बुटवलका भजिन्द्र क्षेत्री कोरियन मानार्थ नागरिकताबाट सम्मानित

२०७५ कार्तिक २९ , बिहीवार

पोखरा । नेपालका भजिन्द्रबहादुर क्षेत्री कोरियन मानार्थ नागरिकताबाट सम्मानित भएका छन् । नेपाल र कोरियाबिच संस्कृति आदान प्रदान एवं सामाजिक र आर्थिक क्षेत्रमा योगदान पुर्याए वापत कोरियाको सौल महानगरपालिकाले समाजसेवी क्षेत्रीलाई मानार्थ कोरियन नागरिकता प्रदान गरेको हो ।

कोरियामा बसोबास गर्ने विदेशी नागरिकलाई हरेक वर्ष प्रदान गरिने उक्त सम्मानले नेपाल र कोरिया विचको सम्बन्धलाई अझै प्रगाढ बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दे आएको छ । सौलमा आयोजना गरिएको विशेष समारोहमा क्षेत्री सहित २२ देशका नागरिकलाई सो मानार्थ नागरिकता प्रदान गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै क्षेत्रीले यो सम्मान कोरियामा रहेका करिव ४० हजार नेपाली र नेपालको सम्मान भएको बताए । सम्मानले अझै जिम्मेवारी थपेको र आगामी दिनमा यसको मर्म अनुसार कार्य गर्ने बताउँदै विकसित मूलुक कोरियाको प्रविधि र विकासका उत्कृष्ट नमूना नेपालमा भित्राउने अभियानमा लागि पर्ने बताए ।

नेपालको वाग्लुङ्ग जिल्लामा जन्म भई वुटवलमा बसोबास गर्दे आएका उनी बिगत १४ बर्षदेखि कोरियामा रहका क्षेत्री तेक्वान्दोका राष्ट्रिय खेलाडी र प्रशिक्षक समेत हुन भने यहि क्षेत्रमा नेपाल र अन्तराष्ट्रिय स्तरमा विभिन्न पदकहरु समेत हासिल गरिसकेका छन् ।

यस अघि २००९ मा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले तेक्वान्दो खेलको क्षेत्रमा उच्च योगदान पु¥याए बापत सम्मान पाईसकेका छन् भने २०१२ मा क्युक्वेनका अध्यक्षबाट समेत उनले उच्च सम्मान पाईसकेका छन् ।

चौथो कोरिया ओपन च्याम्पियसिप २००८ मा द्धितिय स्थान हासिल गरेका थिए । यसका साथै बुटवल खेलकुद विकास समिति, नेपाल कोरिया व्यापारिक एशोसिएसन, लगायत दर्जन भन्दा बढि संघ–संस्थाबाट उनी सम्मानित भईसकेका छन् ।

नेपाली कांग्रेसका महासमिति सदस्य, नेपाली जनसम्पर्क समिति कोरियाका सल्लाहकार समेत रहनुभएका क्षेत्रीले कोरियामा बसोबास गर्ने नेपालीहरुले स्थापना गरेका विभिन्न संघ संस्थामा बिभिन्न पदमा रहेर उच्च योगदान पु¥याउँदै आएका छन् ।

यस मानार्थ नागरिकताबाट पूर्व सम्मानित एनआरएन कोरियाका पूर्व अध्यक्ष राजु क्षेत्रीले कोरियन सरकारले प्रदान गर्ने यस्ता सम्मानले नेपाल र नेपालीको प्रतिष्ठालाई माथि उठाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरको बताए ।

क्षेत्री सहित यो मानार्थ नागरिकता पाउने नेपालीको संख्या ७ पुगेको छ । यस अघि केपि सिटौला, देन्जी शेर्पा, राजु क्षेत्री, जुनु गुरुङ्ग र हर्कबहादुर गुरुङ्ग (भिम गुरुङ्ग) र गम्भीरमान श्रेष्ठ ले मानार्थ नागरिकता प्राप्त गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस