
पोखरा । प्रवासी भूमिमा रहेर नेपाली साहित्यको क्षेत्रमा शसक्त कलम चलाउनु चानचुने काम होइन । आफूलाई कामको व्यस्तताबाट समय निकालेर कोरेका कवितालाई पुस्तक मार्फत नै सार्वजनिक गर्नु झनै कठिन कार्य हो ।
आफू विदेशी भूमिमै भएपनि नेपालको माटोलाई विर्षन नसकिएका भावनाहरु अभिव्यक्त गर्दै कविताहरुको सार्वजनिक गरेका कवि रविन शर्माको पहिलो कृति देउता बनाउने कारखाना को आईतबार जापानको टोकियोमा पनि लोकार्पण गरिएको छ ।
जन्मभूमि पर्वतको चुवामा पहिलोपटक लोकापर्ण गरिएको उक्त कृतिलाई कर्मभूमि लोकापर्ण कार्यक्रम आयोजना गरि सर्वजनिक गरिएको हो ।
जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले कृतिको लोकापर्ण गर्दै शर्माले नेपाली साहित्यको क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्नुभयो ।
शर्माका हरेक कवितामा मातृभूमि झल्केको बताउँदै राजदूत डा. सुवेदीले यस कृति सार्वजनिक भएसंगै जापानमा रहेका नेपालीको मात्र नभई विश्वभरका नेपालीहरुको शीर उचो बनाउने काम गरेको धारणा व्यक्त गर्नुभयो ।
‘रविन शर्मा आफैमा एक महाकाब्य हो जस्तो मलाई लागिरहेको छ’ डा सुवेदीले भन्नुभयो ‘जापानको नेपाली साहित्यिक क्षितिजमा रविन शर्माको उदय नेपाली साहित्यको एउटा उचाई हो’ । डा सुवेदीले शर्माको कृतिले नेपाली भाषा र संस्कृतिको धरोहरलाई माथि उकास्ने काम गर्ने बताउनुभयो ।
उक्त संग्रहमा कुन ३९ वटा फुटकर कबिता संग्रहीत छन् । सो अवसरमा कवि शर्माले एकल कविता वाचन समेत गर्नुभएको थियो ।
उहाँ अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय सचिव र अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापानका निवर्तमान अध्यक्ष समेत हुनुहन्छ । अनेसास जापानले आफ्नो नियमित साहित्य श्रृङ्खलाको ७२औँ श्रृङ्खलाको अवसर पारेर उक्त कार्यक्रम आयोजना गरेको हो ।