भारोत्तोलनमा नेपाललाई दोहोरो स्वर्ण

२०७६ मंसिर् २१ , शनिबार

पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले दोहोरो स्वर्ण जित्न सफल भएको छ। पुरुष ८९ केजी तौल समूहमा नेपालका विकास थापाले शुक्रबार स्वर्ण जित्न सफल भएका हुन्। यसअघि बिहीबार सञ्जु चौधरीले महिलातर्फ ५९ केजीमा स्वर्ण जित्दै इतिहास रचेकी  थिइन् ।
नेपाल प्रहरीका विकास थापाले स्न्याचमा १ सय २३ र क्लीन एण्ड जर्कमा १ सय ४६ सहित कुल २ सय ६९ केजी भार बहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भंग गरे ।

छनोट चरणमा उनको नाममा स्न्याचमा १ सय २२ र क्लीन एण्ड जर्कमा १ सय ४२ सहित २ सय ६४ केजीको रेकर्ड रहेको भारोत्तोलन प्रतियोगिताका प्रवक्ता रुकेश तण्डुकारले बताए । थापा१२ औं संस्करणका रजत विजेता पनि हुन् । ८९ केजी तौल समूहमा बंगलादेशका खेलाडी मो सकायत हुसेनले रजत जिते ।

उनले स्न्याचमा १ सय २३ र क्लीन एण्ड जर्कमा १ सय ४५ गरी कुल २ सय ६८ केजी तौल उठाउँदै रजतमासीमित भएका हुन् । प्रतियोगितामा भाग लिएका पाकिस्तानी खेलाडी अबुर रहमान बिरामीले खेल्न सकेनन् । यस्तै, ८१ केजी तौल समूहमा पाकिस्तानका हैदर अलिले स्वर्ण पदक जित्न सफल भए ।

उनले स्न्याचमा १ सय ४२ केजी र क्लीन एण्ड जर्कमा १ सय ७६ केजी गरी ३ सय १८ केजी भार बहन गरे । भारतका अजय सिंहले स्न्याचमा १ सय ४० केजी र क्लीन एण्ड जर्कमा १ सय ७६ केजी गरी ३ सय १६ केजी भार बहन गरे । श्रीलंकन खेलाडी भिसिजि विदाब्गेले कास्य पदक हात पारे ।

उनले स्न्याचमा १ सय २८ केजी र क्लीन एण्ड जर्कमा १ सय ६० केजी गरी २ सय ८८ भार बहन गरे । जितपछि विकासले देशलाई स्वर्ण दिलाउन सफल भएकोमा खुसी लागेको प्रतिक्रिया दिए ।

साग इतिहासमै नेपालले भारोत्तलनबाट सर्वाधिक पदक जित्न सफल भएको छ । जारी संस्करणमा पनि नेपालको पदक संस्था २ स्वर्ण सहित ६ कास्य पुगिसकेको छ ।

पोखरा १२, माटेपानीस्थित एसआर केसी बैंक्युटमा शुक्रबारकै खेलमा नेपालका तर्फबाट कमलबहादुर अधिकारी (६७ केजी), प्रकाश केसी (७३ केजी), राज्यलक्ष्मी थापा (७१ केजी) र देवी चौधरी (६४ केजी) ले कास्य जितेका छन् । बिहीबारको खेलबाट सञ्जु चौधरीले स्वर्ण सहित संगीता राई (४५केजी) र तुलाराम महतो (५५ केजी) ले कास्य जितेका थिए ।

चार दिनसम्म चल्ने भारोत्तोलन प्रतियोगितामा महिला पुरुषतर्फ १०÷१० इभेन्ट्समा २० स्वर्णका लागि खेल हुनेछ । हालसम्म १२ वेट समूहमा खेल सम्पन्न भैसकेकोमा अब ८ वटा वेट समूहमा खेल हुन बाँकी छ ।

अधिकारी दम्पत्तिलाई कास्य
१३ औं साग भारोत्तोलन प्रतियोगितामा नेपालका कमलबहादुर अधिकारी दम्पत्तिले कास्य पदक हात पारेका छन् । साग भारोत्तोलनमा अघिल्लो संस्करणसम्म एकमात्र स्वर्णविजेता कमलले जारी संस्करणअन्तर्गत शुक्रबार पुरुष ६७ केजी तौल समूहमा कास्य जितेकोमा उनकी धर्मपत्नी राज्यलक्ष्मी थापाले पनि कास्य पदक नै जित्न सफल भइन् । महिला ७१ केजी तौल समूहमा राज्यलक्ष्मीले कास्य पदक जितेपछि साग भारोत्तोलनमा सम्भवतःदम्पत्तिलाई कास्य पहिलो पटक हो । १० औं संस्करणका स्वर्णविजेता कमल १३औं मा पुरुष ६७ केजी तौल समूहमा कास्यमा सीमित भएका छन् ।

प्रहरीकी राज्यलक्ष्मीले स्न्याचमा ६७ र क्लीन एण्ड जर्कमा ८३ सहित कुल १ सय ५० किलो भारउठाउँदै कास्य जितेकी हुन् । यस्तै सो स्पर्धामा भारतले स्वर्ण र बंगलादेशले रजत पदक जितेको छ ।

भारतकी मनप्रित कौरले स्न्याचमा ८५ र क्लीन एण्ड जर्कमा १ सय ०७ गरी कुल १ सय ९२ किलोभार बहन गरी स्वर्ण जितेकी हुन् । बंगलादेशकी रोकेया सुल्तान साठीले स्न्याचमा ७० र
क्लीन एण्ड जर्क विधामा ८५ गरी कुल १ सय ५५ किलो बहन गर्दै रजतमा सीमित बनिन् ।
उता, महिला ६४ केजी तौल समूहमा नेपालकी देवी चौधरी यसपालि पनि कास्य पदकभन्दा माथि
उठन् सकिनन् । नेपाल प्रहरीमा आबद्ध उनले १२ औं संस्करणमा नेपाललाई कास्य
दिलाएकी थिइन् । यसपालि उनले १ सय ५३ किलो तौल उठाउँदै कास्य जितेकी हुन् । उनले
स्न्याचमा ६८ र क्लीन एण्ड जर्कमा ८५ किलो तौल उठाइन् । सो तौल समूहमा भारतले नै
स्वर्ण जित्न सफल भयो ।
भारतकी राखी हल्डरले स्न्याचतर्फ ९० र क्लीन एण्ड जर्कमा १ सय १० गरी २ सय किलो
उठाउँदै शीर्ष स्थानमा रहिन् । यस्तै, श्रीलंकाकी भी। हर्षिकाले रजत जितिन् । उनले
स्न्याचमा ७० र क्लीन एण्ड जर्कतर्फ एक सय गरी कुल १ सय ७० किलो भार बहन गरिन् ।
स्वर्णविजेता कमल कास्यमा सीमित
साग भारोत्तोलनमा अघिल्लो संस्करणसम्म एकमात्र स्वर्ण विजेता नेपालका कमलबहादुर
अधिकारी जारी १३ औं संस्करणको भारोत्तोलन प्रतियोगितामा कास्यमा सीमित भएका छन् ।
शुक्रबार पुरुष ६७ केजी तौल समूहअन्तर्गत कमलले कुल २ सय ५२ केजी तौलमात्र
उठाउन सके । उनले स्न्याचमा १ सय १२ र क्लीन एण्ड जर्कतर्फ १ सय ४० तौल गरी कुल २
सय ५२ तौल भार बहन गरेका हुन् । पाकिस्तानी र श्रीलंकन खेलाडीको स्न्याचमै बढी
लिफ्ट आएपछि कमल क्लीन एण्ड जर्कमा दबाबमा परेका थिए ।
प्रतियोगितामा पाकिस्तानका ताल्हा तालिवले स्न्याचमा १ सय ४० र क्लीन एण्ड जर्कमा १ सय ५२
गरी कुल २ सय ९२ तौल उठाउँदै स्वर्ण जिते । यस्तै श्रीलंकाका जेएसी लाक्मलले
स्न्याचमा १ सय १९ र क्लीन एण्ड जर्कमा १ सय ४४ गरी कुल २ सय ६३ तौल उठाउँदै रजत
जितेका छन् । प्रतियोगितामा पहिलो सहभागिता जनाएको भुटानका तर्फबाट वीरबहादुर लिम्बु
चौथो भए ।
शुक्रबार नै पुरुष ७३ केजी तौल समूहमा नेपालले अर्को कास्य जित्न सफल भएको छ ।
नेपालका प्रकाश केसीले कास्य जित्न सफल भएका हुन् ।
प्रतियोगितामा भारतका अचिन्ता सेउलीले स्वर्ण र पाकिस्तानका अबु सुफयानले रजत पदक जितेका
छन् । भारतीय खेलाडीले स्न्याचमा १ सय ३५ र क्लीन एण्ड जर्कमा १ सय ६५ गरी कुल ३ सय
केजी तौल उठाउँदै स्वर्ण जितेका हुन् ।
यस्तै पाकिस्तानी खेलाडीले स्न्याचमा १ सय २८ र क्लीन एण्ड जर्कमा १ सय ५१ गरी कुल २
सय ७९ तौल उठाउँदै रजत र नेपालका प्रकाश केसीले स्न्याचतर्फ १ सय १५ र क्लीन एण्ड
जर्क विधामा १ सय ५० गरी कुल २ सय ६५ तौल उठाएका हुन् ।

प्रतिक्रिया दिनुहोस