कविता: यात्रा – ‘म त आफ्नै गतिमा छु, निर्बन्ध, स्वतन्त्र’ 

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

✍🏾सन्तोष पौडेल / पोखरा ।

मलाई कोहीलाई उछिन्नु पनि छैन,

न त कोहीभन्दा पछि हुनु नै छ ।

म त आफ्नै गतिमा छु, निर्बन्ध, स्वतन्त्र,

रेस बढाउँदैमा गन्तव्यमा छिटो पुगिने पनि हैन्,

ब्रेक लगाउँदैमा यात्रा गन्तव्यहीन हुने पनि त हैन् ।

 

जसरी जीवनको अंकुरण निर्बन्ध भयो,

पल्लवन स्वतन्त्र भयो, स्वच्छन्द भयो,

पुष्पनको पनि आफ्नै गति छ।

 

मानवरूपी यस मुक्ति यात्रामा,

आकारको निराकारसँग,

आत्माको परमात्मासँग,

ब्रह्मको परमब्रम्हसँग,

कालको महाकालसँग,

सामिप्य निश्चित छ, त्यसैले मलाई कोहीलाई उछिन्नु छैन्  ।

 

न त कोहीभन्दा अघि हुनु छ, न त कोहीभन्दा पछि,

म त आफ्नै गतिमा छु, निर्बन्ध, स्वतन्त्र।

 

सम्बन्धभन्दा माथि,

प्रेमभन्दा माथि,

समाजभन्दा माथि,

फूलको सुगन्धभन्दा माथि,

हिमालको सुन्दरताभन्दा माथि,

मनदेखी मनसम्मको यात्रामा,

मलाई कसैलाई उछिन्नु छैन् ,

म त आफ्नै गतिमा छु, निर्बन्ध, स्वतन्त्र।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्