छैठौ छपेली सेभेन ए साइडको चौथो दिन चार खेल सम्पन्न,दर्शकले बारीको कान्लामा बसेर फुटबल खेलको मज्जा लिए

२०७६ पौष २६ , शनिबार

सुरज श्रेष्ठ,तनहुँ । जारी छैठौ छपेली सेभेन ए साइड फुटबल प्रतियोगिताको आज चौथौ दिन शनिबार चार खेल सम्पन्न भएको छ ।शनिबार सम्पन्न खेलमा सामना युवा क्लब तुरतुरे,न्यू बुद्ध युवा क्लब नयाँबस्ती, कालिका युवा क्लब नारेश्वरटार र चमुण्डा युवा क्लब सिमलटारले जित हात पारेको छ ।

सामना युवा क्लबले असल युवा क्लबलाई ३ का विरुद्ध शुन्य गोल अन्तरले जित निकालेको हो । खेलको म्यान अफ दि म्याच सामना युवा क्लबका जोर्डन गुरुङ भए ।

सोही दिन भएको दोस्रो खेलमा शिद्ध गुफा युवा क्लब र न्यु बुद्ध युवा क्लबले निर्धारित समयमा १/१ को बराबरी खेले । ट्राईब्रेकरमा भने न्यू बुद्ध युवा क्लबले ३ का विरुद्ध १ गोलले शिद्ध गुफालाई पाखा लगाए । खेलको म्यान अफ दि म्याच न्यू बुद्ध युवा क्लबका सागर गुरुङ भए ।

चौथो दिनको तेस्रो खेलमा आयोजक छपेली युवा क्लबलाई ट्राईबे्रकरमा २ का विरुद्ध ३ गोलको नतिजा निकाल्दै कालिका युवा क्लबले अगाडिको यात्रा तय गरेको छ । सो खेलको म्यान अफ दि म्याच सागर गुरुङले हात पारे ।

त्यस्तै शनिबार सम्पन्न अन्तिम खेलको नतिजाको लागि पनि ट्राईबे्रकर नै कुर्न प¥यो । ट्राईब्रेकरमा चमुण्डा युवा क्लबले २ का विरुद्ध ३ गोल गर्दे बन्दिपुर युवा क्लब ए को यात्रालाई टुङ्ग्याएको थियो । खेलको म्यान अफ दि म्याच चमुण्डा युवा क्लबका सबिन श्रेष्ठ भए ।

 

छपेली युवा साँस्कृतिक युवा क्लबको आयोजनामा यहि २० गते बाट संचालन भएको सेभेन ए साइड फुटबल प्रतियोतिाको विजयी टिमले ७७ हजार ७ सय ७७ र उपविजेता ले ४४ हजार ४ सय ४४ नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

खेलकुद सामजिक अन्तर संबन्धको पूर्वाधार भन्ने नाराका साथ आयोजना गरेको सेभेन ए साइड फुटबल प्रतियोगितामा सर्वाधिक गोलकर्ता,उत्कृष्ट स्ट्राइकर,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट गोलकिपर र अनुशासित टिमलाई आर्कषक पुरस्कारको व्यवस्था रहेको आयोजक छपेली युवा क्लबका अध्यक्ष दल सिं थापाले बताए ।

दर्शकले बारीको कान्लामा बसेर फुटबल खेलको मज्जा लिए
दर्शकले बारीको कान्लामा बसेर फुटबलको मज्जा लिएको देख्दा फुटबलको केज्र कति रहेछ भनेर सहजै अनुमान गर्न सकिन्छ । फुटबल नेपालको राष्ट्रिय खेल होइन तर पनि यो खेललाई माया गर्ने र मन पराउनेको संख्या नेपालमा अत्याधिक छ । त्यसैले पनि आयोजकहरुले अन्य खेलहरु भन्दा फुटबल खेलको नै आयोजना गरेका पाइन्छ ।

नेपालको विकसित शहरहरुमा त यो खेलको रौनक छ नै । यो देखाउनु र भन्नु पर्देन । तर विस्तारै ग्रामिण भेगमा पनि यो खेलले रफतार लिदै छ । खासमा फुटबल भन्ने बित्तिकै हामीले इलेभेन ए साइड भन्ने बुझिन्थ्यो । तर भौगोलिक वातावरण र स्थानको अभाव,आयोजना गर्न सहज हुने हुनाले पनि खेलाडी र आयोजकहरु सेभेन ए साइड फुटबलमा बढि आर्कषित भएको पाइन्छ ।

“नेपालमा सेभेन ए साइड फुटबलको भविष्य राम्रो छ । यहाँ यसको केज्र पनि उत्तिकै छ । तर यसलाई व्यवसायिक रुपमा स्थापित गर्न अन्तराष्ट्रिय स्तर बाट नै पहल गरेका छौ ।”नेपाल सेभेन ए साइड फुटबल महासंघका अध्यक्ष नबिन पुनले भने अहिले म एशियन सेभेन ए साइड फुटबल संघमा समेत आबद्ध भएको छु । यस कारण पनि यहाँको सेभेन ए साइड फुटबल विकास गर्न अझ सहज हुने छ ।’

 

प्रतिक्रिया दिनुहोस