पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा स्कुल बस दुर्घटना हुँदा उपचारका क्रममा चार विद्यार्थी र एक वृद्धसहित पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा १४ जना घाइते भएका छन्।
कालिका इङ्ग्लिस बोर्डिङ स्कुलको ग.२ ख. १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो। बसमा सवार १९ जनाकै उद्धार गरी अस्पताल पठाइएकोमा उपचारका क्रममा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा करिब १२/१३ वर्षीया ममता तिवारी, १३/१४ वर्षीय अशिम कँडेल, नामथर नखुलेका दुई बालिका र पोखरा महानगरपालिका–२८ निवासी ६५ वर्षीय बाबुराम तिवारी रहेका छन्। बाबुराम उपचारका लागि अस्पताल जान बसमा लिफ्ट मागेर चढेको प्रहरीको विवरणमा उल्लेख छ।
दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको गण्डकी मेडिकल कलेज (जीएमसी) र ११ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
गण्डकी मेडिकल कलेजमा तीन विद्यार्थीको उपचार
गण्डकी मेडिकल कलेजमा उपचाररत तीनै जना विद्यार्थी कक्षा १० मा अध्ययनरत छन्। उनीहरूमा पोखरा महानगरपालिका–२८ सौर्य निवासी १६ वर्षीया सृष्टि तिवारी, १६ वर्षीय शिसन थापा मगर र डाँडागाउँ निवासी १६ वर्षीय सौगात तिमिल्सिना रहेका छन्। तीनै जनाको अवस्था मध्यम रहेको छ।
क्षेत्रीय अस्पतालमा ११ जना उपचाररत
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत घाइतेहरूमा १५ वर्षीया अस्मी कँडेल, १४ वर्षीया स्नेहा गौतम, १३ वर्षीया सोनिया तिवारी, १३ वर्षीय अंकित पराजुली, १५ वर्षीया स्मृती खत्री, १६ वर्षीया स्नेहा तिवारी, १४ वर्षीया आकृती बुढाथोकी, १५ वर्षीया मेरिना तिवारी, १४ वर्षीया सुप्रिया आचार्य, १६ वर्षीय यमन मगर र बस चालक ५७ वर्षीय तुलबहादुर गुरुङ रहेका छन्।
उपचाररत घाइतेमध्ये अस्मी कँडेलको अवस्था गम्भीर रहेको छ। अन्य घाइतेको अवस्था मध्यम रहेको र उनीहरूमध्ये केहीको टाउकोमा चोट लागेको प्रहरीको विवरणमा उल्लेख छ।
दुर्घटनामा घाइतेको उद्धार गर्ने क्रममा इलाका प्रहरी कार्यालय शिशुवामा कार्यरत प्रहरी जवान अर्जुन शाहीसमेत सामान्य घाइते भएका छन्। उनको पनि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








