काठमाडौं । नयाँ पुस्ताका युवा (जेनजी) को प्रदर्शनमा प्रहरीले चलाएको गोली र लाठीचार्जबाट घाइते भएका ४०० भन्दा बढीको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये ११ जनाको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्।
ट्रमा सेन्टरमा उपचाररत गम्भीर अवस्थाका पाँच जनालाई आईसीयूमा राखिएको छ। अस्पतालका प्रमुख डा. बद्री रिजालका अनुसार ३० जनाभन्दा बढी बिरामीलाई शल्यक्रिया गर्नुपर्ने देखिएको छ। सोमबार राति मात्र ११ जनाको शल्यक्रिया गरिएको थियो।
‘हिजो सकेसम्म ज्यान बचाउने कोसिस गरियो,’ उनले भने, ‘हामीकहाँ जटिल प्रकृतिका बिरामी हुनुहुन्छ, गोली तथा अन्य गम्भीर चोटपटक लागेकाको शल्यक्रिया दिउँसोभर निरन्तर हुने छ।’
प्रदर्शनमा घाइतेको चाप बढेपछि अस्पतालले मंगलबार नियमित ओपीडी र सामान्य शल्यक्रिया स्थगित गर्ने निर्णय गरेको छ। ‘आज आकस्मिक केस र हिजोको प्रदर्शनमा घाइते भएकाको मात्रै शल्यक्रिया हुने व्यवस्था मिलाइएको छ,’ डा. रिजालले जानकारी दिए।
उनका अनुसार अस्पतालका सबै स्वास्थ्यकर्मीलाई पूर्ण रूपमा उपचार सेवामा खटाइएको छ। तस्वीर: सामाजिक सञ्जाल










