पाेखरा । आज जुन १ अर्थात विश्व दुग्ध दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईदैछ । नेपालमा ‘दूध तथा दुग्ध पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवर्द्धन’ भन्ने नारासहित याे दिवस मनाईदै छ ।
राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल डेरी एसोसिएशन, नेपाल डेरी उद्योग संघ, केन्द्रिय दुग्ध सहकारी संघ, दुग्ध विकास संस्थान(डिडिसी), पशु सेवा विभागलगायतकाले संयुक्त रुपमा यो दिवस मनाउने तयारी गरेका छन् ।
दुग्धपानको महत्व दर्साउन विश्वभर जुन १ तारिखलाई विश्व दूध दिवशको रुपमा मनाइदैँ आइएको छ ।
विश्व खाद्य संगठनले सन् २००० बाट अन्तर्राष्ट्रिय दूध दिवस मनाउने निर्णय गरेकोमा नेपालले सन् २०११ बाट दिवस मनाउन थालेको हो ।
डेरी क्षेत्रसँग सम्वद्ध विषयहरु, क्रियाकलापहरु तथा मानव पोषणको महत्वपूर्ण पाटोको रुपमा डेरी क्षेत्रलाई अगाडि बढाउनका लागि विशेषत यो दिवस मनाउने गरिन्छ। दूध अत्यन्तै पौष्टिकताले भरिपूर्ण खाद्यपदार्थ भएकाले यसको सेवन बालक देखि बृद्धसम्म हुने गर्दछ।
गण्डकी प्रदेशले दुग्ध उत्पादन, प्रशोधन तथा बजारीकरणलाई लक्षित गरी दुग्ध फार्म सुधार/स्तरोन्नति, प्रशोधनका लागि मेशिनरी खरिद तथा जडान, कोल्ड रुम स्थापना जस्ता कार्यक्रम संचालन गरिरहेको छ ।
ती कार्यक्रमबाट आशातित उपलब्धिहरु पनि भइरहेको कारण भविष्यमा पनि यस प्रकारका कार्यक्रमलाई अगाडि बढाउन पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय प्रयास गरिरहेकाे छ ।
साथै निर्देशनालयले डेरी विषयमा संचालन गरिरहेका अन्य कार्यक्रमबारे जानकारीका लागि यस निर्देशनालयको वेभसाइट/फोन वा सीधा सम्पर्क ( फोन नंवरः ०६१-५२०४५४, ०६१-५२८८२४, वेभसाइट- difd.gandaki.gov.np) मा जानकारी लिन अनुराेध गरेकाे छ ।
गण्डकी प्रदेश हालको अवस्थामा दुग्ध उत्पादनमा आत्मनिर्भर रहेको छ। यस प्रदेशको प्रति व्यक्ति वार्षिक दूध खपत राष्ट्रिय लक्ष भन्दा माथि रहेको छ। यद्यपी यो खपत विश्वको आँकडामा अझै कम नै हो ।
यसर्थमा दूध तथा दुग्ध जन्य पदार्थको सेवन बढाउनु, उत्पादन तथा खपत बढाउनु र दुग्ध व्यवसायको प्रवर्द्धन गर्नु आजको आवश्यकता हो।










