आज फूलपाती, दसैँको सातौँ दिन, घरघरमा फूलपाती भित्र्याइँदै

सिटी पोखरा डेक्स
  • ख-
  • ख
  • ख+

पोखरा । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज शनिबार फूलपाती मनाइँदै छ। आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती दसैँको सातौँ दिन हो। यस दिन घरघरमा फूलपाती भित्र्याउने, दुर्गा भवानीको पूजा आराधना गर्ने तथा धार्मिक विधिअनुसार पूजापाठ गर्ने परम्परा रहेको छ। आज पोखराको विन्दवासिनी, तालबाराही लगायतका शक्तिपिठहरुमा आज दर्शनाथीको घुँइचो लाग्दछ ।

फूलपातीलाई बडादसैँको महत्त्वपूर्ण दिनका रूपमा लिइन्छ। यस दिन परम्पराअनुसार विभिन्न प्रकारका फूल, पात तथा वनस्पतिहरू पूजा कोठामा भित्र्याएर दुर्गा भवानीको पूजा गरिन्छ। फूलपाती भित्र्याएसँगै दसैँको उल्लास र चहलपहल थप बढ्ने गर्दछ।

दसैँ मनाउन सहरबाट गाउँ फर्किनेको चहलपहल बढ्नुका साथै बजारमा किनमेल गर्नेहरूको भीड पनि बढेको छ। घरघरमा सरसफाइ, सजावट र पूजाको तयारी भइरहेको छ भने परिवारका सदस्य तथा आफन्तजनसँग भेटघाट गर्ने क्रमसमेत तीव्र बनेको छ।

धार्मिक मान्यताअनुसार फूलपातीका दिन दुर्गा भवानीको पूजा आराधना गर्नाले सुख, शान्ति, समृद्धि र कल्याण प्राप्त हुने विश्वास गरिन्छ। फूलपातीले नेपाली समाजको धार्मिक आस्था, सांस्कृतिक परम्परा र पारिवारिक एकतालाई प्रतिबिम्बित गर्दछ।

बडादसैँमा सप्तमी, अष्टमी र नवमीका दिन विशेष पूजा आराधना गरिन्छ भने विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी दसैँ मनाउने परम्परा छ।

नेपालीहरूको मौलिक संस्कृति र परम्परासँग जोडिएको बडादसैँले आपसी प्रेम, सद्भाव, भाइचारा र सामाजिक एकताको सन्देश दिने विश्वास गरिन्छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्