‘प्रेसलाई आतंकित पार्ने काम भयाे’-नेपाल पत्रकार महासंघ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं । नेपाल पत्रकार महासंघले शान्तिपूर्ण प्रदर्शनको नाममा राजावादीहरूले प्रेसलाई आतंकित पार्ने काम गरेको टिप्पणी गरेको छ ।

महासंघले शुक्रबार एक विज्ञप्ति जारी गरेर राजावादीहरूको अराजक समूहले विभिन्न क्रियाकलाप गरेर सञ्चारकर्मीलाई आतंकित पार्ने काम गरेको बताएको हो ।

राजावादीहरूको प्रदर्शनले एक पत्रकारको जलेर मृत्यु भएको, विभिन्न सञ्चारगृहमा आगो लगाउने काम भएको, हुलहुज्जत भएको र सञ्चारमाध्यमहरूको तोडफोड भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

महासंघले विज्ञप्तिमार्फत पत्रकार सुरेश रजकको मृत्यु भएको, कान्तिपुर टेलिभजनमा ढुंगामुढा गरिएको, अन्तपूर्ण पोष्टको भवनमा तोडफोड गरेर आतंक सिर्जना भएको जनाएको हो । त्यसक्रममा हिमालयन टेलिभिजनको सवारीसाधनमा पनि तोडफोड भएको छ ।

यस्ता क्रियाकलापमा संलग्नलाई कारबाही गर्न माग गर्दै महासंघले आगामी दिनमा पनि यस्ता क्रियाकलाप दोहोरिए विरोधमा उत्रिने चेतावनी दिएको छ ।

महासंघले भनेको छ, ‘महासंघ यो घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाहीको माग गर्दछ ।’

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्