिक गर्नुलाई कसरी हेर्नुहुन्छ ? तपाईंलाई कस्तो लाग्छ ? भनेर प्रश्न पनि गर्छन् । हामी सबैको परिवारमा नयाँ पुस्ताका छोरीबुहारीहरूलाई गर्भ बाहिरी रूपमा सजाउने कुराभन्दा पनि गर्भावस्थामा राम्रो सोच राख्नेचाहिँ ठुलो कुरा हो है भनेर बुझाउनु आवश्यक छ । हाम्रा आमाहरूको पालामा गर्भावस्था गर्व गर्नुपर्ने समय या आमा हुनुको सुन्दर अनुभूतिभन्दा पनि छोरा जन्मिने हो कि छोरी जन्मिने हो भन्ने तनावमै बित्ने गर्थ्यो । छोरी जन्मिए आफू हेला भइने, अझ पहिला पनि छोरी जन्मिइसकेकाहरूका लागि त गर्भावस्था हे भगवान् छोरा नै जन्मियोस् भनी पुकार गर्दैमा बित्थ्यो । यस्तै पुकार गर्दा गर्दै जन्मिएकामध्ये हामी धेरै पर्छौं ।

सम्बन्ध राख्दाको परिस्थिति र मुडअनुसारको बच्चा जन्मिन्छ भन्ने उदाहरण धृतराष्ट्र, पाण्डु र विदुर हुन् भने गर्भमै सुनेका कुराले बच्चाको सोच र बौद्धिकतामा कति फरक पार्छ भन्ने कुराको उदाहरण अष्टबक्र हुन् ।

हामीकहाँ पेटमा बच्चा आठ महिनाको भएपछि परिवारका सदस्यहरूले दही–चिउरा खुवाउने चलन छ । विदेशमा कतिपय परिवारले आयोजना गर्ने ‘बेबी सावर’भन्दा अघि नै हामीकहाँ दही–चिउरा, खिर खुवाउने चलन थियो, तर यो चलन परिवारका सदस्यबीचमा पहिलो बच्चा जन्मिँदा गरिन्थ्यो । गर्भवती हुँदा खाने दही–चिउरा र तिजको दशा हिजाआज उस्तै भएको छ । गर्भवती अवस्थामा महिलाले खुसी र पारिवारिक रूपले सुरक्षित महसुस गरून् भनेर गरिने यसप्रकारका रीतिरिवाजहरू हिजोआज प्रदर्शनका लागि झैँ भएका छन् । विभिन्न आकारको पेट छोएरै फोटो खिचाएर प्रदर्शन गर्नु सही कि गलत ? प्रश्नहरू यसरी पनि गर्न थालिएका छन । हेर्दा अलि अप्ठ्यारो लागे पनि आफ्नो अनुभूतिलाई कसरी प्रस्तुत गर्ने मानिसको नितान्त व्यक्तिगत कुरा हो । एक नजिकका नातेदार बाबुले आफ्नी छोरीले ठूलो भएको पेटको फोटो लगातार पोस्ट गरेपछि लौन त्यसलाई सम्झाइदिनुपऱ्यो, हामी बाबुआमा दुवैले भन्न सकेनौँ भनेका थिए । हाम्रो पारिवारिक संरचनाको कारणले पनि हुन सक्छ, दाजुभाइले पनि दिदीबहिनीका यसप्रकारका तस्बिरहरू आउँदा असहज मान्दा रहेछन् ।

गर्भ लुकाएर राख्नुपर्ने कुरा होइन, प्रकृतिको सुन्दर सिर्जनालाई आत्मसात् गदै ‘सेलिब्रेसन’ गर्ने कुरा अवश्य हो । तर, बाहिरी रूपमा देखावटीभन्दा पनि सोच र वातावरणमा ध्यान दिनुपर्ने कुराहरू धेरै छन् । पूर्वीय संस्कृतिमा जन्मिनासाथ बच्चालाई नयाँ लुगा लगाइदिन हुँदैन भन्ने छ । पहिलापहिला किन यसो भनेको होला जस्तो लाग्थ्यो, तर अहिले बुझ्दा यो त मनोवैज्ञानिक कुरा पनि रहेछ । बच्चा जन्मिँदा सधैँ जोखिममा हुन्छ । कति बच्चाहरू जन्मने क्रममै मृत्युको मुखमा पुग्छन्, त्यस्तो बेलामा बच्चाका लागि पहिल्यै लुगा किनेर राख्दा ती कपडाहरूले मनोविज्ञानमा थप असर पार्ने ठानी त्यसो गरिएको हो जस्तो लाग्छ ।

गर्भवती हुँदा खाने दही–चिउरा र तिजको दशा हिजोआज उस्तै भएको छ । गर्भवती अवस्थामा महिलाले खुसी र पारिवारिक रूपले सुरक्षित महसुस गरून् भनेर गरिने यसप्रकारका रीतिरिवाजहरू हिजोआज प्रदर्शनका लागि झैँ भएका छन् ।

रिलेसनहरू कम्प्लिकेटेड हुँदै गएको सन्दर्भमा अहिले सामाजिक सञ्जालमा पोस्ट गर्ने गरिएका गर्भका तस्बिरहरूले भविष्यमा सम्बन्ध बिग्रियो भने अर्कै प्रकारको मनोवैज्ञानिक समस्या आइपर्न सक्ने सम्भावना पनि त्यत्तिकै देखिन्छ । जुन समस्या पुरुषले भन्दा महिलाले नै बढी भोग्नुपर्ने हुन्छ ।

बच्चा जन्मिनु प्राकृतिक कुरा हो । विगतमा जुन रूपमा ए…यो के ठूलो कुरा हो र ? जस्तो गरी जसरी बेवास्ता गरिन्थ्यो, यो त्यति धेरै बेवास्ता गर्नुपर्ने कुरा होइन र अहिले जसरी योभन्दा ठूलो त संसारमा केही पनि छैन जस्तो गरिँदै छ त्यो पनि सही होइन । आफ्नो खासै योगदान नभएको प्राकृतिक कुरालाई असामान्य रूपमा लिएर अघि बढ्दा त्यो प्राकृतिकभन्दा बढी ‘आर्टिफिसियल’ देखिन्छ । हुनेवाला बच्चाको लागि दिन सक्ने योगदानचाहिँ सकारात्मक सोच र हिंसारहित वातावरणमा उसको हुर्काइ हो । स्रोत:

original link:-http://www.ghatanarabichar.com/157679?fbclid=IwAR1PzPfGdcYrU2Azfb5OaxJ0AL1c6ClWZiu1HMTiWCTL8wJFAdibbeHXHpk

प्रतिक्रिया दिनुहोस