काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन निर्धारित समयभन्दा लम्बिन सक्ने भएको छ। बन्दसत्र सुरु हुन ढिलाइ भइरहेका बेला प्रवक्ता मनिष झाले सञ्चारकर्मीसँग कुरा गर्दै महाधिवेशन एक दिनसम्म लम्बिन सक्ने सम्भावनाका लागि पार्टी तयार रहेको बताएका छन्।
उनका अनुसार महाधिवेशन लम्बिन सक्ने विषयमा यसअघि बसेको केन्द्रीय समिति बैठकमै छलफल भइसकेको थियो।
‘बन्दसत्र ढिला भएर हामी आतिएका छैनौं। यसलाई स्वाभाविक रूपमा लिएका छौं। यस्ता सम्भावनाका कारण महाधिवेशन एक दिन लम्बिन सक्छ भन्ने विषयमा हामीले अस्ति केन्द्रीय समिति बैठकमै चर्चा गरेका थियौं। त्यसैले मानसिक रूपमा हामी तयार छौं,’ झाले भने।
उनले महाधिवेशन प्रतिनिधिको संख्या पनि बढेको जानकारी दिए। सोमबार बिहानसम्म करिब ४ हजार ३ सय प्रतिनिधि पुगेको अपडेट आफूले पाएको उनले बताए।
यद्यपि मधेश प्रदेशका केही प्रतिनिधि दर्ता प्रक्रियाबाट छुटेकाले उनीहरूलाई समावेश गर्ने गरी आवश्यक गृहकार्य भइरहेको उनले जानकारी दिए।
‘बन्दसत्र सुरु हुन्छ, तर केही विलम्ब भइसकेको छ। अहिले हामीले हिजोको सूचीअनुसार दर्ता प्रक्रिया सुरु गरेका छौं,’ उनले भने, ‘छुटेका प्रतिनिधिहरूको विवरण अर्को टोलीले संकलन तथा व्यवस्थापन गरिरहेको छ।’










