वन बीउ प्रयोगशाला तथा भण्डारण केन्द्र पोखराको भौतिक प्रगति ९५ प्रतिशत

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।

वन बीउ प्रयोगशाला तथा भण्डारण केन्द्र पोखरा कास्कीले गत आर्थिक वर्ष २०८०/८१ मा ९५.२१ प्रतिशत भौतिक प्रगति गरेको छ । कार्यालयले ७१.७७ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।

गण्डकी प्रदेशका ११ वटा जिल्ला र लुम्विनी प्रदेशको बाँके र वर्दिया बाहेकको जिल्ला कार्यक्षेत्र रहेको यस कार्यालयले वार्षिक पुँजीगत कार्यक्रमतर्फ ७२.३३ प्रतिशत र चालु कार्यक्रमतर्फ ७०.९२ प्रतिशत लक्ष्य हासिल गरेको छ ।

वन बीउ प्रयोगशाला तथा भण्डारण केन्द्रको मुख्य काम भनेको बीउ संरक्षण गर्नु हो । तर बीउ संरक्षणका लागि कार्यालयले विरुवा उत्पादन, वितरणदेखि बीउ उत्पादन क्षेत्रको अध्ययन, सर्भेक्षण, स्थापना, व्यवस्थापन, संरक्षणका विभिन्न प्रकृयागत कार्यहरु समेत गर्ने गर्छ ।

माथि उल्लेखित प्रगति विवरणमा कार्यालयले नयाँ वन बिउ उत्पादन क्षेत्रको अध्ययन, सर्भेक्षण, स्थापना, व्यवस्थापन कार्यक्रम अन्तर्गत गोरखामा श्रीखण्ड, लमजुङमा चिउरी, स्याङ्गजाको सिरुवारीमा पैयुँ, तनहुँमा वेलको सर्भेक्षण तथा स्थापना गरेको वन बीउ प्रयोगशाला तथा भण्डारण केन्द्र, पोखराका प्रमुख निर्मला सिंह भण्डारीले जानकारी दिईन् ।

उनका अनुसार रुपन्देही (सिमलको वगैँचा), अर्घाखाँची (ओखर), म्याग्दी (टिमुर) पोखरा लामाचौर (रुद्राक्ष), तनहुँ (रिठ्ठा र फलफूल वगैँचा), गोरखा (श्रीखण्ड र सतिसाल) नवपरासीकाे वर्दघाट गरी ९ ठाउँमा हेरालोको व्यवस्था गरिएको छ । त्यहाँ भएका संकटापन्न तथा लोपोन्मुख जातका विरुवाहरुको संरक्षणका लागि हेरालो राखिएको कार्यालय प्रमुख भण्डारीको भनाई छ ।

यसैगरी कार्यालयले बोटविरुवाको विउ संरक्षणका लागि म्याग्दी (टिमुर र लेक चाँप), स्याङ्गजा (खयर र पैयुँ), र नवलपरासीमा चिउरी जामुन लगायतका धेरै प्रकारका फलफूलका बोटहरु भएको कारण ५ ठाउँ उपभाेक्ता समूह गठन समेत गरेको छ ।

२०७५ सालमा स्थापना भएको वन बीउ प्रयोगशाला तथा भण्डारण केन्द्र ७ वटा प्रदेशमध्ये विराटनगर, काठमाण्डौं हात्तीसार, पोखरा र बाँके गरी ४ स्थानमा मात्र रहेका कार्यालय रहेका छन् ।

यो कार्यालय नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, वन तथा भू–संरक्षण विभाग अन्तर्गत पर्दछ ।

कार्यालयबाट ५० हजार विरुवा निःशुल्क वितरण

वन बीउ प्रयोगशाला तथा भण्डारण केन्द्र पोखराले गत आर्थिक वर्षको कार्यक्रम अन्तर्गत असार अन्तिम साताबाट निःशुल्क विरुवाहरु वितरण गरिरहेको छ । कार्यालयको व्यू नर्सरी पोखरा १८ तोरीपानी सराङ्गकोटमा उत्पादन गरिएका ५० हजार (विभिन्न काष्ठजन्य, फलफूल, डालेघाँस, जडिबुटी तथा बहुउपयोगी) विरुवाहरु निःशुल्क वितरण भईरहेको कार्यालयका रेन्जर जीवन अधकारीले जानकारी दिए ।

उनका अनुसार नर्सरीमा फलफूलका कागती, अम्बा, लप्सी, जडिबुटीका तेजपात, सितलचिनी, अमला, राजवृक्ष, बर्रो, काष्ठजन्यमा मसला, चाँप, आदि , डालेघाँस अन्तर्गत टाँकी, राईखन्यु, कोईरालो र सौन्दर्यजनक विरुवामा गोलमोहर, ज्याकारण्डा, कपुर, धुपी, कल्की, म्यांगोस्टिन, सेना लगायतका विरुवाहरु उपलव्ध छन् ।

२५ गोटा सम्म विरुवा माग गर्दा सोझै नर्सरीमा सम्पर्क गरी लैजान सकिनेछ भने सो भन्दा बढी विरुवा माग गर्ने व्यक्तिले नेपाली नागरिकताको प्रमाणपत्रको छाँयाकपी, जग्गाधनी प्रमाणपुर्जाको छाँयाकपी, विरुवा माग निवेदन तथा सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र आवश्यक पर्दछ ।

यसैगरी सार्वजनिक निकाय/संघ संस्था/कार्यालयले विरुवा माग गर्दा वृक्षारोपण गर्ने स्थान खुलाई सम्बन्धित कार्यालयको आधिकारीक पत्र वन बीउ प्रयोगशाला तथा भण्डारण केन्द्र पोखराकाे कार्यालयमा उपलव्ध गराउनुपर्दछ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्