‘मलाई नसोध, कहाँ दुख्छ घाउ!’

२०७६ बैशाख १९ , बिहीवार
दुर्गा कार्की/ आकाश सधैंझैं नीलो थियो। नीलो होइन, नीऽऽऽऽऽऽलो।

राति बेस्कन पानी परेको थियो।

राति पानी नपरेकै भए पनि आकाश नीऽऽऽऽऽऽलो नै हुन्थ्यो।

हिजो राति मोबाइलको बत्तीले टलक्क टल्किएको हिलोमा क्याचक्याच टेकेर म फोनको नेटवर्क खोज्दै पऽऽऽर थुम्कोसम्म पुगेकी थिएँ।

‘म सक्दो प्रयास गर्दैछु, तर ढुक्क हुनुस् भन्न सक्दिनँ।’

बीचबीचमा काटिएर आएको फोनमा यति सन्देश चाहिँ नकाटिइकन आयो। अन्तिम आशाको लहरो टुट्यो। मेरा आँखाबाट दुई डल्ला आँशु पुर्लुक्क गाला हुँदै झरे। उल्टो हत्केलाले गालाको आँशु पुछेर टुक्रुक्क भुइँमा बसेँ।

नजिकै टुटीबिनाको धारोमा हुत्तिहुत्ति आएको पानीले रातको शून्यतासँग विद्रोह गरिरहेजस्तो लाग्थ्यो।

दिउँसो परालको त्यान्द्रोजत्रो आउने पानीलाई हावाले उडाएर आफूसितै लान खोज्थ्यो। केटाकेटीहरू जर्किन, कित्ली र गाग्रो बोकेर धारा वरपर एकअर्कालाई धकेल्दै पालो कुर्थे। पानीको धारो हावाको पासोबाट फुत्किएर जर्किनको मुखमा फर्किने बाटो हेरिरहन्थे।

नजिकै कतै खच्चडले झिँगा धपाउँदा घाँटीको घन्टी बजायो। उसले सास फेर्दाको गह्रुँगो आवाजले सुनसान रातमा धाराको मनोमानीलाई टक्कर दिन खोजेजस्तो सुनिन्थ्यो। अलि परबाट एकोहोरो कुकुर भुकेको आवाज पनि आइरहेको थियो।

कुकुरको भुकाइभन्दा धेरै मधुरो थियो विक्रमको आवाज। शायद टावर भेटाएको मौकामा ऊ आफ्नी गर्लफ्रेण्डसँग साउती गरेर छोपिरहेको थियो। अथवा साथीसँग। गर्लफ्रेण्ड भएकी भए उसलाई छोडेर यति पर, यो अनकण्टारमा आउँदो हो?

सायद आउँदो हो। जीवनमा केटाकेटीबीचको प्रेमभन्दा महत्त्वपूर्ण पनि धेरै कुरा हुन्छन्, हुनुपर्छ।

उसको हकमा के थियो, थाहा छैन। उसले कहिल्यै गम्भीर भएर भनेन। मैले कहिल्यै गम्भीर भएर सोधिनँ।

हामी फर्कँदा लक्ष्मी दिदीलाई घेरेर साथीहरू भान्सामा हाम्रो खबर कुरेर बसिरहेका थिए।

‘आउने भयो?’

पुग्नासाथ एकै स्वरमा उनीहरूले सोधे। लक्ष्मी दिदीले उनीहरूकै प्रश्न मौन सापटी लिएर मपट्टि हेर्न ढोकातिर ज्यान ढल्काइन्।

करिब बीस दिनदेखि त्यही प्रश्नको उत्तर दिँदादिँदा म थाकिसकेकी थिएँ। सरासर कोठातिर हानिएँ।

बाहिर पानी दर्कियो, दरररर…। सोलारको मधुरो बत्तीमुनि खाटको खुट्टामा आड लागेर म रोएँ।

रुनुबाहेक म निरुपाय थिएँ।

रुनु पनि उपाय हुन्थ्यो भने सबभन्दा धेरै प्रयोग गरिने उपाय यही हुन्थ्यो, सायद।

एउटा समय थियो, जतिबेला रुनु पनि उपाय हुन्थ्यो। सायद, सबभन्दा प्रभावकारी नै।

‘अरू केही गर्न परेन, मा’रानीलाई, पिल्ल रोइदिए भैहाल्यो…’

पाहुनाले ल्याइदिएको नरिवलको टुक्रो वा बिस्कुट वा स्याऊ, यस्तै केही मतिर तेर्स्याएर हजुरआमा भन्नुहुन्थ्यो।

मस्त लय बसिसकेको रुवाइ टक्क रोकेर म हजुरआमाको बूढीऔंला, चोरऔंला र माझीऔंलाबीचको खानेकुरो च्याप्प समातेर आफूतिर तान्थेँ।

अनि हजुरआमा मलाई आफूतिर तानेर पहिले आँशु पुछिदिनुहुन्थ्यो। अनि नाकतिर हात लगेर मीठोसित हकारेको आवाजमा भन्नुहुन्थ्यो, ‘खान पाएसी त सिँगान पुछ्न नि पर्दोरइन्च लाफालाई। सिँ गर्!’

मलाई हजुरआमाको याद आयो। आफूले मुन्टो लुकाएर वा टाउको अड्याएर रोएका छाती र काँधहरूको याद आयो। तीमध्ये सबभन्दा धेरै आश्रय लिएको छाती र काँध उसको थियो। त्यही काँधको ऋण चुकाउन नपाएको दुःखमा रोइरहेकी थिएँ म, ऊदेखि धेरै पर।

‘कस्तो दिनमा आएछु…’

पेटैदेखि लामो सास तानेर दुवै हातले बेस्कन आँखा मिचेर मैले सयौंपटक आफैंलाई सोधें।

तर म आएको दिन निकै सुन्दर थियो। आएको हैन, आएका दिन।

काठमाडौंबाट हुम्ला आइपुग्न हामीलाई ठ्याक्कै साढे पाँच दिन लागेको थियो।

धनगढीसम्मको हवाइयात्रा, त्यसपछि दुई दिनसम्म सेती नदीकिनार हरिया फाँटका आलु र गहुँको भर्भराउँदो जवानी। अनि मारतडीमाथि गुराँसका फक्रँदो लालीमा हेर्दै तेस्रो दिनको साँझ हामी बाजुराको कोल्टी आइपुगेका थियौं।

मारतडीबाट जिपमा दस ठाउँ टाउको ठोक्दै कोल्टी ओर्लँदा साँझ पर्नै आँटेको थियो। रुखको सिंगै खाँबो तेर्स्याएर बनाइएको पुल तर्नासाथ अहिल्यै उडाउलाजस्तो हुरी चल्यो। हाम्रो अघिल्तिर सानो गाँठीका खिरिला गाईगोरुका पिठ्यूँमा सिर्कनुले हिर्काउँदै विभिन्न उमेरका गोठालाहरू घर दौडँदै थिए।

आँखा चिम्म गरेर त्यतिबेला मैले बतासलाई मन लागुञ्जेल मेरा अनुहार र शरीरमा हिर्काउन दिएकी थिएँ।

मलाई जाँच्नु थियो, बतासको कठोरता। मेरो कठोरता। र, भन्नु थियो उसलाई, ‘देख्यौ, म तिमीलाई चिन्दछु, केटाकेटीदेखि नै।’

कोल्टी बजार पुग्नुअघि हामी हिँडेको बाटोको दाहिनेतिर परपरसम्म फैलिएको फाँटमा भर्खर वैंश पसेका गहुँका कलिला हरिया डाँठ लहाराइरहेका थिए। लाग्यो, हरियोजति मायावी र जादुयी संसारमा अरू रङ नै छैन।

कोल्टी बजार अजंगको नांगो पहाडको भित्तामा आड लागेर बसेको थियो, बजारलाई पहरा दिएजसरी।

‘यो पहाडको अर्कोपट्टि के छ, बा?’ ऊनको डल्लोबाट धागो कात्दै हिँडिरहेका एकजना बाबैलाई मैले सोधेकी थिएँ।

‘क्या हुन्या हुन् र अरू? यस्तै अर्को पहाड हुन्या हुन्।’ मेरो हुलिया र प्रश्नको प्रकृति हेरेर उनी मेरो ठेगाना जान्न हतारिएका थिए।

मलाई कोल्टीको पहाड भने साँच्चै मनपरेन। रातैभर कसैले थिचिरहेजस्तो, अनावश्यक पहरा दिएजस्तो लागिरह्यो।

भोलिपल्ट खाना खाइवरी हिँड्ने बेला छेवैकी हजुरआमालाई सोधें, ‘काँ गएसी सक्किन्छ यो पहाड, आमै?’

चर्खामा हातोले हिर्काउँदै मतिर हेर्दा पनि नहेरी उनले भनिन्, ‘यी पहाड? यी त काहीँ गएनी नसक्किन्या हुन्।’

उनको भनाइको मतलब बुझ्न मलाई लगभग आधी दिनै लाग्यो। कोल्टीको पहाड हुम्ला पुगुञ्जेल पनि सकिएन। बरु हाँगा हालिरह्यो। कतै चट्टान भएर, कतै थुम्का त कतै डाँडा। शिशिरका नांगा हाँगा। उजाड, निरस, निर्जन र निर्जीव।

म बुझ्दै थिएँ, कर्णालीको पर्याय रहेछ पहाड।

कोल्टीको बजार छिचोलेर अलि वरै आइपुगेपछि छिप्पिँदै गरेको बिहानी घामले व्याकुल बनाउनै लागेको बेला देखेकी थिएँ मैले उसलाई।

नीऽऽऽलो, विशाल, शान्त र अद्भूत। हिँड्दाहिँड्दै टक्क अडिएर त्यतिखेर मैले कर्णालीलाई आँखा नअघाउञ्जेल हेरेकी थिएँ। अबको बाटो यही सुन्दर नदीको तिरैतिरै हो भन्ने सुनेर मेरा नसा-नसा उत्साहले फूलेका थिए।

चैतमासको चरक्क चर्को घाम। जुत्ताको ढ्याप्प-ढ्याप्पपिच्छे बुङबुङ उड्ने कच्ची रोडको धूलो। घामले डढ्छु कि भन्ने पीरले विन्डचिटरदेखि सल, क्याप र चस्माले गुथेको शरीरभित्र उर्लिएको पसिनाको मूल।

तर पनि मेरा पाइला अडिन मानेका थिएनन्। ती अडिन्थे त केवल बाटोछेउका स-साना अस्थायी झुप्राका ढोकामा गोलो पारेर धागोमा झुण्ड्याइएका माछाका टुक्रा खान।

हिँड्दै गर्दा बेलाबेला म टक्क अडिएर कर्णालीलाई हेर्थेँ। उसको विशाल छातीमा हाम्फालिरहेका नांगा ज्यान म उभिएको ठाउँबाट कमिलाजत्रै देखिन्थे। म ती दृश्य मोबाइलको क्यामराबाट जस्ताको तस्तै कैद गर्न चाहन्थेँ। तर डिजिटल जुममा ती एनिमेटेड आकृतिजस्ता देखिन्थे। बरु खाली आँखाले मात्र हेर्नमा जाती ठानेँ।

त्यसपछि लाग्यो, कर्णालीलाई जस्ताको तस्तै कैद गर्न संसारको जतिसुकै अत्याधुनिक क्यामराले पनि सक्दैन। कर्णालीको आफ्नै छुट्टै रङ छ, लय छ, गति छ। ती सोझै आँखाले मात्र हेर्न सकिन्छ। सोझै कानले मात्र सुन्न सकिन्छ। स्वयं उपस्थित भएर मात्र कर्णालीको सुन्दरता सिंगै, सग्लै, जस्ताको तस्तै अनुभूत गर्न सकिन्छ। अरू सबै झूट हुन्, भ्रम हुन्।

‘नगए हुन्न? यतै अरू काम पनि त पाइहालिन्छ नि!’ उसले रुन्चे अनुहार लाएर भनेकी थिई।

उसलाई थाहा थियो, यो मेरा लागि काम थिएन, रहर थियो। अवसर थियो। सायद त्यसैले यति मात्र भनी, ‘नजाऊ’ भन्न सकिन।

तर आमाले मुखै फोरेर नजा भन्नुभएको थियो। आमालाई थाहा थिएन, यो मेरा लागि काम थिएन, रहर थियो। थाहा हुन्थ्यो भने पनि मेरो सुरक्षाको चासो र चिन्ताको अघि आमालाई मेरो रहरको उति मतलब पनि थिएन।

आमालाई त्यतिको अबुझ बनिदिने छुट थियो, हुँदो रहेछ।

मेरा अघिल्तिर अघिसम्म लय, संगीत, गति र रङले लठ्याएर मलाई एकतर्फी प्रेममा पारिसकेको कर्णाली कालसरी फणा फैलाएर बसेको थियो।

कर्णाली राजमार्ग बनाउने क्रममा डाइनामाइटले चट्टान फोरेका कतिपय ठाउँमा मान्छे हिँड्ने बाटोको नामोनिशान थिएन। बाटो खन्दा पहिरो झरेको भित्तामा अड्किएका एक-दुई ढुंगा टेकेर हामीलाई उतापट्टिको बाटोसँग जोडिनु थियो।

दाहिनेपट्टि बडेमानको कर्णाली बेपर्वाह बगिरहेको थियो। टेकेको ढुंगा अलिकति मात्रै घ्यार्र हुने हो भने पनि सिधै कर्णालीले निल्थ्यो।

बाटो बनाइरहेका मान्छेले हात दिए। तिनै ढुंगाको भर परेर पारि पुगिसकेका हाम्रा भरिया दाइहरूले आँट दिए। अघि बढ्नुको विकल्प थिएन।

एकजना दाइको हात दह्रोसित समातेर म अघि बढेँ। सुरूको ढुंगा अडियो, दोस्रो ढुंगा घ्यारर गर्यो र बुङबुङती धूलो उडाउँदै सिधै कर्णालीमा हाम्फाल्यो।

‘ए…ए…ए…’ बाटो कट्न बाँकी र कटेर अर्कोपट्टि रमिता हेरिरहेकाहरू आत्तिएर एकैचोटी कराए। मेरो हंषले ठाउँ छोड्यो। हठात् माथ्लोपट्टिको अलिकति बाहिर उछिट्टिएको ढुंगो समाउन पुगेछु र अघिल्लो ढुंगोसँगै धस्सिइन।

त्यसपछि अर्कोपट्टिका साथीहरूले ताने। लगलग कामेका गोडाले भर दिएनन्। थचक्क भुइँमा बसेर क्वाँक्वाँ रुन मन लाग्यो।

रुने फुर्सद थिएन। अर्कोपट्टि अरू तीन जना साथी र एक जना सर बाँकी नै हुनुहुन्थ्यो। उनीहरूलाई वारि ल्याउन आँट दिनु थियो।

ढुंगाले भर नदिने थाहा पाएपछि कसैले कतैबाट डोरी निकाल्यो। एक छेउ पारि कटिसकेकाले समाते, अर्को छेउ वारि अड्किएकाको लागि फालिदिए। त्यही डोरीमा जीवन नामको ४५/५० केजीको ज्यान झुण्ड्याएर अन्य साथीहरूले पहिरो बाटो कटे। मेरा कान अघि गुड्गुडिएको ढुंगा भीरमा ठोक्किँदाको आवाजले अझै बजिरहेका थिए।

सबै आइपुगेपछि पाइला चाल्नै लाग्दा मैले पछाडि फर्केर त्रसित नजरले कर्णालीलाई हेरेँ। पारिजातको ‘शिरीषको फूल’का सुनगाभाजस्तै ऊ आफ्नो सुन्दरतामा कपटता र निष्ठुरता लुकाएर अदृश्य मुख बाउँदै बगिरहेको थियो।

कर्णालीले आजसम्म कतिलाई निल्यो होला? त्यही बाटो दिनहुँजसो सामलतामल लिएर कोल्टीको बजार ओहोरदोहोर गर्नेहरूको कहर सम्झेर मेरा गोडा फेरि काँपे।

एउटा आधा ढलेको रुखनेर झोला फालेर म भुइँमै लमतन्न पसारिएँ। आकाश नीलो थियो। पर डाँडामुन्तिर बादलका सेता थुप्राहरू घामले कत्ति नपोलेजसरी टसमस नभएर बसिरहेका थिए। कान हुँदै घाँटीसम्म बगेर आइपुगेका मेरा आँशुले भनेका कथा तिनले सुने होलान् र?

‘के भो, दुर्गा?’ मभन्दा अघि आएर आराम गरिरहेको साथीले सोध्यो।

बोल्न मन लागेन। ‘केही भा’छैन’ को मुन्टो मात्र हल्लाएँ। अलि सम्हालिन पाएकी थिइनँ, कोल्टीवरपर हुरीबतासले टावर बिगारेर लगभग डेढ दिन सम्पर्कमा नरहेकी छोरी अब सिद्धिई भनेर रातभर नसुतेकी आमाले फोन गरिन्।

हैन यी आमाहरूले छोराछोरी संकटमा भएको कसरी थाहा पाउँछन्, हँ?

‘काँ पुगिस्? कतिबेला पुग्छौ? बाटो कस्तो छ?’ आमाका प्रश्न ओइरिए।

‘झण्डै मरिनँ ममी’ भन्न मन थियो। ‘कस्तो अप्ठ्यारो बाटो रै’छ, तपाईंले नजा भन्नुभाथ्यो, नआउनुपर्ने रै’छ’ भनेर नाक बजाउन मन थियो।

भनिनँ।

त्यसो भन्यो भने आमाले अर्कोचोटि त्यसरी पठाउनुहुन्थेन। त्योभन्दा ठूलो कुरा, आमा अर्को रात पनि सुत्नुहुन्नथ्यो। म उहाँलाई लगातार दुई रात अनिँदो राख्न सक्तिनथेँ।

साथीहरू डोरीमा झुण्डेर पारि आएको भिडियो खिचेकी थिएँ। सोचेकी थिएँ, घर फर्केपछि ती भिडियो देखाएर आमालाई भन्छु, ‘हेर्नु त ममी…’

बसिरहेको ठाउँबाट एक्कासि ज्यान उचालेर लामो लेग्रो तान्दै सायद आमा भन्नुहुन्थ्यो, ‘ए मेरी आमा होऽऽऽऽऽऽ…यस्तो बाटो हिँडेर ग’का तिमारू…राम, राम, राम, राम…।’

दुःखको कुरा, हुम्ला पुगेको दुई दिनमै मेरो फोन कसरी-कसरी रिबूट भइदियो। टोलीमा नछुटौं भनेर मैले अघिअघि दौडेर खिचेका बुलाकी, कानका झुम्की, खच्चडका पदचाप, माछाका माला, सिमलका राता फूल, भेडाका बथान, सिउँडीका काँडा, कर्णाली पारि भीरको चट्टानमा खोपिएको एक बित्ते बाटो, देउरालीका ढुंगामा खोपिएका पिरतीका गाथा, सबका सब मेरो सम्झनाको क्यानभासमा मात्र रहिरहे, मधुरो।

सायद कर्णाली यात्रा मसित अर्ग्यानिक मेमोरीमा मात्र रहन चाह्यो, चाहे त्यो मधुरा धर्साहरूमा नै किन नहोस्। केही समयपछि मैले पनि त्यसलाई सहर्ष स्वीकारिदिएँ।

सामान लिन ठाडै ओरालो गर्वार्ग्वार्ती झरेका खच्चडलाई कुरिरहेजस्तो लाग्ने कर्णाली देखेर खुट्टा कपाउँदै, छङ्गाछुर भीरको एक बित्ते बाटोमा काँडा पाए काँडा, झार पाए झारलाई च्याप्प समातेर पाइला नाप्दै पुगेकी थिएँ म, दक्षिणी हुम्ला, आजभन्दा करिब एक वर्ष अगाडि।

झारजस्तै लाग्ने बाटैदेखि उम्रेका बेथेका साग र सिस्नुका झ्याङ अनि पानी नपाएर कोल्टीको जस्तो वैंश हाल्न नपाएका गहुँका डाँठले गाउँ पुग्नासाथ हामीलाई आफ्नो गच्छेअनुसारको स्वागत गरेका थिए।

‘तीन हप्तामा काठमाडौं फर्किहाल्छु नि’ भनेर हिँडेकी थिएँ म। तर बाटोको हालत र आउनजान लाग्ने समयको हिसाबकिताब गरेर हामीले तीन हप्तालाई तन्काएर तीन महिना बनाइदिएका थियौं।

करिब एक महिनापछि फोनमा उसले भनेकी थिई, ‘कान्छु, असारको १२ गते बिहे फिक्स भयो नि।’

उसले त्यसो भन्दा म एकैचोटि खुसी र नर्भस भएकी थिएँ। अल्लारे छँदा कुनैबेला हामीले एकअर्कासँग छुट्टिनु नपरोस् भनेर एउटै केटासँग बिहे गर्ने योजना समेत बनाएका थियौं।

आज म कहाँ थिएँ, ऊ कहाँ थिई र आफ्नो प्रिय साथीसित भोलि कहाँ-कहाँ हुने सपना बुन्दै थिई। र, पनि जीवन रोकिएको थिएन। न उसको, न मेरो। अनि म नगए पनि उसको बिहे रोकिन्थेन, मलाई थाहा थियो।

तर म जान चाहन्थेँ। मेरी बालसखी, दौंतरी र उमेरले दिदी अनि परिपक्वताले बहिनी, मेरी प्रिय साथी बिहेको पहिरनमा सजिएको आफ्नै आँखाले हेर्न चाहन्थेँ। त्यतिका लागि म एक्लै काठमाडौं फर्कनु लगभग असम्भव थियो।

त्यसको केही दिनमै उसले सुनाई, ‘कान्छु, हजुरबुवा साह्रै हुनुहुन्छ। केही तलमाथि भइहाल्यो भने एक वर्ष केही गर्न हुन्न भनेर बिहेको डेट अघि सार्न लाउनुभयो ममीबुवाले।’

‘कहिले?’ मैले सशंकित भएर भनेँ।

‘वैशाखको २८,’ उसले पनि सशंकित भएरै भनी।

म एकछिन केही बोलिनँ। मनमनै छिट्छिटो नेपाल बार काउन्सिलको अधिवक्ताको परीक्षाको रिजल्ट आउने मिति र बिहेको मितिको तालमेलको हिसाब गर्दै थिएँ, उसैले बोलाई, ‘कान्छु?’

‘हँ?’

‘आउँछ्यौ नि?’ नाइँ नभन्दियोस् जसरी उसले भनी।

‘आउँछु।’ नाइँ भन्न नसकेर मात्र भनेजसरी मैले भनेँ।

मैले त्यसो भनेको लगभग बीस-बाइस दिनपछि उसको बिहे थियो। बारको रिजल्ट मितिबारे बुझ्न परीक्षा समितिका मान्छेसित खोजिनिती गरेँ, उनीहरूले बिहेकै वरिपरि रिजल्ट आउने कुरा गरे। बिहेमा नगए पनि मलाई बारको अन्तर्वार्ताका लागि केही दिनमा काठमाडौं जानै पर्थ्यो। म दुवैलाई मिल्ने गरी जान चाहन्थेँ। बस्, लोभ त्यत्ति थियो।

गाउँपालिकाको लघु जलविद्युत आयोजना लगभग अन्तिम चरणमा पुगेको थियो। बिजुलीका पोल गाडिँदै थिए, तार टाँगिदै थिए। तर सामान ढुवानी मान्छेले गर्न सम्भव थिएन। गाउँपालिका अध्यक्ष त्यसैका लागि अघिल्लोपल्ट पनि हेलिकप्टरमा केही सामान लिएर आएका थिए। फेरि अर्को लट सामान लिएर हेलिकप्टर गाउँ आउने हल्ला चलेको महिनादिन जस्तै भइसकेको थियो।

‘आउँछ आउँछ, बैनी। पीर नलिनुस्। एक्लो मान्छे, काँ त्यत्रो बाटो हिँडेर जानी?’ उनले त्यसो भन्दा मेरो छातीमाथिबाट एउटा गह्रुँगो ढुंगो झिकेजस्तै भएको थियो।

दुई-तीन दिन बिराएर कहिले आउँछ, वा आउन त आउँछ नि, भन्दै फोन गर्दा पनि उनी कत्ति झिँजो नमानी ढाडस दिइरहन्थे। पार्टीका प्रभावशाली नेता, उनको कुरा नपत्याउने कुरा पनि भएन। फेरि हेलिकप्टरजस्तो कुरा, गराजबाट बाइक झिकेर हिँडेजस्तो सजिलो थिएन।

समस्या भए होलान्, मनलाई थपथपाइरहेँ, त्यो दिनसम्म, जुन दिनबाट हिँडेर जाने उपाय पनि सकियो।

क्याचक्याच हिलोमा लाइट बालेर रातिको नौ बजे फोनको नेटवर्क खोज्दै थुम्कामा म त्यसपछि नै पुगेकी थिएँ।

त्यस रात पानीको दरररसँगै घुँक्कघुँक्क गर्दै एकछिन रोएपछि मन हल्का भयो। हातमा नरिवलको टुक्रो बोकेर हजुरआमा प्रकट नभए पनि रुनु अझै उपाय रहेछ भनेर मैले त्यतिबेलै थाहा पाएँ। मन हल्का गराउने योभन्दा बलियो उपाय अरु के हुनसक्छ?

आँशु पुछेर खाटमा बसेकी मात्र थिएँ, मन एकतमास भो। अनौठो खालको जब्बर अनि मूर्ख सोच आयो। उठेर सरासर झोला प्याक गरेँ। कोसेली लान भनेर हप्तादिनअघि किनेको सिमीको पोको हालेँ। केही जोर लुगा हालेँ। प्रियंका ढोका खोलेर भित्र पस्दा मेरो पुट्ट झोला अहिल्यै हिँडुलाझैं ठिंग उभिइरहेको थियो।

उसले सुरूमा ट्वाँ परेर पहिले मेरो मुख र पछि झोला हेरी। अनि एकाएक खुसी भएर सोधी, ‘आउने भयो, होऽऽऽ?’

‘छैन। तै पनि आइहाल्छ कि भनेर।’

मेरो उत्तरले उसलाई त्यतिखेर मप्रति माया जाग्यो वा दया म जान्दिनँ। तर भोलिपल्ट जब हेलिकप्टर आउने भयो भन्ने खबर पाएर म खुसीले उफ्रिएँ, ऊ पनि सँगसँगै उफ्रिएकी थिई। हामी लामो समयपछि भेट भएका मिल्ने साथी जसरी अँगालो हालेर चिच्याएका थियौं। हाम्रो आवाजले कोठाभित्र डोरोमा टाँगिएका हाम्रा भित्री लुगादेखि काठमाडौंबाट झोलाको अन्तरकुन्तरमा कोचिएर हुम्ला हेर्न आइपुगेका हाम्रा खादा पनि झस्केका थिए होलान्।

त्यसपछि गाउँछेउको ठूलो ढुंगामा चढेर प्रियंका र मैले आकाश रुँगेका थियौं।

नीलो आकाशको किनारामा विभिन्न आकारका सेतो बादलका थुम्का गुजुप्प मिलेर बसेका थिए, कथा सुन्न हजुरआमाको वरिपरि थुप्रिएका पोक्चा, खाइलाग्दा, चञ्चल केटाकेटीजस्ता।

हुम्ला आउनुअघि मैले जिन्दगीमा त्यति नीलो आकाश देखेकी थिइनँ। त्यति सेता र खुसी बादल पनि देखेकी थिइनँ। तिनै बादलका थुम्कालाई उधिनेर जुनसुकै बेला मेरो टाउकामाथिको आकाशमा एउटा हेलिकप्टर देखा पर्न सक्छ भन्ने सोच्दा मात्रै पनि मेरो शरीरमा तलदेखि माथिसम्म सुइरोजस्तो केही चीज सररर दौडन्थ्यो।

अध्यक्षले हामी हिँड्यौं भनेपछि स्वास्थ्य चौकीको पेटीमा उभिएर हेलिकप्टर कुर्दै गर्दा मलाई लाग्यो, म नचिताएको खुसी र उत्साहले बिरामीजस्तै बन्दैछु। स्वास्थ्य चौकीमा म धेरैबेर उभिइरहन सकिनँ।

जब भ्याटभ्याटभ्याट पंखा फट्फटाउँदै रातो रङको हेलिकप्टर एक्कासि आकाशमा देखापर्यो, मैले मन थाम्न सकिनँ। कुन लहडमा आएर मैले हिजो राति झोला प्याक गरेकी थिएँ? मभित्रको कुन मूर्खता र पागलपनले मलाई त्यसो गर्न लगाएको थियो? के यो सिर्फ संयोग मात्र थियो? वा सकारात्मक सोचको तागत साँच्चिकै यति बलियो हुन्छ? कि संसारमा भगवान्, भाग्य वा लेखान्त भन्ने पनि साँच्चिकै हुन्छ?

यी प्रश्नको उत्तर म आज पनि खोजिरहेकी छु। सायद जीवनभर नै खोजिरहनेछु, आम मानिसजस्तै।

उड्नुअघि रुन्चे अनुहार लाएर मैले अध्यक्षलाई धन्यवाद भनेकी थिएँ। उनले मेरो धन्यवादको वजन महशुस गरे गरेनन्, तर जीवनमा म त्यति धेरै धन्य निकै कम मान्छेप्रति मात्रै भएकी छु।

टेक अफ गरेर उचाइ लिँदै गर्दा स्वास्थ्य चौकीका मान्छे क्रमशः मसिना हुँदै गए। मैले हेर्दाहेर्दै गाउँपालिको अफिस, हामी बस्ने घर, प्रियंका, अघि हामी बसेको ठूलो कालो ढुंगो, एफएमको घर, हेलिप्याड, कर्णाली नदी बिस्तारै पर हुँदै गए। ‘म तिमीहरूलाई भेट्न फेरि आउनेछु,’ मैले भावुक हुँदै मनमनै भनेँ। मेरा आँखा फेरि भरिए। यसपालि खुसीले, मात्र खुसीले।

जीवनमा पहिलोपटक हेलिकप्टर चढेकी थिएँ। हावाको कमी बिर्सिदिने हो भने आकाशमाथि-माथि बाइकमा हिँडेजस्तै भइरहेथ्यो मलाई। हेलिकप्टरको ठूलो झ्यालबाट देखिएका दृश्य मैले पहिलोपटक कर्णालीलाई देख्दा टक्क अडिएर गम खाएजस्तै सुन्दर थिए।

म खुसी हुन सक्थेँ, तर खुसी देखिन सक्थिनँ। यो कुन नदी रहेछ भनेर सोच्न सक्थेँ, सोध्न सक्थिनँ। कर्णाली साँच्चै नै पहाडैपहाडका लहराको अद्भूत पहेली थियो। सायद देशको धेरैजसो भूभाग नै त्यस्तै थियो। पाइलटलाई थाहा हुँदो हो, तर म सोध्न सक्थिनँ। किनकी, उनको नजरमा म बिरामी थिएँ।

सुर्खेत ओर्लँदा गोडा लुला भएका थिए। मोबाइलमा सर्लक्क उभिएका पाँचवटै टावर अघिल्तिरका थ्रीजी सिग्नलसहित बडो ठाँटसित उभिएका देखिन्थे। ओहो, यति सुविधाका लागि कत्रो मूल्य तिर्दैछन् हुम्लाका मानिसहरू? सोचेर मन भरंग भयो।

जीवनको पहिलो हेलिकप्टर यात्राले मेरो जीवनमा यसपछि थुप्रै अरु घटना तथा परिघटनालाई जन्म दियो। ती कुरा लेखिन तिनलाई अझै पुराना हुन दिनुपर्छ, पाक्न दिनुपर्छ। तिनलाई वस्तुगत रूपमा हेर्न म अझै छिप्पिनुपर्छ।

म काठमाडौं झरेको केही दिनमा हुम्लाबाट प्रियंकाले खबर पठाइन्- गाउँको कुनै मान्छेले हिजो मात्र बेस्कन पेट दुख्यो भनेर स्वास्थ्य चौकीबाट औषधि लिएर गएको थियो। गाह्रो भइरह्यो भने भोलि हेलिकप्टर बोलाउने कुरा थियो, बिहान उठ्दा त ओच्छ्यानमै मरिरहेको रहेछ।

त्यतिबेला मन स्याइँय्य भएर आएको थियो। हिजो मात्र हुम्लाकै अर्को छिमेकी गाउँपालिकामा गर्भ तुहिएर अत्यधिक रक्तश्राव भएकी महिलाको ज्यान हेलिकप्टर आउने आशाको त्यान्द्रोमा झुण्डिरहेको खबर सामाजिक सञ्जालमा देखेँ।

विशुद्ध आशा र रामभरोसाका यी त्यान्द्रोहरू कतिले उनीहरूलाई तारेर पारि पुर्याए होलान्? कतिले कर्णालीले जस्तै सर्लक्क निले होलान्? अझै कतिले निल्ने होलान्?

जब यी कुरा गम्छु, मनै हुरुक्क भएर आउँछ। भावनामा बहेर सोध्न मन लाग्छ, ‘ए कर्णालीका पहाडहरू हो, जसलाई तिमीहरूले आफ्नो छातीमाथि उभ्याएका छौ, उनीहरूमाथि नै तिमीहरू यति कठोर किन?’

पहाडहरू त के बोल्थे र? बस्, चुपचाप, थकित, विवश, टुलुटुलु हेरिरहन्छन्। कताकता सुसेलीरहेजस्तो लाग्छ, ‘मलाई नसोध, कहाँ दुख्छ घाउ…’

बोल्न सके उनीहरू भन्दा हुन्, ‘ए अबोध केटी, के तलाईं थाहा छैन, हाम्रो निहुँमा हाम्रा मान्छेहरूमाथि कठोर को बनिरहेको छ?’

Source:Setopati.com/original Link:-https://setopati.com/opinion/179779

प्रतिक्रिया दिनुहोस