‘कोडदेखि कांग्रेससम्म’ अवधारणासहित ई. सुदर्शन शर्माको केन्द्रीय सदस्यमा उम्मेदवारी

सिटी पोखरा डेक्स
  • ख-
  • ख
  • ख+

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पेशागत विषयविज्ञतर्फबाट इन्जिनियर सुदर्शन शर्माले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन्।

स्याङ्जा क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित शर्मा पेशागत विषयविज्ञ समूहबाट केन्द्रीय सदस्यका उम्मेदवार बनेका हुन्। उनले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पदभन्दा पेशागत ज्ञान, प्रविधि र राजनीतिक संगठनबीचको सम्बन्ध बलियो बनाउने प्रयासका रूपमा प्रस्तुत गरेका छन्।

शर्माको उम्मेदवारीको मुख्य अवधारणा ‘कोडदेखि कांग्रेससम्म’ रहेको छ। सूचना तथा सञ्चार इन्जिनियरिङमा स्नातकोत्तर गरेका उनी प्रविधि, डिजिटल रूपान्तरण र सूचना प्रणालीको क्षेत्रमा कार्यरत छन्।
स्याङ्जाको ग्रामीण परिवेशबाट सरकारी विद्यालय हुँदै पुल्चोक क्याम्पससम्मको आफ्नो शैक्षिक यात्रालाई शर्माले राज्य र समाजबाट प्राप्त अवसरका रूपमा व्याख्या गरेका छन्। विद्यार्थी राजनीतिबाट सार्वजनिक जीवनमा सक्रिय भएका उनी नेपाल विद्यार्थी संघ पुल्चोक क्याम्पसको इकाई सभापतिसमेत भइसकेका छन्।

विद्यार्थीका शैक्षिक अधिकारलगायतका विषयमा आन्दोलनको नेतृत्व गर्दै आमरण अनशन बसेको अनुभवलाई उनले आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण आधारका रूपमा लिएका छन्।

२०७२ सालको भूकम्पपछि पुनर्निर्माण तथा राहतका क्रममा विभिन्न प्रभावित गाउँमा पुगेको अनुभवले प्रविधि र सूचना व्यवस्थापनको महत्व थप बुझाएको शर्माको भनाइ छ। राहत तथा पुनर्निर्माणका क्रममा आवश्यक सूचना सही समयमा सही ठाउँमा पुग्न नसक्दा देखिएका समस्याले राजनीतिक संगठनमा प्रविधिको प्रयोगबारे सोच्न प्रेरित गरेको उनले बताएका छन्।

कांग्रेसलाई डिजिटल प्रविधिसँग जोड्ने प्रस्ताव
शर्माले कांग्रेसलाई प्रविधिमैत्री बनाउन डिजिटल सदस्यता प्रणाली, पारदर्शी आन्तरिक निर्वाचन, डिजिटल जनगुनासो व्यवस्थापन, पार्टीका वैचारिक दस्तावेजको डिजिटल भण्डार, तथ्यजाँच संयन्त्र, आर्थिक पारदर्शिताका लागि डिजिटल प्रणाली र सदस्यको डेटा सुरक्षालगायतका प्रस्ताव अघि सारेका छन्।

डिजिटल सदस्यता प्रणालीमार्फत सदस्यताको अभिलेख एकीकृत गर्ने, दोहोरो तथा नक्कली सदस्यता पहिचान गर्ने र आन्तरिक निर्वाचनमा प्रविधिको प्रयोग गर्न सकिने उनको अवधारणा छ।
त्यस्तै, नागरिकका गुनासा नेपाली भाषामा आवाजमार्फत समेत संकलन गरी तथ्यमा आधारित नीति निर्माणमा प्रयोग गर्न सकिने उनले बताएका छन्।

पार्टीका नीति, घोषणापत्र, महाधिवेशनका निर्णय तथा बीपी कोइरालाका लेखहरूलाई डिजिटल माध्यमबाट व्यवस्थित गरी कार्यकर्तालाई सहज रूपमा उपलब्ध गराउने प्रस्ताव पनि शर्माले अघि सारेका छन्। सामाजिक सञ्जालमा फैलिने भ्रामक सूचनाको सामना तथ्यमा आधारित प्रणालीबाट गर्नुपर्ने उनको धारणा छ।

प्रविधिको प्रयोग गर्दा कृत्रिम बुद्धिमत्ताले निर्णय नगर्ने र एआईले तथ्य तथा सूचना उपलब्ध गराउने तर अन्तिम निर्णय मानव नेतृत्वले गर्ने उनले स्पष्ट पारेका छन्।

उनले डिजिटल प्रणालीलाई चरणबद्ध रूपमा अघि बढाउने योजना अघि सारेका छन्। पहिलो चरणमा प्राविधिक टोली र खाका तयार गर्ने, त्यसपछि एउटा प्रदेशमा परीक्षण गर्ने र परीक्षणबाट प्राप्त अनुभवका आधारमा सुधार गर्दै देशव्यापी विस्तार गर्ने उनको प्रस्ताव छ।

शर्माका अनुसार प्रविधिको प्रयोगले कांग्रेसको मूल वैचारिक आधार परिवर्तन गर्ने उद्देश्य राख्दैन। बरु लोकतन्त्र, राष्ट्रियता र बीपी कोइरालाले अघि सारेको प्रजातान्त्रिक समाजवादको वैचारिक आधारलाई नयाँ प्रविधिसँग जोड्ने उनको अवधारणा हो।

उनले यसलाई ‘मूल कोड मेटाउने होइन, बीपीको विचारलाई नयाँ संस्करणमा चलाउने’ अवधारणाका रूपमा व्याख्या गरेका छन्।
पेशागत विषयविज्ञ समूहबाट उम्मेदवारी दिनुको कारणबारे शर्माले राजनीतिक दलको नीति निर्माणमा इन्जिनियर, चिकित्सक, शिक्षक, कानुनविद्लगायत विभिन्न पेशागत क्षेत्रको ज्ञान र अनुभवलाई थप व्यवस्थित रूपमा जोड्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

आफू ज्ञान र राजनीतिबीचको पुल बन्न चाहेको बताउँदै शर्माले आफ्नो उम्मेदवारीलाई पदभन्दा जिम्मेवारी, राज्यबाट प्राप्त शिक्षाको ऋण तिर्ने अवसर र कांग्रेसलाई प्रविधिमैत्री बनाउने प्रयासका रूपमा प्रस्तुत गरेका छन्।

उनको उम्मेदवारीसँगै कांग्रेसको नीति निर्माणमा प्रविधि, डिजिटल रूपान्तरण र नयाँ पुस्ताको पेशागत सहभागिताको विषयसमेत बहसमा आएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्