पोखरा । बालहितकारी परियोजना नेपालको २६औँ वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रम मंगलबार सम्पन्न भएको छ। कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा संस्थाले सञ्चालन गरेका कार्यक्रम, उपलब्धि, आर्थिक पारदर्शिता, सेवाग्राहीका अनुभव तथा आगामी योजनाबारे समीक्षा गरिएको छ।
सहजकर्ता तथा सामाजिक परीक्षक निकिता कोइरालाले प्रस्तुत गरेको प्रतिवेदनले बाल संरक्षण, शिक्षा, स्वास्थ्य, पुनःस्थापना र समुदाय सशक्तीकरणका क्षेत्रमा संस्थाले सकारात्मक काम गरेको निष्कर्ष निकालेको छ। प्रतिवेदनमा बालगृह सञ्चालनका मापदण्डको पालना, शिक्षा तथा स्वास्थ्यमा पहुँच, मनोविमर्श सेवा, जीवनोपयोगी सीप र पुनःस्थापनापछिको अनुगमनलाई संस्थाका राम्रा अभ्यासका रूपमा औँल्याइएको छ।
हाल बालगृहमा २७ जना बालक आश्रित रहेका छन् । संस्थाले विशेषगरी सडक तथा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको उद्धार, संरक्षण र पुनःस्थापनामा जोड दिँदै आएको छ। त्यस्ता बालबालिकालाई सुरक्षित आवास, शिक्षा, स्वास्थ्य उपचार तथा मनोविमर्श सेवा प्रदान गर्नुका साथै परिवार र समुदायमा पुनःस्थापना गर्न संस्थाले सहजीकरण गर्दै आएको छ।
सेवाग्राही, अभिभावक, विद्यालयका प्रतिनिधि, स्थानीय समुदाय तथा सरोकारवालासँग गरिएको छलफलबाट संस्थाका कार्यक्रमले सकारात्मक प्रभाव पारेको कोइरालाले बताइन्।
उनले बालबालिकाका व्यक्तिगत विवरण व्यवस्थित गर्ने, पुनःस्थापनाका क्रममा स्थानीय तहसँग समन्वय गर्ने र आपत्कालीन व्यवस्थापन कोषको व्यवस्था गर्नेलगायतका सुझाव दिइन्।
संस्थाले पोखरा महानगरपालिका–१५ का उपल्लो अमिनतरा, नवजनशक्ति र अलकापुर क्षेत्रमा बाल अधिकारसम्बन्धी सचेतना, लागुऔषध नियन्त्रण, स्थानीय समुदायको क्षमता अभिवृद्धि तथा बालबालिकाको अर्थपूर्ण सहभागिता प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
कार्यक्रममा संस्थाका मानव संसाधन प्रमुख सूर्य भण्डारीले आर्थिक वर्ष २०८२/८३ को प्रगति विवरण प्रस्तुत गर्दै बाल संरक्षण, उत्तरदायी विद्यालय, समुदायमा रहेका सवालको सम्बोधन, बाल संरक्षण पैरवी तथा आशा स्वास्थ्य सेवासहित पाँचवटा कार्यक्रममार्फत काम गरिएको जानकारी दिए।

उनका अनुसार पोखरा महानगरपालिका–१५ मा सञ्चालित बाल संरक्षण कार्यक्रमअन्तर्गत ३१४ बालबालिकासँग काम गरिएको छ। बालबालिकाको जन्मदर्ता र नागरिकताजस्ता कानुनी पहिचानका लागि सहजीकरण गर्नुका साथै १६ जना बालबालिकालाई परिवार, आफन्त तथा अन्य संस्थाको समन्वयमा पुनःस्थापना गरिएको उनले बताए।
विद्यार्थीको सिकाइ, नेतृत्व विकास र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन जीवनोपयोगी सीप तथा खेलकुदसम्बन्धी गतिविधि सञ्चालन गरिएको उनले बताए। उनले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी विद्यार्थीले दुई स्वर्ण, एक रजत र तीन कांस्य पदक जितेको जानकारी पनि दिए ।
प्रस्तुत आर्थिक विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा संस्थाको कुल आम्दानी दुई करोड ४२ लाख ४० हजार ७८६ रुपैयाँ र कुल खर्च दुई करोड ३० लाख ८२ हजार ४६२ रुपैयाँ रहेको छ। आर्थिक वर्षको अन्त्यमा ११ लाख ५८ हजार ३२४ रुपैयाँ बचत रहेको जानकारी दिइयो।
कार्यक्रममा बालगृहमा आश्रित बालबालिका, अभिभावक तथा विद्यालयका प्रतिनिधिहरूले संस्थाबाट प्राप्त सहयोगले शिक्षा, स्वास्थ्य उपचार, मनोविमर्श, पारिवारिक समन्वय र पुनःस्थापनामा सकारात्मक परिवर्तन ल्याएको अनुभव सुनाए।
संस्थाको सहयोगले कठिन परिस्थितिबाट अघि बढ्न, परिवारमा घुलमिल हुन र भविष्यप्रति आशावादी बन्न मद्दत पुगेको उनीहरूको भनाइ थियो।
त्यस्तै, अपाङ्गता भएका बालबालिकाका अभिभावकहरूले अटिजम तथा मस्तिष्क पक्षघात भएका बालबालिकाका लागि दीर्घकालीन सहयोग र मनोविमर्श सेवालाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका–१५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले सडक बालबालिकाको उद्धार, संरक्षण र पुनःस्थापनामा संस्थाले पुर्याएको योगदानको प्रशंसा गरे। जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकालाई शिक्षा, स्वास्थ्य र सुरक्षित आवासको अवसर प्रदान गर्नु उनीहरूको भविष्य निर्माणका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले बाल अधिकार सुनिश्चित गर्न स्थानीय तह र सामाजिक संघसंस्थाबीच सहकार्य आवश्यक रहेको बताए।

पोखरा महानगरपालिकाका बालकल्याण अधिकारी बेलकुमारी गुरुङले सडकमा रहेका बालबालिकाको उद्धार, अल्पकालीन संरक्षण र पुनःस्थापना चुनौतीपूर्ण भए पनि बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउने महत्वपूर्ण अवसर भएको बताइन्। बाल न्यायसम्बन्धी प्रक्रियामा समेत संस्थाले समन्वय गरेको उल्लेख गर्दै उनले स्थानीय तह, प्रहरी, अदालत र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताइन्।
पोखरा महानगरपालिकाको शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुवेदीले महानगरले शिक्षा तथा बालबालिकाको विकासका क्षेत्रमा गर्दै आएका कामबारे जानकारी दिए। उनले महानगरले अटिजम भएका बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्न स्रोत विद्यालय सञ्चालन गरिएको विषय पनि उल्लेख गरे।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष गोविन्दराज पहारी, पोखरा महानगरपालिका–६ का निवर्तमान वडाध्यक्ष जगत पहारी, गैरसरकारी संस्था महासंघ कास्कीका सचिव शिव शर्मा तथा विद्यालय, टोल र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले बालबालिकाको संरक्षण, शिक्षा र समग्र विकासमा संस्थाले पुर्याएको योगदानको चर्चा गरेका थिए।
संस्थाकी उपाध्यक्ष पार्वता पाण्डेले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव डिलबहादुर भट्टराईले गरेका थिए।
बालहितकारी परियोजना नेपाल मुनाफारहित गैरसरकारी संस्था हो। संस्थाले शिक्षा, स्वास्थ्य, बाल संरक्षण, पुनःस्थापना तथा अवसरबाट वञ्चित समुदायको सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएको छ। आगामी आर्थिक वर्षमा बाल संरक्षण कार्यक्रमलाई निरन्तरता दिनुका साथै अपाङ्गता भएका बालबालिकाका क्षेत्रमा कार्यक्रम विस्तार गर्ने र प्रविधिमैत्री सेवा विकास गर्ने संस्थाको योजना छ।









