
पोखरा । पोखरामा वर्डप्रेस पोखरा समाजको आयोजनामा दुई दिने सूचना प्रविधि सम्मेलन सम्पन्न भएको छ। हिजोदेखि सुरु भएको सम्मेलनमा नेपाल, भारत, बंगलादेश, जर्मनी, फिलिपिन्सलगायत देशका करिब ८०० जना सहभागी थिए।
सम्मेलनमा वेब डिजाइन, साइबर सुरक्षा, युजर इन्टरफेस डिजाइन, डिजिटल सामग्री निर्माण, सर्च इन्जिन अप्टिमाइजेसन, मेसिन लर्निङ, आर्टिफिसियल इन्टेलिजेन्स र वर्डप्रेस समुदायको विकासजस्ता विषयमा स्वदेशी तथा विदेशी विज्ञहरूले आफ्नो अनुभव र ज्ञान आदानप्रदान गरे।
नेपालबाट नारायण कोइराला, मिलन खनाल, क्षितिज बराल, सारिका घिमिरे, आविष्कार भट्टराई, जर्मनीबाट अर्तुर न्युमन, भारतबाट आदित्य शाह, आस्था जैन, अभिषेक कौशिक, बंगलादेशबाट ममुता हिना फागुनीलगायत ३० जना वक्ता थिए।
दोस्रो दिन ‘नेपालमा डिजिटल नोम्याड: सम्भावना र चुनौती’ विषयमा बहस भएको थियो। बहसमा अनिकेश मिश्र, अर्तुर न्युमन, निहार चमरबन्दु, सविन बराल सहभागी थिए भने सुवास खड्काले सहजीकरण गरे।

वर्डप्रेस पोखरा समाजका सहसंयोजक पारस देवकोटाले यो सम्मेलनले सूचना प्रविधि क्षेत्रमा प्रशिक्षण, सहकार्य र समन्वयलाई मजबूत बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको बताए। यसअघि २०२३ मा पनि पोखरामा वर्डक्याम्प नेपाल सम्मेलन भएको थियो।