प्रगति दिदिबहिनी समुहका सदस्यलाई जीवन व्यवस्थापन र नेतृत्व विकास तालिम

२०७६ माघ ३ , शुक्रबार

पोखरा । प्रगति दिदिबहिनी समुहका सदस्यलाई जीवन व्यवस्थापन र नेतृत्व विकास तालिम प्रदान गरिएको छ ।

ब्रम्हकुमारी वैदाम शाखाको आयोजना र प्रगती दिदिबहिनी आमा समुहको संयोजनमा आयोजित जीवन व्यवस्थापन तथा नेतृत्व विकास सम्बन्धी एक दिने तालिम शुक्रवार सम्पन्न भएको छ ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले जीवनलाई व्यवस्थित रुपमा जीउने कला चाहिने भन्दै आफ्नो जिन्दगीको बाटो आफै पहिल्याएर गन्तव्य खोज्नु पर्ने बताए ।

उनले महिलामा व्यवस्थापकीय क्षमता प्रशस्त हुने भएकाले तालिमले महिलालाई सशक्त बनाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

असल नेतृत्वले जहिल्यै अरुको हितमा काम गर्ने भन्दै असल नेतृत्वले व्यक्तिगत स्वार्थ त्याग्नुपर्ने उनकाे धारणा छ ।

कार्यक्रममा ब्रम्हाकुमारी राजयोगिनी दिदि पुनमले सुन्दर जीवनलाई अझ सुन्दर बनाउन सकारात्मक भावना राखेर कर्म गर्नुपर्ने बताईन्।

मानिस भित्र रहेको अहंकार र घृणानै सफल जीवनको बाधक भएको भन्दै अध्यात्मले सामाजिक सद्भाव बढाउने उनको भनाइ थियो ।

कास्की पोखरा हस्तकला संघका अध्यक्ष हिरा भटटराई जीवनलाई व्यवस्थापन गर्न पनि कला चाहिने बताईन्।

अस्त व्यस्त जीवनले मानसिक र शारीरिक तनाव प्रदान गर्ने भएकाले स्वस्थ जीवनका लागि सकारात्मक भावनाबाट ऊर्जा बटुल्नुपर्ने उनकाे भनाई छ ।

कार्यक्रममा पर्यटन व्यवसायी महिला मन्धरा ढकाल, विष्णु गुरुङ (एकता), संरक्षण नेपालका अध्यक्ष सुशिला वाग्ले, प्रगति दिदिबहिनीका अध्यक्ष मैया जि.सी लगायतले जीवनलाई सफल र सार्थक बनाउन तालिमले धेरै कुरा सिकाएको अनुभव सुनाए ।

समुहका ५० जनाको सहभागिता रहेको कार्यक्रमा स्कुल अफ ह्याप्पीनेसका संस्थापक एवं माइन्ड केमेस्टि रिसर्च पर्सन हरी सिटौलाले जीवनलाई कसरी व्यवस्थापन गर्न र नेतृत्व विकासका विषयमा प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस