छपेली सेभेन ए साइड फुटबलको फाइनलमा न्यू बुद्ध र मिनाम भिड्ने,माघ १ गते बन्दिपुर गाउँपालिकाले मिनी म्याराथन प्रतियोगिता गर्ने

२०७६ पौष २८ , सोमबार

सुरज श्रेष्ठ,तनहुँ । छैठौ छपेली सेभेन ए साइड फुटबलको फाइनलमा न्यू बुद्ध युवा क्लब नयाँबस्ती र मिनाम लाङ्गघाली युवा क्लब तुरतुरे भिडने भएको छ ।

सोमबार भएको सेमिफाइनल खेलमा न्यू बुद्ध युवा क्लबले छपेली साँस्कृतिक युवा क्लब ए लाई १ का विरुद्ध ४ गोल गर्दे फाईनलको यात्रा सहज बनाएको हो । विदेशी खेलाडी समेत रहेको आयोजक टिमले स्कोर निकाल्न नसक्दा नतिजा अर्कोलाई सुम्पन बाध्य भयो । खेलको म्यान अफ दि म्याच मिनाम लाङ्गघालीका मिन गुरुङ भए ।

सेमिफाइनलको अर्को खेल सामना युवा क्लब र मिनाम लाङ्गघाली क्लब बिच भएको थियो । सो खेलमा मिनाम लाङ्गघाली क्लबले एकतर्फी ३ गोल गर्दे फाइनलको यात्रा सहज बनायो । यता विपक्षी टिम सामना क्लबले भने गोलको खाता खोल्ने सकेन । उक्त खेलको म्यान अफ दि म्याच मिनाम लाङ्गघालीका मनोज गुरुङले हात पारे ।

पुस २० गते बाट संचालन भएको खेलको फाइनल खेल माघ १ गते हुने आयोजकले बताएको छ । जारी खेलको विजयी टिमले ७७ हजार ७ सय ७७ र उपविजेता ले ४४ हजार ४ सय ४४ नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगितामा सर्वाधिक गोलकर्ता,उत्कृष्ट स्ट्राइकर,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट गोलकिपर र अनुशासित टिमलाई आर्कषक पुरस्कारको व्यवस्था रहेको आयोजकले बताए ।

बन्दिपुर गाउँपालिकाले मिनी म्याराथन प्रतियोगिता गर्ने

पर्यटन पवद्र्धन एवं नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन बन्दिपुर गाउँपालिकाको आयोजनामा माघ १ गते बन्दिपुर मिनी म्याराथन प्रतियोगिता हुने भएको छ । जसमा आन्तरिक तथा खुल्ला दौड प्रतियोगिता रहने छ ।

आन्तरिक दौड प्रतियोगितामा बन्दिपुर गाउँपालिकामा बसोबास गर्नेले मात्र सहभागिता जनाउन सक्ने छ । खुल्ला तर्फ भने देशै भरिका धावकहरुले सहभागिता जनाउन पाउने छ ।

खुल्ला तथा आन्तरिक दौड प्रतियोगिताको लागि डुम्रे देखि बन्दिपुर टुडिखेल सम्म ८ किलोमिटरको दुरी कायम गरिएको बन्दिपुर गाउँपालिका अध्यक्ष पुर्ण सिंह थापाले जानकारी दिए ।

दौड प्रतियोगितामा २ सय भन्दा बढिले सहभागिता जनाउने अनुमान गरिएको छ । खुल्ला दौड प्रतियोगितामा प्रथम र द्धितीय हुनेलाई क्रमशः३० र २० हजार नगद प्रदान गरिने छ । त्यस्तै आन्तरिकतर्फ प्रथम र द्धितीय हुनेलाई क्रमश : १५ र ७ हजार नगद पुरस्कार प्रदान गरिने अध्यक्ष थापाले बताए । दौड प्रतियोगितामा छपेली साँस्कृतिक युवा क्लब,बन्दिपुर टुरिजम डेभलप्मेन्ट कमिटी र मोहोरिया कमिनिटी होम स्टे सहयोगी संस्थाको रुपमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस