प्रतिभा मन्टेश्वरीमा ‘मीट एण्ड ग्रीट’ कार्यक्रम सम्पन्न

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

‎पोखरा । प्रतिभा फाउण्डेशन अन्तर्गतको  प्रतिभा मन्टेश्वरीमा अभिभावक र शिक्षकबीच अन्तरक्रिया तथा सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले ‘मीट एण्ड ग्रीट’ कार्यक्रम सम्पन्न भएको छ । पोखराको नदिपुरस्थित विद्यालय परिसरमा आइतबार आयोजित कार्यक्रममा नर्सरीदेखि युकेजीसम्म अध्ययनरत विद्यार्थीका अभिभावक, शिक्षिका तथा विद्यालय व्यवस्थापन पक्षको सहभागिता रहेको थियो ।


‎कार्यक्रममा विद्यालयका फाइनान्सियल डाइरेक्टर विश्वगोपाल पराजुलीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै विद्यालयले शिक्षण–सिकाइमा प्रविधिमैत्री पद्धतिलाई प्राथमिकता दिएको बताए । उनले बालबालिकालाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक शिक्षा पनि आवश्यक रहेको उल्लेख गरे । उनले प्रत्येक बालबालिकाको सिकाइ क्षमता फरक हुने भएकाले आफ्ना बालबालिकालाई अरूसँग तुलना नगर्न अभिभावकलाई आग्रह गरे ।‎


‎विद्यालयका सहप्राचार्य प्रदीप खनालले वर्कसिट तथा गतिविधिमूलक शिक्षामार्फत प्रभावकारी पढाइ सञ्चालन गरिएको जानकारी दिए । उनले ‘बुक फ्रि फ्राइडे’, थिम बेस्ड एक्टिभिटिज, संगीत, नृत्य, कला लगायतका क्रियाकलापमा विद्यार्थीलाई प्रत्यक्ष सहभागी गराइँदै समग्र अंग्रेजी सुधारमा विशेष जोड दिइएको बताए ।

‎उनका अनुसार विद्यालयमा निरन्तर मूल्यांकन प्रणाली लागू गरी विद्यार्थीको सिकाइ उपलब्धि मूल्यांकन गरिन्छ । हरेक टपिक विद्यार्थीले कत्तिको बुझेको छ भन्ने आधारमा ‘रियल लर्निङ’लाई प्राथमिकता दिइएको उनले बताए । साथै अभिभावकका सुझाव तथा गुनासा नियमित रूपमा सुन्ने, सेवा–सुविधा, फराकिला कक्षाकोठा तथा भौतिक संरचनामा सुधार गर्दै समान शैक्षिक उद्देश्य पूरा गर्न विद्यालय प्रतिबद्ध रहेको उनको भनाइ थियो ।‎


‎कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयकी मन्टेश्वरी कोअर्डिनेटर निर्मला सुवेदीले शिक्षकहरूले बालबालिकाको मनोविज्ञान बुझेर शिक्षण गर्ने, सर्वाङ्गीण विकासमा ध्यान दिने तथा मायाममता र आत्मीयतासहित अध्यापन गराइने बताइन् ।

‎कार्यक्रममा विद्यालय र अभिभावकबीचका अपेक्षाबारे छलफल गरिएको थियो । सहभागी अभिभावक, शिक्षक तथा विद्यालय प्रशासनले बालबालिकालाई हरेक क्षेत्रमा सक्षम र आत्मविश्वासी बनाउन आ–आफ्नो ठाउँबाट जिम्मेवारीपूर्वक लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।


‎कार्यक्रममा शिक्षिकाहरु रक्षा बराल, नाजिया अली तथा मञ्जु श्रेष्ठले अभिभावकहरूलाई विद्यालयका नियम, पठनपाठन प्रक्रिया, नर्सरीदेखि युकेजीसम्मका नयाँ शैक्षिक सत्रका योजना, शिक्षण गतिविधि तथा बालबालिकाको समग्र विकाससम्बन्धी जानकारी गराएका थिए ।

‎कार्यक्रमअन्तर्गत स्वागत नृत्य, शिक्षक परिचय, शिक्षकहरूको समूह नृत्य, कविता वाचन, समयको महत्वबारे नाटक प्रस्तुति, अभिभावक सहभागितामूलक खेल तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।

‎अभिभावकहरूबीच क्विज तथा विभिन्न खेलहरू सञ्चालन गरी विजेतालाई पुरस्कृतसमेत गरिएको थियो । विद्यालयले कार्यक्रममार्फत अभिभावक र विद्यालयबीचको सम्बन्ध अझ सुदृढ बनाउने उद्देश्य राखेको जनाएको छ । साथै शिक्षण तथा अध्ययन सामग्रीको प्रदर्शनीसमेत गरिएको थियो ।

‎शिक्षिकाद्वय नाजिया अली र कविता यादवले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक सन्देश पौडेलको पनि उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्