काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित भएकी छिन् ।
यो सँगै नेपाल पत्रकार महासंघको ७ दशकको इतिहासमा पहिलो पटक एउटी महिला पत्रकारले नेतृत्व गर्ने भएकी हुन् । गत शुक्रवार सम्पन्न निर्वाचनबाट अध्यक्षमा निर्मला शर्मा विजयी भएसँगै महासंघले पहिलो पटक महिला नेतृत्व पाएर इतिहास रचेकाे हाे ।
उनले निकटतम प्रतिष्पर्धी रमेश विष्टलाई १०७९ मतान्तरले पछि पारिन् ।
शर्माले ४२८२ मत प्राप्त गरेर विजय हासिल गरिन्। अन्य उम्मेदवारहरूमा देवीप्रसाद सापकोटाले २७० मत, रमेश विष्टले ३२०३ मत र लाल सिंह (एल.एस.) लामाले ९६ मत प्राप्त गरे।
वरिष्ठ उपाध्यक्षमा दीपक आचार्यले ४२३० मत प्राप्त गरेर विजय हासिल गरे, जबकि गोविन्द प्रसाद चौलागाईले ५४८ मत र रोसन पुरीले २८८६ मत प्राप्त गरे। महिला उपाध्यक्षमा नितु पण्डितले ४७०५ मत प्राप्त गरेर विजय प्राप्त गरिन्। समावेशी उपाध्यक्षमा उमिद प्रसाद बागचन्दले ४२९२ मत प्राप्त गरेर विजय प्राप्त गरेका छन्।

महासचिव पदमा राम प्रसाद दाहालले ४०८४ मत प्राप्त गर्दै विजयी भएका छन्। अन्य उम्मेदवार जन्मदेव जैसिले ११५८ मत, प्रकाश थापाले ४८८ मत र लेखनाथ न्यौपानेले १९२९ मत प्राप्त गरे।
सचिव (खुल्ला) पदमा रमेश खतिवडाले ३४०० मत प्राप्त गरेर विजय प्राप्त गरे। अन्य उम्मेदवारहरूले उत्तर सिंह बिष्ट २०६७ मत, कुमार ओझा ७७५ मत, बाल कृष्ण अधिकारी ३१६ मत र माधव दुलाल ७१९ मत प्राप्त गरे।
सचिव (महिला) पदमा सोनी शर्मा ४३४७ मत प्राप्त गरेर विजयी भइन्।
कोषाध्यक्ष पदमा रामकृष्ण अधिकारीले ३८४७ मत प्राप्त गरेर विजय प्राप्त गरेका छन्। लेखा समितिको संयोजक पदमा के.सी. लामिछानेले ४१९४ मत प्राप्त गरेर विजय प्राप्त गरेका छन्, जबकि ध्रुव कुमार रावलले २४२० मत प्राप्त गरे।
लेखा समिति सदस्य (खुल्ला) पदमा केशव प्रसाद बोहराले ४१२५ मत र गणेश प्रसाद बन्जाडेले २३६५ मत प्राप्त गरेका छन्। लेखा समिति सदस्य महिला पदमा रुक्मिणी पोखरेलले ४०८९ मत र लक्ष्मी चौधरीले २५४२ मत प्राप्त गरे।
यस निर्वाचनले नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयन गरेको छ र आगामी वर्षका लागि पत्रकारिता क्षेत्रमा सुधार र प्रगति गर्ने अपेक्षासमेत व्यक्त गरिएको छ।











