पुम्दीकोटदेखि बुद्ध पार्कसम्म ८ किलोमिटर पर्वतीय दौड, ६ विधामा प्रतिस्पर्धा

सिटी पोखरा डेक्स
  • ख-
  • ख
  • ख+

पोखरा । खेल पर्यटनमार्फत पोखराका ग्रामीण पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यले तेस्रो पर्वतीय दौड प्रतियोगिता २०८३ आयोजना हुने भएको छ।

शनिबार पोखरामा पत्रकार सम्मेलन गर्दै आयोजकले विश्व पर्यटन दिवसको अवसर पारेर आगामी असोज २४ गते प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो। ‘पुम्दीभुम्दी पर्वतीय दौड’ भन्ने मूल नाराका साथ आयोजना हुने दौड विश्वशान्ति स्तूपबाट सुरु भएर पुम्दीकोटस्थित विशाल महादेवको मूर्ति परिक्रमा गर्दै पोखरा–२२ वडा कार्यालय हुँदै न्यालडाँडास्थित कालाबाङ घरेडी बुद्ध पार्कमा पुगेर समापन हुनेछ।

८ किलोमिटर दूरीको प्रतियोगितामा खुला, वडास्तरीय, महिला, यू–१६, विदेशी र भेट्रान्स गरी ६ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

खुलातर्फ प्रथम हुने धावकले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। दोस्रो, तेस्रो, चौथो र पाँचौँ हुनेले क्रमशः ३० हजार, १५ हजार, ७ हजार र ३ हजार रुपैयाँ पाउनेछन्। छैटौँदेखि दशौँ स्थानसम्मका धावकलाई जनही १ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

वडास्तरीय खुला, महिला र यू–१६ तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार, ७ हजार र ३ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र पाउनेछन्। विदेशी धावकतर्फ विजेताले १५ हजार र उपविजेताले ७ हजार रुपैयाँ पाउनेछन् भने भेट्रानतर्फ विजेतालाई १५ हजार रुपैयाँसहित सम्मान गरिनेछ।

प्रतियोगिताका संयोजक दीननाथ बरालले खेल पर्यटनसँगै पोखरा आसपासका ग्रामीण क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। पर्वतीय दौडमार्फत ग्रामीण पर्यटकीय गन्तव्यलाई पर्यटकसँग जोड्दै स्थानीय अर्थतन्त्र र कृषि क्षेत्रलाई समेत चलायमान बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।

पोखरा–२२ का अध्यक्ष हिमलाल बरालले वडाका पर्यटकीय क्षेत्रको विकासका लागि पदमार्ग, पूर्वाधार तथा शौचालय निर्माणलगायतका काम अघि बढिरहेको बताए। पोखरा आउने पर्यटकलाई लेकसाइडमा सीमित नराखी ग्रामीण पर्यटकीय क्षेत्रमा समेत केही दिन बस्ने वातावरण बनाउने अभियानमा प्रतियोगिताले सहयोग गर्ने उनको भनाइ थियो।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले यस्ता कार्यक्रमले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा पर्यटकीय क्षेत्रको प्रचार हुने बताए। विदेशी धावक सहभागी हुँदा उनीहरूलाई स्थानीय क्षेत्रमा आवास, खानपान र यातायातलगायतका सेवा आवश्यक पर्ने भएकाले त्यसबाट पर्यटन व्यवसायमा समेत प्रभाव पर्ने उनको भनाइ छ। उनले पोखराको लेकसाइड केन्द्रित पर्यटनलाई पश्चिमतर्फका पुम्दीकोट, विश्वशान्ति स्तूप र बुद्ध पार्कजस्ता गन्तव्यसँग जोड्न पर्वतीय दौड उपयोगी हुने बताए।

बुद्ध पार्कका अध्यक्ष राजु गुरुङले पर्वतीय दौडले पर्यटनसँगै स्वास्थ्य प्रवर्द्धनमा पनि योगदान पुर्‍याउने बताए। आगामी संस्करणमा विगतका कमजोरी सुधार गर्दै प्रतियोगितालाई थप व्यवस्थित बनाउने प्रतिबद्धता उनले जनाए।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले पर्वतीय दौडले ग्रामीण पर्यटन र स्थानीय अर्थतन्त्रलाई जोड्ने बताए। पत्रकार महासंघले पनि प्रतियोगितालाई सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता उनले जनाए।

प्रतियोगितामा सहभागी हुन पोखरा क्लिक अनलाइनमार्फत अनलाइन फाराम भर्नुपर्नेछ। असोज २१ गते राति १२ बजेसम्म नाम दर्ता गर्न सकिने आयोजकले जनाएको छ।

प्रतियोगिताको प्रथम पुरस्कार अन्तर्राष्ट्रिय म्याराथन धावक अवकाशप्राप्त लेफ्टिनेन्ट कुसाङकुमार गुरुङले प्रायोजन गरेका छन्। नेलम्बो नेपालले तेस्रो पुरस्कार प्रायोजन गरेको छ।

नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवर्द्धन, प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय तथा पोखरा–२२ को सहकार्यमा प्रतियोगिता आयोजना हुन लागेको हो। प्रतियोगिता सम्पन्न गर्न करिब १८ लाख ९७ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्