
पोखरा ।
नेपाल कृषिप्रधान देश हो तर दैनिक उपभोग्य खाद्यान्नका लागि विदेशी आयातमा नै भर पर्नुपर्छ । आयातको ग्राफ बढ्दाे छ । याे थप चिन्ताको विषय बनेकाे छ ।
हरेक वर्ष कृषि क्षेत्रका लागि नीति तथा कार्यक्रम ल्याइन्छ । बीउ, मल, औंजार, प्रविधि, अनुदान उपलब्ध गराइने भनिन्छ तर कार्यान्वयन हुन सक्दैन । यस्तै विरोधाभाषी अवस्थालाई उजागर गर्दै पोखरामा आइतबार उद्यमशीलता प्रवद्र्वनका लागि सिकाई आदान प्रदान एवं नीतिगत संवाद कार्यक्रम भएको छ ।
राष्ट्रिय कृषक समूह महासंघ नेपालको आयोजना, ग्रामिण सामुदायिक विकास केन्द्र र वल्र्ड भिजन इन्टरनेशनल नेपाल (आरसीडीसी)सँगको सहकार्यमा कार्यक्रम भएको हो ।
लमजुङको वेंसिशहर नगरपालिकाकी उपप्रमुख पद्मा गुरुङले भुगोल अनुसारको रणनीति हुनपर्ने बताइन् । अधिकांश कृषि रणनीति तराईकेन्द्रित भएकाले पहाड र हिमालका लागि फरक योजना बनाउनुपर्ने उनको भनाई छ ।
उपप्रमुख गुरुङले किसानका प्रकार अनुसारका आवश्यकता र मागमा ध्यान दिनुपर्नेमा जोड दिइन् । कृषि योजना बनाएर किसानलाई आस देखाउने तर कार्यान्यवन नहुने साथै निरन्तरता नहुँदा किसान निरुत्साहित भएको गुरुङले बताइन् ।
‘कृषि उत्पादनले बजार पाओस्, उपभोक्तालाई सस्तो र सहज तरिकाले सामान पाउन् । कृषि एम्बुलेन्सको आवश्यकता छ । कुखुराको मासु र अण्डामा लमजुङ आत्मनिर्भर बनेको छ । अरु बालीमा सम्भावना खोजिरहेका छौं,’ उनले भनिन् ।
कृषि उत्पादनको बजार व्यवस्थाको अभाव साथै उचित मूल्य नपाएको विनायक कृषि सहकारीका नवलपुरका अध्यक्ष छविलाल सापकोटाको गुनासो छ । उनले किसानको पहिचान गर्न सकेमा किसानलाई सहयोग पुग्ने बताउँदै पहिचान नहुँदा सरकारी सहयोग किसान सम्म पुग्न नसकेको धारणा व्यक्त गरे ।
उनले भने, ‘कृषि बालीको बिमा गरिनुपर्छ । किसानले लागत मूल्य नपाउँदा पलायन हुने अवस्था छ । किसान कार्ड बनाउन सकेमा किसानलाई ऋण प्राप्त गर्न सहज हुने थियो ।’
भुमि तथा कृषि सहकारी मन्त्रालय गण्डकीका अधिकृत अमृत रेग्मीले विचौलियाका कारण किसानमा मारमा परेको उल्लेख गरे । उनले सरकारकाले विचौलिया हटाउने वा उनीहरुलाई पहिचान दिनुपर्ने भनाइ राखे ।
सरकारले आयातमा प्रतिबन्ध लगाउन नसक्दा नेपाली उत्पादन बजार सम्म पुग्न नसकेको उनको भनाइ छ । सस्तो पर्ने नेपाली उत्पादन खेर गइरहेको छ भने भारतबाट आएको महंगो सामान प्रयोग गर्न बाध्य छन् नेपाली ।
‘स्थानीय उत्पादनलाई बजारसँग जोड्न सकिएको छैन । मुस्ताङबाट बुटवल ६ घण्टामा पुग्न सकिन्छ तर मुस्ताङका उत्पादन बुलवल पु¥याउन सकिदैन । उत्पादन ओसारपसार गर्न अनेकौं समस्या छन् । शितभण्डार, नियामित यातायातको अभावले किसानहरु निराश छन्’ रेग्मीले दुखेसो पोखे ।
युवालाई कृषिमा आर्कषित गर्ने खालका कार्यक्रम ल्याउनुपर्ने आवश्यकता रहेको कृषि क्याम्पस लमजुङका क्याम्पस प्रमुख डा रामकुमार श्रेष्ठले औंल्याए । कृषि प्रणाली परम्परागत भएकाले युवामा कृर्षिप्रति रुचि नरहेको उनले बताए ।
कृषिमा रहेको सम्भावना पहिचान र व्यवस्थापन हुन नसकेकाले कृषि क्षेत्र असफल भएको श्रेष्ठको तर्क छ । कृषिलाई शिक्षासँग जोडेर, व्यवसायिक तालिम, प्रोत्साहन, स्र्टाटअप अनुदान कार्यक्रम मार्फत युवालाई आकर्षित गर्न सकिने उनको सुझाव छ ।
कार्यक्रममा सहभागिले समयमै बिउ, मल उपलब्ध गराइदिन आग्रह गरेका थिए । कृषि औजार महिलामैत्री हुनुपर्ने उनीहरुले बताए । ‘रैथाने बाली तथा त्यसको स्वाद जोगाउन पनि ध्यान दिनुपर्छ । उत्पादन होस् कि नहोस् दर्ता भएपछि कर तिर्नुपरेको समस्या छ,’ उनीहरुले भने, ‘आत्मनिर्भर हुन सकिएको छैन । मल, बीउ सिँचाइ, औषधि, प्रविधि र सेवा नहुँदा उत्पादन घट्छ । महँगो भाडामा जमिन लिई उत्पादन गर्दा लागत मूल्य बढ्ने देखिन्छ जसले उपभोक्तालाई पनि महंगो पर्न जान्छ ।’
कार्यक्रमममा महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठ, आरसीडीसीका ससंस्थापक अध्यक्ष राजेन्द्र बोहरा, सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत टंकप्रसाद ढकाल, राष्ट्रिय कृषि बजार संघ नेपालका अध्यक्ष झलकलाल श्रेष्ठ, कृषि ज्ञान केन्द्र पोखराको प्राविधिक सहायक शालिकराम घिमिरे लगायतले बोलेका थिए ।
वल्र्ड भिजन नेपालका एसोसियट डाइरेक्टर प्रकाश तिवारीले संवादमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा वल्ड भिजन इन्टरनेशनल नेपालकी कार्यक्रम संयोजक सुनिता तोलांगीले गण्डकी प्रदेशमा वल्ड भिजन इन्टरनेशनलले गरेका कार्यहरु, सिकाई तथा अनुभवहरुका प्रस्तुती राखेकी थिइन् भने राष्ट्रिय कृषक समाज महासंघ नेपालका निर्देशक केदार कोईराला महासंघले गर्ने काम कर्तव्यको विषयमा प्रस्तुती राखेका थिए ।
कृषिलाई उद्यममा कसरी परिणत गर्न सकिन्छ भन्ने ध्येयलाई महासंघले आत्मसात गरेको छ । महासंघले विभिन्न स्थानहरूमा कृषकहरूको सशक्तिकरण र कृषि प्रविधिको प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।
क्रियाशील कृषक समूहहरुको सुशासनमा आधारित समावेशी, लोकतान्त्रिक पद्धति अनुरुप क्षमता विकास गर्नुका साथै सरकारी र गैर सरकारी संघ, संस्था र निकायहरुसंग समन्वयात्मक रुपले कृषि रुपान्तरणको अभियानमा भूमिहीन, सीमान्त, महिला र साना किसानहरुलाई सरिक गराउन राष्ट्रिय कृषक समूह महासंघ, नेपाल लागिपरेकाे छ ।
महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे स्वागत आरसिडीका संस्थापक अध्यक्ष राजेन्द्र बोहरा सञ्चालन राष्ट्रिय कृषक समाज महासंघ नेपालका निर्देशक केदार काेईरालाले गरेका थिए ।