आज बडा दशैंको सातौं दिन,घर-घरमा फूलपाती भित्र्याईदैं

२०७६ असोज १८ , शनिबार

पोखरा । आज बडा दशैंको सातौं दिन । कालरात्री भगवतीको पुजा अर्चना गरी देशभरका विभिन्न शक्तिपीठ तथा दशैं घरमा फूलपाती भित्र्याईँदैछ ।

आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व घर-घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याउने गरिन्छ ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकको रुपमा भित्राइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।

फूलपाती भित्राएपछि नौ वटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्राउनका लागि साइतको आवश्यकता नपर्ने पनि प्रा. डा. गौतम बताउँछन् ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीको महान चाड दशैं अर्थात दुर्गापूजाको सामाजिक चहल पहल भने आजैका दिनदेखि बढ्ने गर्छ । घटस्थापनाका दिन जमरा राखिएको पूजाकोठामा आज कालरात्रीको विशेष पूजा गरिन्छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवासमेत फूलपातीका रुपमा भित्र्याउने गरिन्छ ।

आज विशेष गरी विद्यार्थीले महासरस्वती तथा पुस्तक, कापी, कलम, मसीदानीको समेत पूजा गर्ने प्रचलन छ । फूलपाती नौ देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आरधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ ।

हनुमानढोकामा ३ बजे फूलपाती भित्राइँदै

काठमाडौंको हनुमानढोका दरबारको दशैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्राउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राहृमण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ ।

यस वर्षको फूलपाती शनिबार अपराहृन ३ बजे भित्राइने कार्यक्रम रहेको दशैँ पर्वको संयोजन गरिरहेका समितिका कर्मचारी मिठाराम पुडासैनीले बताए ।

आश्विन शुक्ल सप्तमीको दिनदेखि नै शक्तिपीठहरुमा पूजा गर्नेहरुको घुइँचो थप बढ्ने गर्दछ । नवदुर्गाका नौवटा स्वरुप छन् । जसलाई नवरात्रभर हरेक दिन फरक-फरक स्वरुपमा पूजा आराधना गरिन्छ ।

आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेसा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आफ्नो पुख्र्याैली थलो फर्कने क्रम अझ तीव्र हुने गर्छ ।

नेपालका ग्रामीण भेगमा आजैका दिन देखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गे पिङ र रोटे पिङले दशैंको रौनकतालाई अझ बढाउने गर्छ । घटस्थापनाका दिनदेखि नै दशैं शुरु हुने भए पनि दशैंको विशेष चहलपहल भने आजदेखि घर घरमा शुरु हुन्छ ।

आजदेखि सरकारी कार्यालय पनि बन्द हुने भएकाले अध्ययन व्यवसाय लगायत विभिन्न कारणले मूलघरबाट टाढा रहेकाहरुको घर फर्कने चहलपहल पनि बढ्ने गरेको छ ।

यस्तै यो वर्षको वडादशैंको टिकाको उत्तम साईत आगामी मंंगलवार विहान १० बजेर ३५ मिनेटमा रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस