आज महाअष्टमी:महाकाली,महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरी मनाइँदै

२०७६ असोज १९ , आईतवार
File Pic

पोखरा । हिन्दुहरुको महान पर्व बडा दशैंको आज आठौं दिन अर्थात् महाअष्टमी पर्व,दुर्गा भवानीको पूजाआजा गरी देशभर मनाईंदैछ । दशैंको आठौं दिन आईतवार महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । दशैं घर र कोत लगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तसती पाठ गर्ने परम्परा छ ।

आज दशैं घर, कोतलगायतका विभिन्न शक्तिपीठमा पशु बली दिई दुर्गा भवानीको विशेष पूजा गर्ने चलन छ । दुर्गा सप्तशती र देवी स्तोत्र पाठ पनि गरिन्छ । राती कालरात्रीका रुपमा पशुबलीको विधि र पूजा आजा सहित मनाउने गरिन्छ । आज पोखराको विन्ध्यवासिनी, तालबाराही लगायतका मन्दिरहरुमा बिहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ ।

पोखरा बाहिर काठमाडौं उपत्यकाभित्रका विभिन्न शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, लगायत गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेल्धुराको उग्रतारा, काभ्रेेेेेेेेेेेेेपलान्चाेककाे चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालिञ्चोक भगवती लगायतका शक्तिपीठहरुमा पनि बलीसहित पूजा आराधना गर्ने भक्तजनहरुको घुँइचो लाग्ने गर्दछ ।

पशुबली नचढाउनेहरुले भने आज पूजा कोठामा काँक्रो, घिरौंला, कुभिण्डो, मूला र नरिवल आदि बली चढाई पूजा आजा गर्ने गर्दछन् । राति हनुमानढोकाको दशैंघरमा बोका र राँगाको बलीसहित कालरात्री पूजा गर्ने गरिन्छ ।

महाअष्टमीका दिन शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री आदि देवीहरूको पूजाआजा गरिन्छ ।

प्रतिक्रिया दिनुहोस