असल छिमेकी सहकारीकाे १७औँ वार्षिक साधारण सभा

सिटी पोखरा डेक्स
  • ख-
  • ख
  • ख+

पोखरा।
पोखरा महानगरपालिका–१७, बिरौटामा रहेको असल छिमेकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन २०८३ असोज २६ गते पोखरामा सम्पन्न भएको छ।

सहकारीको वित्तीय व्यवस्थापन, ब्याजदर नीति, लगानी विस्तार, ऋण असुली तथा कानुनी व्यवस्थाका विषयमा समय–समयमा समीक्षा र अनुगमन गर्नुपर्नेमा कार्यक्रममा जोड दिइएको छ। सहकारीलाई दिगो, प्रतिस्पर्धी र सफल बनाउन सञ्चालक समितिको काम, कर्तव्य र अधिकारप्रति स्पष्ट हुँदै सदस्यहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने विषयसमेत उठाइएको छ।

साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि तथा सहकारीका सल्लाहकार टोपराज ढुङ्गानाले सहकारीका सञ्चालकहरूले संस्थाको उद्देश्य र सिद्धान्तअनुरूप काम गर्नुपर्ने बताए। उनले यस संस्थाले नाफाभन्दा सेवामूलक कार्यलाई प्राथमिकता दिएको र विषम परिस्थितिमा समेत आफूलाई सुरक्षित राखेर सदस्यहरूलाई सेवा प्रदान गरिरहेको भन्दै प्रशंसा गरे।

सञ्चालक तथा शेयर सदस्यहरू संस्थाप्रति उत्तरदायी हुन नसक्दा सहकारीले क्षति व्यहोर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने उनले बताए। सामान्य विषयमा समेत ध्यान नदिँदा संस्थामा समस्या उत्पन्न हुन सक्ने भएकाले सबै पक्ष जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका निवर्तमान अध्यक्ष एवं वरिष्ठ अधिकारकर्मी रामप्रसाद सुवेदीले सहकारीको स्थापना महिला तथा विपन्न वर्गलाई आर्थिक पहुँच उपलब्ध गराउँदै उद्यमशीलताको विकास गर्ने उद्देश्यले गरिएको बताए।

उनले बैंक तथा वित्तीय संस्थाहरूमा ब्याजदर परिवर्तन तथा समयसापेक्ष नीति अवलम्बन गर्दा बजारको अवस्था र नेपाल राष्ट्र बैंकजस्ता नियमनकारी निकायका नीतिलाई ध्यानमा राख्नुपर्नेमा जोड दिए।
समयको मागअनुसार अघि बढ्न नसक्दा र बजारको गतिशीलताअनुसार निर्णय लिन चुक्दा व्यवसाय तथा समग्र विकासको गतिमा असर पर्न सक्ने सुवेदीले बताए।

समयअनुकूल लचिलो बन्नु र उचित समयमा सही निर्णय लिनु नै प्रगतिको मुख्य आधार भएको उनले उल्लेख गरे।
साधारण सभामा सचिव तारादेवी सुवेदी (चुवाई)ले गत आर्थिक वर्षको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरिन्। कोषाध्यक्ष कमलबहादुर पुनले आर्थिक वर्ष २०८२/८३ को आर्थिक प्रतिवेदन र लेखा संयोजक विजयप्रसाद आचार्यले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरे।

सभामा आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तावित कार्यक्रम तथा अनुमानित आय–व्यय विवरण, लेखापरीक्षक नियुक्ति, सुझाव तथा पृष्ठपोषणलगायत विविध विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा थप १५ जना शेयर सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो।

साधारण सभामा सहकारीमा असल कारोबार गर्ने कमरा घर्तीमगर, उत्कृष्ट कार्य गर्ने पूर्वव्यवस्थापक प्रतिभा लामिछाने तथा सहायक व्यवस्थापक जौमाया गुरुङ र सहकारीकी ज्येष्ठ सदस्य सुकुली पौडेललाई सम्मान गरिएको थियो।

यसैगरी, सहकारीका संस्थापक अध्यक्ष स्वर्गीय खिममाया थापाको स्मृतिमा परिवारजन तथा शेयर सदस्यहरूद्वारा स्थापित दुई लाख रुपैयाँको अक्षयकोषबाट प्राप्त ब्याज रकममध्ये १० हजार रुपैयाँ विपन्न परिवारकी सदस्य मसिना सुनारलाई स्वास्थ्य उपचारका लागि सहयोगस्वरूप हस्तान्तरण गरिएको थियो। पोखरा महानगरपालिका–१७, रातोपैह्रा निवासी सुनारलाई सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग प्रदान गरिएको हो।
संस्थाका अध्यक्ष रमानाथ आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा

उपाध्यक्ष केशकुमारी भुजेलले स्वागत मन्तव्य व्यक्त गरिन् भने सचिव तारादेवी सुवेदीले कार्यक्रम सञ्चालन गरिन्।

लेखा संयोजक विजयप्रसाद आचार्यद्वारा प्रस्तुत प्रतिवेदन, रणनीतिक योजना तथा प्रस्तावित कार्यक्रम सुझावसहित सर्वसम्मत रूपमा पारित गरिएको कोषाध्यक्ष कमलबहादुर पुनले जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्