१० वर्षीय श्रेया सुनारको बलात्कारपछि हत्या गर्ने कुसुमलाई आजीवन जेल सजाय

२०७५ पौष ५ , बिहीवार
Photo:Sudarshan Ranjit

पोखरा । कास्की पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रेया सुनारको बलात्कारपछि हत्या गर्ने कुसुम पौडेललाई जिल्ला अदालत कास्कीले आजीवन कैदको फैसला सुनाएको छ ।

न्यायाधीश योगेन्द्रप्रसाद शाहको इजलासले बुधबार स्याङ्जा स्थायी घर भई पोखरा– २२ पुम्दीभुम्दी बस्दै आएका २७ वर्षीय पौडेललाई जीवित रहेसम्म थुनामा राख्न आदेश दिएको कास्की जिल्ला अदालतका श्रेस्तेदार जगन्नाथ पौडेलले जानकारी दिए । अदालतले कुसुमलाई मंसिर १७ गते दोषी ठहर गरेको थियो ।

मुलुकी संहिता २०७५ मा बलात्कारपछि हत्यामा दोषीलाई जीवित रहेसम्म कैद गर्ने व्यवस्था भएअनुसार अदालतले पौडेललाई जीवित रहेसम्म कैद गर्न आदेश दिएको हो ।

१० वर्षीया बालिका श्रेयाको असोज ९ गते हत्या भएको थियो । घटनाको २४ घन्टा नबित्दै पौडेल पक्राउ परेका थिए । बलात्कार प्रयास गर्दा बालिकाले प्रतिकार गरेपछि घाँटी थिचेर हत्या गरेको उनले स्वीकार गरेका थिए ।

अघिल्लो दिनदेखि नै साथीहरुसँग मिलेर जाँडरक्सी खाएर बसेका कुसुमले असोज ८ गते साँझ साढे ५ बजेतिर बिस्कुट किन्न पसल गएकी श्रेयालाई चकलेट खाउ भनी ५ रुपैयाँ दिएको र फेरि अलि तल पुगेपछि १० रुपैयाँ दिन्छु भनि बोलाएर जबर्जस्तीको प्रयास गरेका थिए ।

जर्बजस्ती गर्न खोज्दा बालिकाले प्रतिकार गर्दै चिच्याउन थालेपछि झाडीमा धकेलेर दुवै हातले घाँटी थिचेको पौडेलले प्रहरीसमक्ष बयान दिएका थिए ।

बालिका बेहोस भएपछि कुसुमले ढुंगाले अनुहार र टाउकोमा हानेर हत्या गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस