कांग्रेस केन्द्रीय सदस्यमा सुदर्शन शर्मा : ‘व्यक्ति होइन, विचारको बहस गरौँ’

सिटी पोखरा डेक्स
  • ख-
  • ख
  • ख+

स्याङ्जा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा स्याङ्जाका ई. सुदर्शन शर्माले केन्द्रीय सदस्य (पेशागत विषय विज्ञ) पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनले आफ्नो उम्मेदवारीलाई व्यक्ति केन्द्रित नभई विचार, निष्ठा र जिम्मेवारीको बहसका रूपमा अघि सारेका छन्।

स्याङ्जा निर्वाचन क्षेत्र नं. १ बाट पेशागत विज्ञतर्फ महाधिवेशन प्रतिनिधिमा निर्वाचित शर्मा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) का महासचिवसमेत हुन्। लामो समयदेखि इन्जिनियरहरूको पेशागत हकहित, रोजगारी, न्यूनतम पारिश्रमिक तथा पेशागत मर्यादाका विषयमा सक्रिय रहँदै आएका उनले पेशागत क्षेत्रका मुद्दालाई पार्टीको केन्द्रीय तहमा प्रभावकारी रूपमा उठाउने उद्देश्यसहित उम्मेदवारी दिने बताएका छन् ।

आँधीखोला–६ निवासी शर्मा राजनीतिक तथा सामाजिक क्षेत्रमा समेत सक्रिय छन्। बाढी, पहिरोलगायत विपद्का समयमा प्रभावित क्षेत्रमा पुगेर सेवा तथा राहतमा सहयोग गर्दै आएको उल्लेख गर्दै उनले व्यक्तिगत उपलब्धिभन्दा सामूहिक हितलाई प्राथमिकता दिँदै आएका छन्।

आफ्नो उम्मेदवारीको मुख्य आधारबारे शर्माले आगामी चार वर्ष कांग्रेसको केन्द्रीय समितिमा रहेर राष्ट्रसेवामा योगदान गर्ने चाहना रहेको बताएका छन्। उनले महाधिवेशन प्रतिनिधिहरूलाई व्यक्तिभन्दा विचार, निष्ठा र जिम्मेवारीलाई आधार बनाएर नेतृत्व चयन गर्न आग्रह गरेका छन्।

“आगामी चार वर्ष म नेपाली कांग्रेसको केन्द्रीय समितिमा बसेर राष्ट्रको सेवा गर्न चाहन्छु। तपाईंको प्रतिनिधि निष्ठावान व्यक्ति र विचारको यात्री बनोस् भन्ने तपाईंको अन्तरआत्माको आवाज हो भने, एउटा विकल्प म हुँ,” शर्माले भनेका छन्।

योग्य व्यक्तिलाई छनोट गर्ने क्षमता महाधिवेशन प्रतिनिधिमा रहेको विश्वास व्यक्त गर्दै उनले भनेका छन्, “तपाईंहरू योग्य मानिसलाई छान्न सक्षम हुनुहुन्छ, यही विश्वासले म यहाँ उभिएको हुँ। साथ र समर्थन दिनुहोला।”

केन्द्रीय सदस्यका रूपमा निर्वाचित भए पेशागत विज्ञका सरोकारसँगै पार्टी संगठन सुदृढीकरण र राष्ट्रसेवामा योगदान गर्ने प्रतिबद्धता शर्माले व्यक्त गरेका छन्। उनले कांग्रेसका नेता, कार्यकर्ता, महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकसँग साथ र समर्थनको अपेक्षा गरेका छन्।

यसैबीच, नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबार काठमाडौंमा उद्घाटन भएको छ। सोमबार र मंगलबार बन्दसत्रलगायतका कार्यक्रम सञ्चालन हुँदैछन्। महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यसहित पदाधिकारीका लागि निर्वाचन प्रक्रिया अघि बढ्नेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्