उज्ज्वल आर्ट्सको पहिलो अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी थाइल्यान्डमा

२०७६ माघ ९ , बिहीवार

पोखरा । पोखरामा रहेको उज्ज्वल आर्ट्सको पहिलो अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी थाइल्यान्डको बैंककमा हुने भएको छ । भिजिट नेपाल २०२० लाई लक्षित गरी थाइल्यान्डको बैंककमा नेपाली कलाकारको अन्तर्राष्ट्रिय सामूहिक चित्रकला प्रदर्शनी हुने भएको हो ।

प्रदर्शनी पोखरा ५ पस्र्याङ्गमा रहेको उज्ज्वल आट्र्स र पोखराकै दुई दशक पुरानो बुद्धिज एटेलियरको आयोजनामा हुन लागेको हो ।

नेपालको सुन्दरता, संस्कृति र परम्परा कलामार्फत उजागर गरी नेपाल भ्रमण वर्षलाई विदेशमा प्रचारप्रचार गर्न प्रदर्शनी आयोजना गरिएको उज्ज्वल आर्ट्सका सञ्चालक आर्टिस्ट उज्ज्वल अधिकारीले सिटिपोखरा डट कमलाई जानकारी दिए ।

उनका अनुसार बिजनेस हब थाइल्यान्ड एसिया र युरोपका धेरै पर्यटकले भ्रमण गर्ने भएकाले उनीहरुलाई लक्षित गरी प्रदर्शनी आयोजना गरिएको हो ।

इम्ब्रेस नेपाल शीर्षकमा आगामी मार्च ६ देखि ८ सम्म हुने प्रदर्शनीमा पानीरंग वा अरु रङबाट बनाइएका ४०/३० सेमीका कलामात्र यसमा समावेश गरिनेछ । सबै चित्र इम्ब्रेस नेपाल शीर्षकलाई प्रतिनिधित्व गर्न सक्ने खालका हुनुपर्ने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार प्रदर्शनीमा सहभागी हुन चाहने कलाकारले फेव्रुअरी २ भित्र चित्रका फोटो आयोजकलाई पठाउनुपर्ने छ । प्रदर्शनी, प्रमाणपत्र र क्याटलगका लागि १ सय ५० अमेरिकन डलर कलाकारले तिनुपर्ने छ ।

७ दिनको यात्रा टिमसँग गर्न चाहनेले ५ सय ५० डलर तिर्नुपर्छ । प्रदर्शनीसहित होलिडे टुरमा सहभागी हुनेले भने ७ सय डलर तिर्नुपर्ने छ ।
व्यक्तिगत तवरमा थाइल्यान्ड गएर ३ दिने प्रदर्शनीमा आफ्ना कला समावेश गर्न चाहने कलाकारले भने २ सय डलर तिर्नुपर्ने आयोजकले जनाएको छ ।

प्रदर्शनीमा रसिया, भियतनाम, भारत, माल्टा र थाइल्यान्डका कलाकारका कला पनि समावेश हुने हुने बताईएको छ ।

बुद्धिज एटेलियर २ दशकदेखि क्रियाशील पोखराका एक पुरानो स्टुडियो हो । यसले बालबालिकालाई पेन्टिङ प्रशिक्षण र कलाकार बन्न चाहनेलाई वाटरकलरको प्रशिक्षण पनि यसले दिँदै आएको छ ।

यस्तै उज्ज्वल आट्र्स विगत ५ वर्षदेखि पोखरामा रहेर सेवा दिदै आएको संस्था हो । यसको मुख्य उद्देश्य प्राचीन कलाको संरक्षण र आधुनिक कलाको प्रवद्र्धन गर्नुका साथै कलाको माध्यमबाट नेपालको सौन्दर्य, संस्कृति र परम्पराको अन्वेषण गर्ने रहेको उज्ज्वल आर्ट्सका सञ्चालक उज्ज्वल अधिकारीले जानकारी दिए ।

उज्ज्वल आर्ट्समा विभिन्न रंगका माध्यमबाट कला (पानी रंग, एक्य्र्लिक, ग्राफाइट स्केच आदि) प्रस्तुत गरिन्छ भने यसले कलाकारितामा इच्छुक बालबालिका र युवाहरुलाई पैन्टिंग कक्षा सञ्चालन (नेपाल तथा थाईल्याण्डमा कक्षा सञ्चालन) पनि गर्ने उज्ज्वल आट्र्सका सञ्चालक आर्टिस्ट अधिकारीले जानकारी दिए ।

उनका अनुसार यहाँ चित्रकला प्रशिक्षण वर्ग बाहेक, यसको आफ्नै पोखरा ५ मा कला ग्यालेरी छ र अडर अनुसारको ल्याण्ड्स्केप र पोट्रेट पैन्टिंग गरिन्छ जसका लागि अनलाइनबाट अडर गर्न सकिने व्यवस्था पनि मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस