प्रधानमन्त्रीलाई पूर्वमाओवादीको सन्देश : सँधै तपाइलाई बोक्न सक्दैनौं

  • ख-
  • ख+

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको विवाद थप पेचिलो बन्दै गएको छ । बैठक बस्ने/नबस्ने विषयलाई लिएर शीर्ष नेतृत्वबीचको विवाद पुनः उत्कर्षमा पुगेको हो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पूर्व माओवादी खेमाका नेताहरुले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर यसपटक साथ दिन नसक्ने संकेत दिएका छन् ।

असार तेस्रो साता पार्टीभित्रैबाट अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन दबाब खेपिरहेका बेला ओलीले पूर्वमाओवादी खेमा केही नेताको साथ पाएका थिए ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालयको बैठक नबोलाउने अडान लिएसँगै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँच नेताले अध्यक्ष ओलीलाई लिखितरुपमा नै पत्र बुझाएर तत्काल बैठक बोलाउन माग गरेका छन् ।

स्थायी कमिटी बैठक चलिरहेका बेला प्रधानमन्त्री ओलीले १४ असारमा भारतले आफूलाई हटाउन खोजेको र त्यसमा नेपाली नेताहरुले भूमिका खेलेको बताएका थिए । १७ असारको बैठकमा शीर्ष नेताहरुले ओलीको अभिव्यक्तिको आलोचना मात्र गरेनन्, प्रधानमन्त्री र अध्यक्ष दुबै पद छाड्नुपर्ने बताए ।

तर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट मानिएका स्थायी कमिटी सदस्यहरू जनार्दन शर्मा, टोपबहादुर रायमाझी, मणि थापा, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, लेखराज भट्टलगायतले प्रधानमन्त्री ओलीलाई साथ दिए । त्यतिबेला उनीहरुले ओलीलाई दुबै पद छाड् भन्नु पार्टी एकताको भावना विपरीत हुने तर्क गरेका थिए ।

सचिवालयका बहुमत सदस्यले लिखितरुपमा नै बैठकको माग गरेपछि ओलीले पूर्वएमालेका नेताहरुलाई एकै ठाउँमा ल्याउने गृहकार्य अगाडी बढाएका छन् । प्रचण्डसँग सम्बन्धमा दरार आएपछि यसअघि दुईपटक वरिष्ठ नेता माधवकुमार नेपालसँग छुट्टै भेटवार्ता गरेका ओलीले आइतबार पुनः नेपालसहित चार नेतासँग भेटवार्ता गरेका हुन् ।

गत असार–साउनमा पार्टी विवाद चर्किएको बेला माओवादी पृष्ठभूमिका केही नेता प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले राखेको मागको विपक्षमा उभिएका थिए । प्रधानमन्त्री एवं अध्यक्ष दुबै पद नछाड्ने ओलीको अडान र दुबै पद छाड्ने माग गलत भएको पूर्वमाओवादी खेमाकै कतिपय नेताहरुको मत लगायतका कारण त्यसबेला नेकपाको विवाद सम्झौतामा टुंगिएको थियो ।

ओली एकताको महाधिवेशनसम्म अध्यक्ष र पाँच वर्ष प्रधानमन्त्री रहने, प्रचण्ड पार्टीको कार्यकारी अध्यक्ष रहने गरी २६ भदौमा स्थायी कमिटी बैठक टुंगिएको थियो । तर बैठकको निर्णय कार्यान्वयन नहुँदै विवाद बल्झिएको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष प्रचण्डसँग सहमति गर्दै पार्टीलाई एकता महाधिवेशनतर्फ लैजानुपर्ने पूर्व माओवादी खेमाका नेताहरुको धारणा छ । त्यसका लागि सचिवालय बैठक बोलाउन सल्लाह दिएका छन् ।

शनिबार बालुवाटारमा ओली र सचिवालयका प्रचण्डसहितका ५ नेता माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीचको भेटवार्तामा चर्काचर्की भए पनि विनानिष्कर्ष टुंगिएको थियो ।

अध्यक्ष ओलीलाई सचिवालय बैठक बोलाउनुपर्ने दबाब रहेको छ । पछिल्लो छलफल र भेटवार्तामा ओली आक्रामकरुपमा प्रस्तुत हुँदै आएको बताइएको छ ।

केही दिनअगाडि मात्रै अध्यक्ष ओलीले प्रदेश–१ का आफूनिकट नेतासँग भर्चुअल बैठक गरेका थिए । मदन भण्डारी फाउन्डेसनको ब्यानरमा प्रधानमन्त्रीले आफूनिकट नेतालाई सम्बोधन गरेपछि नेकपाभित्र असन्तुष्टि देखिँदै आएको छ । पूर्वएमाले भेला भनिए पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने भेलामा सहभागी नभएको बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्